२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

व्यापारीले सामान नछुटाउँदा भैरहवा भन्सारमा पार्किङ समस्या

भन्सारको साढे ३ नम्बर पार्किङस्थलमा लकडाउनदेखि नै पार्किङ गरिएका नयाँ गाडी एक हजारभन्दा धेरै छन्
आयातमै अवरोध
माधव ढुंगाना

भैरहवा — सुनौली–भैरहवा नाकाबाट नेपाल आउने मालवाहक गाडीको लाम भारततर्फ कम्तीमा १० किमिसम्म हुने गरेको छ । नेपाल प्रवेश गरेपछि भन्सार जाँचपासको प्रक्रिया पूरा होउन्जेल पार्किङ गर्ने स्थान नहुँदा नेपाल आउने मालवाहक गाडीको लाम भारततर्फ लाग्ने गरेको हो ।

व्यापारीले सामान नछुटाउँदा भैरहवा भन्सारमा पार्किङ समस्या

भैरहवा भन्सार परिसरमा पार्किङस्थलको सुविधा पर्याप्त नहुँदा यहाँबाट हुने आयात प्रक्रिया असहज र बढी खर्चिलो हुने गरेको छ । ढुवानीका लागि प्रयोग गरिएका मालवाहक गाडी बुक गरेको दिनदेखि नै आयातकर्ताले भाडा तिर्नुपर्छ । बीचमा रोकिँदा ती गाडीको डेमरेज, डिटेन्सनलगायत अतिरिक्त शुल्क तिर्नुपर्दा आयातित सामानको लागत बढ्ने गरेको व्यवसायीको भनाइ छ ।

भैरहवा नाकाबाट सामान आयात गर्दा लामका कारण ढुवानीमा धेरै दिन लाग्ने गरेकाले व्यवसायीले वैकल्पिक नाका प्रयोग गर्न थालेको गोयन्का औद्योगिक समूहका प्रबन्ध निर्देशक एवं सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष अरुण गोयन्काले बताए । ‘मैले दुई हप्तादेखि कपिलवस्तुको सुठौली भन्सार नाकाबाट चामल, गहुँ, कोइलालगायत सामान आयात गर्न थालेको छु,’ उनले भने, ‘भैरहवा नाकाबाट आयात गर्दा धेरै लागत पर्ने भएकाले अन्य औद्योगिक कच्चा पदार्थको आयातका लागि पनि यसको विकल्प खोज्दै छु ।’

बर्खाका बेला भैरहवा भन्सार परिसरमा व्यवस्थित पार्किङ स्थल नहुँदा नेपाल आउने मालवाहक गाडीको लाइन भारततर्फ २०/२२ किमि परसम्म लाग्छ । अन्य बेला एक दिनमा आइपुग्ने गाडी लाइनका कारण चारदेखि सात दिनसम्म लाग्ने गर्छ । भैरहवा भन्सारमा कार्यालय परिसरमा केही वर्षदेखि नयाँ पूर्वाधार बनाउनेतर्फ सरकारले कुनै योजना ल्याएको छैन । १५ वर्ष पुरानो संरचनाबाटै काम चलाइरहेको छ ।

भैरहवा भन्सार कार्यालय परिसरमा मालवाहक गाडीलाई बनाइएको पार्किङस्थल पुरानो हो । विकल्पमा भन्सार कार्यालय पछाडितर्फ प्रयोगमा ल्याउन थालिएको साढे ३ नम्बर पार्किङस्थलमा झन्डै सात सय ठूला गाडी पार्किङ गर्न सकिने क्षमता छ । तर यो पार्किङस्थलमा विभिन्न अटोमोबाइल्स कम्पनीले ल्याएका साना गाडी टनाटन रहेकाले मालवाहक गाडी राख्ने ठाउँ छैन ।

साना गाडीले महिनौंसम्म भन्सार जाँचपास नगरी भन्सारको पार्किङस्थल प्रयोग गरिरहेका छन् । भैरहवा भन्सारको साढे ३ नम्बर पार्किङ स्थलमा लकडाउनदेखि नै पार्किङ गरेर राखिएका नयाँ गाडीको संख्या हजारभन्दा धेरै छ । नेपालका प्रमुख अटोमोबाइल्स कम्पनीले आयात गरेर ल्याएका कतिपय यस्ता गाडी ६ महिनादेखि नै भन्सार पास गरिएका छैनन् । तर आयात गरिएको तीन महिनाभित्र भन्सार पास गरिसक्नुपर्छ ।

