धान थन्काउने चटारोमा खोकनावासी

यो बेला प्रायः खोकनावासी दिनमा घरमा भेटिँदैनन् । उनीहरु बिहानको खाना चाँडै खाएर खेतमा पुग्छन् । साँझसम्म धान काट्ने, ओसार्ने, झाँट्ने, कुनिउँ उठाउने र घर लैजाने काममा व्यस्त हुन्छन् ।
विद्या राई

काठमाडौँ — सानो खोकना फाँटमा शुक्रबार तुलसीमाया डंगोल धान थन्काउने तयारीमा थिइन् । सबेरै उठेर १२/१३ जना खेतालालाई पुग्ने गरी आलु, अचार, मासु, चिउरा, गेडागुडीको खाजा बनाइन् । तिर्खा मेटाउनलाई छ्याङ (जाँड) र फलफूलको जुस पनि जोहो गरिन् ।

धान थन्काउने चटारोमा खोकनावासी

खानपिन र घरधन्दा भ्याएर खाजालाई डोकोमा राखिन् र लागिन् खेततिर । श्रीमान् र छोरीले पानीको जार र त्रिपाल बोके । बिहान ९ बजेतिरै खेतमा पुग्दा पर्म लगाउन खेताला जम्मा भइसकेका थिए । त्यसपछि उनीहरू पाकेर पहेंलपुर भएको धान काट्दै थुपार्न व्यस्त भए । केहीले धान झाँट्न त्रिपाल ओछ्याएर खलो बनाए त केहीले खलोसम्म काटेर थुपारिएको धान ओसार्न थाले । मुठा बाँध्ने, धान झाँट्ने र आडैमा परालको कुनिउँ लगाउने काम पनि सँगसँगै भइरहेको थियो । यहाँ मात्र होइन, खोकना फाँटमा धान भित्र्याउने चटारो नै थियो ।

ललितपुरको भैंसेपाटी चोकदेखि २ किलोमिटर जति भित्र पर्ने यो फाँटमा मेलापात गर्ने खोकनावासीलाई कोरोना महामारीको परवाह छैन । कसैको मास्क चिउँडोमा, कसैले मुख गम्छाले बेरेका, कसैको मुख खुलै । निधारमा ठोक्किने टन्टलापुर घाम छेक्न भने सबैजसोले टोपी लगाएका, कपडाले टाउको बेरेका । कोरोना कहरमा उनीहरूको कृषिकर्म यसरी नै चलिरहेको छ । तुलसीमायाकी छोरी कुसुमले ठट्टा गर्दै भनिन्, ‘यहाँका मान्छेलाई कोरोना के भन्ने नै थाहा छैन, खालि काम हो काम, मुख बेरेको, मास्क लगाएको भनेको धूलोबाट बच्नलाई पो हो त ।’ उनले यति भनिसक्दा खलोमा धान झाँटिरहेका पुरुषहरू गलल्ल हाँसे । झाँट्दै गरेको धानको मुठो खलोमै छाडेर राधेश्याम महर्जनले भने, ‘केको कोरोना !, वर्षभरि खानलाई पाकेको धान थन्काउनुपरेन, काम नगरी खान पाइन्छ ?’

बर्खामा लगाएको बाली भित्र्याउने समय नै यही हो । वर्षैंपिच्छे दसैंको अघि र पछि खोकनावासी धान भित्र्याउनमै व्यस्त हुन्छन् । यहाँ नेवार समुदायको बाहुल्य छ । उनीहरू दसैं मनाउँदैनन्, सिकाली जात्रा मनाउँछन् । ६५ वर्षीया सुजुमाया डंगोलका अनुसार घटस्थापनाको तेस्रो दिनदेखि सुरु भएर पाँच दिनसम्म यो जात्रा मनाइन्छ । आफन्त, साथीभाइ, इष्टमित्र भेला भएर भव्य भोज गर्छन् । पाटन, लुभु, बुङमती, सुनाकोठी तथा देशविदेशका नेवारहरू भेला हुन्छन् । यसपालि कोरोना महामारीले गर्दा परपाहुना आउन पाएनन् ।

घरपरिवारकै सदस्य जम्मा भएर मनाएको सिकाली जात्रा विगतको भन्दा अलि खल्लो लागेको सुजुमायाले सुनाइन् । जात्रा सकिएपछि खोकनामा लगातार धान थन्काउने व्यस्तता बढेको छ । यो बेला अधिकांश खोकनावासी दिनमा घरमा भेटिँदैनन् । उनीहरू बिहानको खाना चाँडै खाएर खेतमा पुग्छन् । साँझसम्म धान काट्ने, ओसार्ने, झाँट्ने, कुनिउँ उठाउने र घर लैजाने काममा व्यस्त हुन्छन् । परालको कुनिउँ १०/१२ दिनपछि दाइँ गर्छन् । पराल च्याउ बनाउन, गाईबस्तुलाई खुवाउन प्रयोग गर्छन् । धान भने वर्षभरि खानलाई पुर्‍याउँछन् । काठमाडौं नजिकै भएकाले धान रोपेदेखि भित्र्याएसम्मको दृश्यपान र घुमफिर गर्न आन्तरिक र बाह्य पर्यटक पुग्छन् ।

यहाँको मेलापात सदियौंदेखि अर्मपर्ममा चलेको छ । छरछिमेकमा आलोपालो गरेर धान थन्काउँछन् । काम सघाउन आएकालाई बिहान र बेलुकी खाना खुवाउनु पर्दैन । दिउँसो भने अघाउन्जेल खाजा खुवाउनुपर्छ । मध्याह्नमा छ्याङ, जुस, पानी, अचार हल्का खाजाका रूपमा खुवाइन्छ । दिउँसो ३ बजेतिर मासु, चिउरा, गेडागुडीलगायत परिकार खुवाइन्छ ।

खोकनाको धान खेती आकाशेपानीमा निर्भर छ । यस वर्ष समयमै पानी परेकाले बेलैमा बाली थन्काउन पाएकामा कृषक हर्षित छन् । ‘उत्पादन खासै बढेको छैन, तर पोहोरभन्दा यसपालि धानको दानाको गुणस्तर भने राम्रो छ,’ कृषक मणिराज डंगोलले भने । खोकनावासीले पछिल्लो समय कृषिलाई आधुनिकीकरण गर्दै लगिरहेका छन् । पहिले हलो, कोदालोले खेत खनजोत हुन्थ्यो । अहिले ट्र्याक्टरको प्रयोग हुन्छ । धान थन्काउन मेसिन प्रयोग हुन थालेको छ । खोकना (सानो र ठूलो खोकना) ललितपुरकै उर्वरभूमि मानिन्छ । वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार खोकनाको ५ हजार रोपनी जमिनमा धान खेती हुन्छ । प्रतिरोपनी ७ देखि १० मुरीसम्म धान फल्छ । वार्षिक ५० हजार मुरी धान फल्ने उनले बताए । ‘खोकना पहिलेदेखि नै आफ्नै उत्पादनमा निर्भर छ । नयाँ बस्तीहरूमा भने किनेर खाने चलन भित्रिएको छ, तर यहाँका रैथानेहरूले उपभोग गरेर उभ्रिएको अन्न बिक्री गरेर आयआर्जन पनि गर्छन्,’ वडाध्यक्ष महर्जन बताए । खोकनाका अधिकांश फाँटहरूमा बाह्रैमासजसो खेती गरिन्छ । कृषकले धानको सिजन सकिएपछि तोरी, गहुँ, तरकारी लगाउने गर्छन् ।

प्रकाशित : कार्तिक १६, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?