कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महामारीबीच साहसिक पर्यटन सुरु

अगन्धर तिवारी

पर्वत — कोभिड–१९ को महामारी बढिरहे पनि स्वास्थ्य सावधानी अपनाउँदै यहाँ साहसिक पर्यटकीय गतिविधि सुरु भएको छ । करिब २० करोड रुपैयाँ लगानीमा निर्मित बन्जी, स्विङ, स्काई साइक्लिङ र पिङको व्यावसायिक सुरुवात शनिबार भएको छ ।

महामारीबीच साहसिक पर्यटन सुरु

स्विङ, स्काई साइक्लिङ र पिङ यसअघि पनि आंशिक रूपमा सञ्चालनमा आएको सञ्चालकमध्येका एक नेत्र पराजुलीले जानकारी दिए । तर बन्जीजम्प भने शनिबार थालिएको हो । ‘सञ्चालन खर्च धान्न मुस्किल परेपछि प्रशासनको अनुमति लिएर बन्जी चलाइएको छ,’ उनले भने । यसअघि बुकिङ गरेका ३३ जनाले बन्जीजम्प र २१ जनाले शनिबार स्विङको मज्जा लिएको उनले बताए ।

स्थानीय युवाको लगानीमा ४ वर्षअघि निर्माण सुरु भएको बन्जी गत फागुनमै निर्माण सम्पन्न भएको थियो । नयाँ वर्षको अवसर पारेर व्यावसायिक शुभारम्भ गर्ने तयारी गरेकामा कोरोना महामारीका कारण भएको लकडाउनले अहिलेसम्म बन्द थियो । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यवसाय सुरु गर्न नपाउँदा बैंकको ब्याज तिर्न र दुई दर्जनभन्दा बढी कर्मचारीलाई तलबभत्ता खुवाउन नसकिएको लगानीकर्ताको गुनासो थियो । निर्माण सम्पन्न भएको करिब सात महिनासम्म बन्द हुँदा ५० लाख रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नुपरेको अर्का लगानीकर्ता राजन श्रेष्ठ बताउँछन् ।

निर्माण सम्पन्न भएलगत्तै गत चैत पहिलो साता नेपाल प्रहरीको कमान्डो तालिममा सहभागी करिब डेढ सय प्रहरीले बन्जीजम्प गरेका थिए । त्यसलगत्तै बन्द भएको थियो । लकडाउन खुकुलो भएको र यात्रुहरू आवतजावत गर्न थालेका कारण भौतिक दूरी र स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गरेर सेवा पुनः सुरु गरिएको सञ्चालकले बताएका छन् । बन्जी गर्ने र पुलमा यात्रा गर्नेले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश गर्दा र झर्दा सेनिटाइजर प्रयोग गर्ने व्यवस्थासमेत मिलाइएको छ ।


स्थानीय प्रशासनले शनिबारदेखि नै लागू हुने गरी एक साताका लागि कुश्मा बजार सिल गरेको छ । बजार क्षेत्रमा कोरोना संक्रमण बढेपछि कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ वडामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । बजार सिल भएको अवस्थामा समेत बाहिरी जिल्लाबाट आउने यात्रुका लागि मात्रै बन्जी खुला गर्न दिइएको रेग्मीले बताए । ‘उहाँहरूले यसअघि नै बुकिङ गर्नुभएको रहेछ,’ रेग्मीले भने, ‘स्वास्थ्य सावधानी अपनाएर बाहिरबाट आउनेलाई सिधै बन्जीमा लैजान भनिएको छ ।’ यसअघि बुकिङ गरेकालाई कम्पनीको गाडीमा राजमार्गबाट सिधै बन्जीमा लगिएको बन्जी सञ्चालक राजु कार्कीको भनाइ छ । ‘हामीले स्वास्थ्यका मापदण्ड शतप्रतिशत पूरा गरेका छौं,’ उनले भने ।

सिन्धुपाल्चोकका राजु कार्कीसहित पर्वतका केही व्यवसायीको करिब २० करोड रुपैयाँ लगानीमा कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको खोंचमा ५ सय ३५ मिटर लम्बाइ र २ सय ४५ मिटर उचाइमा पुल निर्माण गरिएको हो । बन्जी र स्विङको ७/७ हजार, स्काई साइक्लिङको ३ हजार ५ सय र पिङको एक सय पचास रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?