करिब चार बिघा क्षेत्रफल रहेको भन्सारको साढे ३ नम्बर पार्किङस्थल महिनौंदेखि भन्सार पास नगरिएका नयाँ गाडीले पूरै ढाकेको भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष असिम न्यौपानेले बताए । ‘त्यो ठाउँ खाली हुने हो भने अन्य मालवाहक गाडीलाई भन्सार जाँचपास होउन्जेल पार्किङ समस्या हुने थिएन,’ उनले भने । लकडाउनको सुरुवाती बेला यहाँ दुई हजार हाराहारीमा नयाँ गाडी थिए । दसैंका बेलामा केही गाडी जाँचपास भए पनि अझै एक हजार हाराहारीमा गाडी भन्सार पास भएका छैनन् ।

भन्सारमा पार्किङको समस्याले गर्दा भैरहवा नाकाबाट मालवाहक सामानको आयात गर्न अन्य नाकाको तुलनामा असहज र महँगो पर्न थालेको जनाउँदै केही दिनअघि सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय व्यवसायी भन्सार प्रशासनसमक्ष डेलिगेसन गएका थिए ।

भैरहवा नाकाबाट आयात गर्दा ढुवानीका लागि धेरै दिन लाग्ने र अतिरिक्त शुल्क तिर्नुपर्दा आयातित सामानको लागत बढ्ने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । ‘जसरी पनि राजस्व उठाउने तर पूर्वाधार तयार गर्नेतर्फ सरकारले ध्यान नदिँदा यो समस्या आएको हो,’ उनले भने । मन्त्रालयमा यसबारे कुरा गर्दा चाँडै नै एकीकृत जाँच चौकी (आईसीपी) बन्ने र त्यसपछि समस्या समाधान हुने आश्वासन आउने गरेको छ । तर आईसीपी कहिले बन्ने भन्नेबारे अन्योल रहेको उनको भनाइ छ ।

अत्यधिक जामका कारण गाडी आउन धेरै दिन लाग्ने र बढी खर्चिलो हुने गरेकाले भैरहवा नाका नजिकै आइसकेका गाडीलाई नौ किमि पर भारतको नौतनवाको वाइपासबाट फर्काएर कपिलवस्तुको सुठौली भन्सार नाकाबाट आयात गर्न थालिएको भन्सार एजेन्ट व्यवसायी कृष्णप्रसाद घिमिरेको भनाइ छ ।

सामान्यतया भन्सार परिसरको पार्किङ आयातित सामान भन्सार जाँचपास नहुँदासम्मका लागि मात्र प्रयोग गर्न पाइन्छ । भन्सार क्षेत्रको पार्किङको व्यवस्थापनका लागि भन्सार विभागले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई जिम्मा दिएको छ । समितिले विभिन्न भन्सार कार्यालयमा पार्किङबापतको शुल्क असुलीका लागि अलगअलग कम्पनीलाई ठेक्का लगाएको छ ।

लकडाउनका कारण बजारमा अटोमोबाइल्सको माग नहुँदा आयात गरेका कम्पनीले भन्सार नछुटाएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताए । उनका अनुसार आयात गरिएका ती गाडी नेपाल भित्रिइसकेपछि भन्सार राजस्व दाखिला नगरेसम्म भन्सारबाट अन्यत्र लैजान मिल्दैन । मूल्यको तीन गुणासम्म राजस्व लाग्ने भएपछि गाडी खरिद गर्ने ग्राहक तयार नभएसम्म आयात गर्ने कम्पनीले भन्सार जाँचपासका लागि लाग्ने राजस्व तिर्न बैंकबाट ऋणको प्रक्रियासमेत सुरु गरेका हुँदैनन् ।

‘नियतबश ६० दिनभन्दा धेरै समय गाडी राखे कारबाही गर्ने ठाउँ भए पनि भन्सार राजस्व असुलीको ठूलो हिस्सा तिनै गाडीबाट हुने गर्छ,’ भट्टराईले भने, ‘धेरै राजस्व दिने ती गाडीलाई कारबाही गर्न सान्दर्भिक पनि नहुने भएकाले व्यावहारिक रूपमा हेरिएको हो ।’ दसैं र तिहारका बेला धेरै गाडी छुटिसकेकाले अब केही दिनमै पार्किङको समस्या हट्ने उनको दाबी छ ।

लकडाउनका बेला बिक्री नभएको र गाडी छुटाउन बैंकलगायत अन्य सरकारी कार्यालयमा काम गर्ने सहज वातावरण नभएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले बताए । त्यसैले धेरै दिनसम्म भन्सारमा गाडी रोकिने गरेको उनको भनाइ छ । अहिले गाडीको माग बजारमा उच्च भएकाले अब केही दिनमैं ती गाडी भन्सारबाट हट्ने उनको दाबी छ ।

प्रकाशित : कार्तिक १५, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?