१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

होमस्टेमा बढ्दै आन्तरिक पर्यटक

मधु शाही, कमल पन्थी

बाँके र बर्दिया — कोरोना संक्रमणले व्यवसायमा निराशा छाएका बेला यहाँका होमस्टे व्यवसायीलाई भने आन्तरिक पर्यटकले खुसी दिन थालेका छन् । कोरोनाका कारण लकडाउन भएदेखि सुनसान होमस्टेमा दसैं पर्व सुरु भएलगत्तै आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । निराशा फालेर होमस्टे सञ्चालक पनि पर्यटक लोभ्याउन सिर्जनात्मक संरचना बनाउन कस्सिएका छन् ।

होमस्टेमा बढ्दै आन्तरिक पर्यटक

बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्याली होमस्टेमा नेपालगन्जका विकास अधिकारी महिनामा तीनपटक रिफ्रेस हुन जान्छन् । दसैं पर्वमा पनि उनी परिवारसहित घुम्न जाने गन्तव्य बनाए । संक्रमणदेखि सुरक्षित रहेर प्राकृतिक सौन्दर्यको आनन्द लिन होमस्टे उपयुक्त रहेको उनको अनुभव छ ।

साइक्लिङ गर्न, सन सेट हेर्न, प्राकृतिक दृश्य अवलोकन गर्न र कृषि क्षेत्र नियाल्न आन्तरिक पर्यटक होमस्टेमा आउने गरेको सञ्चालकहरूले बताए । यसले होमस्टेका सञ्चालकमा व्यवसाय जोगाउने झिनो आशा पलाएको गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बताए । दसैंलाई लक्ष्य गरेर होमस्टेमा संरचना थपे । बालबालिका खेल्ने, पर्यटक आएर फोटो खिच्ने, घुमफिर गर्नेलगायतका मौलिक संरचना बनाए । सहरमा भीड हुने जोखिमबाट बच्न र ग्रामीण भेगमा सुरक्षाको आभाससँगै प्राकृतिक दृश्यमा रमाउन होमस्टे उपयुक्त गन्तव्य बनेको चौधरीको भनाइ छ । ‘कोरोनाले होमस्टेको महत्त्व झनै बढाएको छ,’ उनले भने, ‘स्थानीय पर्यटकको घुमफिर गर्ने गन्तव्य होमस्टे बन्दै गएको छ ।’

गाभर होमस्टेका अर्का सञ्चालक कर्णराज रोकायको अनुभवमा आन्तरिक पर्यटक खुलेर खर्च गर्छन् । ‘विदेशी र भारतीय पर्यटक नेपालीको तुलनामा खर्च गर्न कन्जुस्याइँ गर्छन्,’ उनले भने, ‘आन्तरिक पर्यटनले नै होमस्टे धानेको छ ।’ यतिबेला उनको होमस्टेमा काठमाडौंदेखि रारा टुर लाने पर्यटकको घुइँचो छ । हप्तामा दुई/तीन टोली आउने गर्छन् । रारा जानेहरूका लागि गाभर भ्याली ट्रान्जिट प्वाइन्ट भएकाले पर्यटकको चहलपहल बढेको उनले बताए ।

काठमाडौदेखि आउने, एक रात यहाँ बसेर कालीकोट जाने पर्यटक बढेका छन् । कोरोनाले गर्दा विगतको तुलनामा पर्यटक आधा घटेका छन् । लकडाउनका बेला पूरै बन्द भएका होमस्टेले अहिले भने केही राहत पाउन थालेको उनले सुनाए । सहरमा बस्दा बस्दा आत्तिएका स्थानीय पर्यटक यता आउन थालेपछि होमस्टे बन्द गर्नुपर्ने स्थिति नरहेको उनी बताउँछन् । दसैं बिदामा होमस्टेमा ‘भ्याली भ्यु’ अवलोकन गर्न पर्यटक धेरै आएको होमस्टे सञ्चालक गंगादत्त जैसीको भनाइ छ । कोभिड–१९ को प्रभावले होमस्टेको सांस्कृतिक गतिविधिमा पनि परिवर्तन आएको छ ।

जैसीका अनुसार अरू बेला फुलमालाले स्वागत गरिने पर्यटकलाई अहिले मास्क र सेनिटाइजरबिना भित्र प्रवेश नै नदिने स्थिति आएको छ । ‘पर्यटक आउन थालेका छन् तर भरिभराउ गरेर राख्ने अवस्था छैन,’ उनले भने ।

नेपालगन्जकी अञ्जु थापालाई घुमफिर गर्न मन पर्छ । अहिले कोभिड–१९ ले गर्दा धेरै टाढा जान सम्भव भएन । घरमै खुम्चिइरहन पनि उनलाई झन् कठिन भयो । परिवारसहित नजिकैको होमस्टे पुगेर उनले दसैं बिदाको सदुपयोग गरिन् । होमस्टेमा भिडभाड कम हुने हुँदा घुम्न सुरक्षित महसुस हुने उनले बताइन् । ‘गाउँको दृश्य हेरेर आनन्द लिन यतै आउँछु,’ उनले भनिन्, ‘मान्छेको भिडदेखि सुरक्षित हुन पनि होमस्टे गतिलो गन्तव्य लाग्छ ।’

डल्लामा पनि पाहुना

बर्दियाको मधुवन नगरपालिका–१ डल्लागाउँमा दसैंको आगमनसँगै आन्तरिक पर्यटक भित्रिन थालेका छन् । कोरोनाको कहरका कारण गत चैत ११ गतेदेखि बन्द रहेको होमस्टे बर्दिया निकुञ्जले पर्यटकका लागि प्रवेश खुला गरेपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको मधुवन–१ का वडाध्यक्ष एवं होमस्टे डल्लाका अध्यक्ष परशु चौधरीले बताए ।

मध्यवर्ती क्षेत्रअन्तर्गत १०३ हेक्टरमा फैलिएको शिव सामुदायिक वन उपभोक्ता समूहले एक घर एक रोजगार हुनुपर्ने भन्दै आठ वर्षअघि यहाँ आयमूलक र सीपमूलक तालिम दिएपछि होमस्टे सुरु गरेका हुन् । यस गाउँमा १ सय ५ घरधुरी छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रअन्तर्गत दुर्गम गाउँ अवलोकन र अध्ययन गर्न आन्तरिक र विदेशी पर्यटक आउने गरेका छन् ।

अहिले दैनिक औसत दुईदेखि तीन समूह आउने गरेको होमस्टेका संस्थापक एवं उक्त सामुदायिक वनका अध्यक्ष मंगल थारूले जानकारी दिए । एउटा समूहमा १०/१२ जना हुन्छन्,’ उनले भने, ‘यहाँ आउने पर्यटकमा बाँके, सुर्खेत र दाङलगायतका जिल्लाका धेरै छन् ।’

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक १६, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?