कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दसैंमा ८० करोडका खसीबोका र च्यांग्रा खपत

खाद्यका खसीबोका सकिएपछि किलोमै साढे २ सय रूपैयाँ मूल्य बढ्यो ।
राजु चौधरी, राजु चौधरी

काठमाडौँ — यस वर्षको दसैंका बेला उपत्यकामा ७९ करोड ६४ लाख रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा खपत भए । दसैंमा कलंकी खसीबजारबाट मात्र ३५ हजार खसीबोका बिक्री भएको चौपया व्यवसायी संघ कलंकीले जानकारी दिएको छ ।

दसैंमा ८० करोडका खसीबोका र च्यांग्रा खपत

एउटै खसीबोका २८ देखि ३० किलोसम्मका थिए । खसीबोकाको मूल्य सुरुमा प्रतिकिलो ६ सय ५० रुपैयाँ रहे पनि अन्तिममा ८ सय रुपैयाँसम्ममा बिक्री भएको संघले जनाएको छ । प्रतिकिलो औसत ७ सय रुपैयाँले हिसाब गर्दा कलंकीबाट मात्रै ६८ करोड ६० लाख रुपैयाँबराबरको खसीबोका बिक्री भएको छ ।

कलंकीबाहेक अन्य ठाउँबाट पनि छिटफुट रूपमा खसीबोका बिक्री गरिन्छ । कलंकीबाटै २५ सयवटा च्यांग्रा बिक्री भएको संघका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिए । च्यांग्रा औसतमा ३५ किलोका थिए । प्रतिकिलो १ हजार रुपैयाँका दरले ८ करोड ७५ लाख रुपैयाँको च्यांग्रा बिक्री भएको उनले बताए । ‘यसपालि पनि गत वर्षसरह ५०/५५ हजार खसीबोका बिक्री गर्ने योजना बनाएका थियौं । तर कोभिड–१९ का कारण व्यवसायी डराए । दसैंमा ३५ हजार मात्रै बिक्री भए,’ थापाले भने, ‘कात्तिक ७ र ८ मा अभावजस्तै भयो । खसीबोका नहुँदा मूल्य किलोकै ८ सय रुपैयाँसम्म पुग्यो ।’

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने प्रतिकिलो साढे ५ रुपैयाँमै खसीबोका बेचेको थियो । तातोपानी नाका बन्द हुँदा चीनबाट च्यांग्रा आयात हुन सकेन । पर्याप्त आयात नहुँदा च्यांग्राको मूल्य किलोमै ३ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ । ‘गत बर्ष ७ हजार आयात भयो, मूल्य प्रतिकिलो ७ सय रुपैयाँ थियो,’ थापाले भने, ‘यसपालि मुस्ताङबाट २५ सयवटा मात्रै च्यांग्रा आए, पर्याप्त नहुँदा मूल्य किलोकै १ हजार रुपैयाँ पुग्यो ।’

व्यवसायीले दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट खसीबोका खरिद गरेका थिए । स्वदेशीसँगै भारतबाट पनि अवैध रूपमा भित्रिएर बिक्री भएको थापाले बताए । काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले पनि कोभिड–१९ का कारण सोचेजस्तो बिक्री हुन नसकेको जानकारी दिए । माग बढेपछि मूल्य पनि सामान्य बढेको उनको भनाइ छ । दसैंलक्षित सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय ९ वटा खसीबोका बिक्री गरेको छ ।

यसअनुसार ४१ हजार ७ सय २८ केजी मासु बिक्री भएको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले जानकारी दिए । प्रतिकिलो साढे ५ सयका दरले २ करोड २९ लाख रुपैयाँको खसीबोका बिक्री भएको उनले बताए । बजारभाउभन्दा सस्तोमा बिक्री गरेपछि सर्वसाधारणको भीड बढेको थियो । खाद्यले प्रतिकिलो खसीबोका साढे ५ सय रुपैयाँमा बिक्री गरिरहँदा बजारमा निजी व्यवसायीले किलोकै साढे ६ सय रुपैयाँसम्म लिएका थिए । खाद्यका खसीबोका सकिएपछि व्यवसायीले किलोकै ८ सय रुपैयाँसम्ममा बेचे । खाद्यले च्यांग्रा खरिद गर्न नसकेपछि व्यवसायीहरूले त्यसको मूल्य पनि मनोमानी रूपमा बढाए ।

कुखुरामा भएन उत्साह

खसीबोका तथा च्यांग्राको बिक्री बढिरहँदा ब्रोइलर कुखुराको मासु बिक्रीमा खासै उत्साह छाएन । दसैंमा मुख्य खसीबोका, च्यांग्रा, भेडा नै बिक्री हुने हुँदा कुखुराको व्यापार नबढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जगबहादुर बीसीले बताए । कोभिड–१९ का कारण होटल बन्द हुँदा व्यापार बढ्न नसकेको उनको भनाइ छ । संघका अनुसार उपत्यकामा दैनिक ३ देखि साढे ३ लाख किलो कुखुरा मासु खपत हुन्छ । नेपालभर करिब ५ लाख किलो खपत हुन्छ ।

माछा खपत बढ्यो

दसैंमा जिउँदो माछाको खपत भने बढ्यो । गत वर्षको दसैंमा दैनिक ५५ देखि ६० क्विन्टल खपत भएको माछा व्यवसायी संघको तथ्यांक छ । यस वर्ष खपत बढेर दैनिक ७५ देखि ८० क्विन्टलसम्म पुग्यो । ‘सामान्य दिनमा प्रतिक्विन्टल ५० क्विन्टल खपत हुन्छ । दसैंको अष्टमीदेखि ३ दिन दैनिक खपत बढेर ७५ देखि ८० क्विन्टलसम्म पुग्यो,’ संघका केन्द्रीय अध्यक्ष जगबहादुर साहले भने, ‘दसैंमा व्यापार राम्रो भयो ।’ जिउँदो माछामा रहु, नैनी, कमन, बिगहेटलगायतको माग बढ्दो छ ।

प्रकाशित : कार्तिक १४, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?