कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोलिदेखि क्लिन फिड

क्लिन फिड कार्यान्वयनका लागि सरकारले विज्ञापन बोर्ड गठन गरिसकेको छ
विजय तिमल्सिना

काठमाडौँ — विज्ञापन नियमन ऐन २०७६ मा भएको प्रावधानबमोजिम शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएका छन् । व्यवस्था कार्यान्वयन भएसँगै नेपालमा क्लिन फिड लागू हुनेछ ।

भोलिदेखि क्लिन फिड

‘कात्तिक ७ गते शुक्रबारसम्म मात्रै विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँछन्,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले भने, ‘कात्तिक ८ देखि विज्ञापन बजाउन नपाइने व्यवस्था लागू हुनेछ ।’

क्लिन फिड कार्यान्वयनका लागि सरकारले विज्ञापन बोर्ड गठन गरिसकेको सचिव बस्यालले जानकारी दिए । सोमबार राजपत्रमा प्रकाशित विज्ञापन नियमनसम्बन्धी नियमावलीमा खुला प्रतिस्पर्धाबाट बोर्ड अध्यक्ष छनोट नहुन्जेल सञ्चार मन्त्रालयका सहसचिवलाई अध्यक्षलाई जिम्मेवारी दिन सक्ने प्रावधान छ । सोही प्रावधानका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्ली शर्मालाई बोर्ड अध्यक्षको जिम्मेवारी दिइएको सचिव बस्यालले बताए । बोर्डमा उद्योग मन्त्रालयका सहसचिव र गृह मन्त्रालयका सहसचिव पनि सदस्य हुने प्रावधान छ ।

‘अध्यक्ष नियुक्ति नभएसम्म वा अध्यक्षले कुनै कारणले पदमा रही काम गर्न नसक्ने वा नपाउने अवस्था भए मन्त्रालयले ऐनको दफा १४ को उपदफा १ को खण्ड घ बमोजिमको सदस्यलाई अध्यक्षको कामकाज गर्ने गरी तोक्न सक्नेछन्,’ सोमबार राजपत्रमा प्रकाशित नियमावलीको नियम १८ मा भनिएको छ । नियमावलीको यो प्रावधानअनुसार सरकारले विज्ञापन बोर्डको अध्यक्षलाई खुला प्रतिस्पर्धामार्फत नचुनुन्जेल सञ्चार मन्त्रालयका कोही सहसचिव नै बोर्डका अध्यक्ष हुनेछन् ।

ऐनको दफा १४ अनुसार बोर्डमा खुला प्रतिस्पर्धाबाट छनोट गरिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ । विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थामध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुनेछन् । उपभोक्ता हकहित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिहरूमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्ने प्रावधान छ । बोर्डले तोकेको वरिष्ठ कर्मचारीले बोर्डको सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ । बोर्डलाई सरकारी विज्ञापन व्यवस्थापनसहित सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्डको नियमनको समेत अधिकार छ ।

नियमावलीमा घर वा कार्यालय परिसरमा राख्ने होर्डिङ बोर्डको आकार निर्धारणको जिम्मा पनि बोर्डलाई दिइएको छ । ‘आफ्नो पेसा वा व्यवसाय गर्ने घर वा कार्यालय परिसरमा राखिने होर्डिङ बोर्डको आकार बोर्डले निर्धारण गरे बमोजिमको हुनेछ,’ नियमावलीको नियम १० मा भनिएको छ । नियमावलीमा विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरिएको छ । सूचीकृत हुन विज्ञापन एजेन्सीले दर्ता भएको प्रमाणपत्र, गत आर्थिक वर्षसम्मको करचुक्ताको प्रमाणपत्र र बोर्डले तोकेको कागजात बुझाउनुपर्ने प्रावधान छ । बोर्डमा सूचीकृत विज्ञापन एजेन्सीले आफ्नो एजेन्सीमार्फत भएका विज्ञापनको अभिलेख राख्नुपर्ने र त्यस्ता अभिलेखको बोर्डले निरीक्षण गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?