कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यस वर्षको तिहारमा स्वदेशी फूलले नै बजारको माग धान्छ : व्यवसायी

कान्तिपुर संवाददाता

काठमाडौँ — यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ ।

यस वर्षको तिहारमा स्वदेशी फूलले नै बजारको माग धान्छ : व्यवसायी

तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।

अधिकमासका कारण यस वर्षको तिहार झण्डै एक महिना पछाडि धकेलिएको छ । त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो ।

तर पुष्प व्यवसायीहरु भने क्यालेन्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०/२२ दिन पछाडि धकेलिए पनि फुलको बजारलाई कुनै असर नपर्ने बताए । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।

गत वर्षको तिहारमा करिब २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड–१९ संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको पनि अध्यक्ष कसजुले बताए । यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ । यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न सक्ने बताए । गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।

पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फुलिसकेको बताउनुभयो । केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसकेको पनि उनले बताए । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताए ।

तिहार पछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ । अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

प्रकाशित : कार्तिक १४, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?