१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दसैंमा लुम्बिनीमा बिक्री हुन्छन् ६० हजार खसीबोका

बुटवल/नेपालगन्ज — रूपन्देहीको सैनामैना नगरपालिका–११ वनभुसडीकी राधिका भुसालले यसपालि दसैंमा २० वटा खसीबोका बेचिन् । अझै १५ वटा खसी बेच्न तयार भएका छन् । खसीबोका बेच्न उनी कतै धाउनु पर्दैन ।

दसैंमा लुम्बिनीमा बिक्री हुन्छन् ६० हजार खसीबोका

उनी आबद्ध मुहान महिला सहकारी संस्थाले तयार भएका सबै खसीबोका बेचिदिन्छ । चुलोचौकोमा सीमित राधिकाले सात वर्षयता बाख्रा पाल्न थालेकी हुन् । अहिले उनीकहाँ दुई सय बाख्रा छन् ।

‘सहकारीबाटै ऋण लिएर बाख्रापालन थालेकी थिएँ,’ उनले भनिन्, ‘सहकारीकै सहयोगमा बर्सेनि बाख्राको संख्या बढाउँदै गएकी छु । सैनामैना–१० सालझन्डीकी विमला सोमरेले दसैंमा १६ वटा खसीबोका बेचिन् । सबै खसीबोका सहकारीले नै बेचिदिएको उनले बताइन् । १६ वटा माउबाख्रा पालेकी उनका १० वटा अरू पाठापाठी पनि छन् ।

सैनामैनामा महिला आबद्ध उपहार र मुहान सहकारी संस्थाले बाख्रापालन र बिक्रीवितरण गर्छन् । दसैंका लागि दुई हजार खसीबोका बिक्री गर्दै छन् । यसबाट २ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य रहेको मुहान सहकारीकी सचिव लक्ष्मी रेग्मीको भनाइ छ । लुम्बिनी प्रदेशमा महिलाद्वारा सञ्चालित ८७ सहकारी संस्थाले व्यावसायिक बाख्रापालन गरेका छन् । यसअन्तर्गत करिब ४३ हजार महिला बाख्रापालनमा संलग्न छन् । आफ्ना सदस्यले पालेका बाख्राका खसीबोकासमेत सहकारीले नै बेचबिखन गरिदिने गरेका छन् । यसपालि दसैंमा मात्रै उनीहरूले ६० हजार खसीबोका बेच्दै छन् । जसमा ४० हजार जिल्लाबाहिर र २० हजार जिल्लाभित्रै बिक्री गर्ने लक्ष्य छ । यसबाट ६० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । त्यसमध्ये मंगलबारसम्म ६० प्रतिशत खसीबोका बिक्री भएको महिला सहकारी सञ्जालको तथ्यांक छ । सञ्जालका अनुसार दसैंमा बाँके र बर्दियाबाट ९/९ हजार, दाङ र पाल्पाबाट ५/५ हजार खसीबोका बिक्री गरिँदै छ । अर्घाखाँचीबाट ४ हजार, प्यूठानबाट ३ हजार, गुल्मीबाट २ हजार ५ सय, रूपन्देहीबाट २ हजार र कपिलवस्तुबाट १ हजार गरी ४० हजार ५ सय खसीबोका जिल्लाबाहिर बिक्री हुँदै छन् । पाल्पा र बाँकेमा १५/१५ महिला सहकारीले बाख्रापालन गरेका छन् । बर्दिया र अर्घाखाँचीमा ९/९ वटा, दाङमा ८, प्यूठान र पाल्पा ५/५, रूपन्देहीमा ३ र कपिलवस्तुमा एक महिला सहकारीले बाख्रापालन गरेका छन् । ती सहकारी आफैंले खसीबोकासमेत बेच्ने गरेका छन् ।

यस वर्ष यी सहकारीको १ अर्ब १० करोडको कारोबार गर्ने लक्ष्य छ । गत वर्ष यी सहकारीले ७० हजार खसीबोका बिक्री गरेका थिए । त्यसबाट ७० करोडको कारोबार भएको थियो । महिला सहकारीले उत्पादन गरेका बाख्राको बजार प्रवर्द्धनमा हेफर इन्टरनेसनल नेपालले सघाएको छ । संस्थाका प्रदेश संयोजक अनन्त सिलवालले महिलालाई उपहारका रूपमा बाख्रा दिएर १९ वर्षदेखि संस्थाले बाख्रापालनमा लाग्न प्रेरित गरेको बताए । अहिले प्रदेश सरकार र स्थानीय तहले समेत बाख्रापालनमा सघाएका छन् । गुल्मीका ५, बाँकेका २ र पाल्पाको तानसेन नगरपालिकाले अनुदानका रूपमा बाख्रा दिएर महिला सहकारीलाई बाख्रापालनमा लगाएका छन् । बाख्रापालनमा लागेका महिलाका लागि अनुदान र बजार प्रवर्द्धनका कार्यक्रम ल्याएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताइन् ।

खस्कियो बजार

बाँकेका महिला किसानले गत वर्ष दसैंमा पाँच हजार खसीबोका संकलन गरेर काठमाडौंदेखि अन्य सहरसम्म लगेर बेचे । तर कोरोना महामारीका कारण यस वर्ष दुई हजार खसीबोका पनि बेच्न हम्मेहम्मे भएको उनीहरूले बताए । लागत मूल्य पनि नपाएपछि महिला किसान अहिले निराश छन् । यहाँका महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौंलगायतका सहरमा पठाउने गरेका हुन् । यहाँका खसीबोका काठमाडौंको कलंकीस्थित खसी बजारसम्म पुग्छन् ।

दसैं र तिहारलाई लक्ष्य गरी अहिले विभिन्न सहकारीमा आबद्ध महिलाले थोरै भए पनि खसीबोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष एमीकुमारी बोहराले बताइन् । उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध १५ वटा सहकारीका १२ हजार सदस्य महिलाले उत्पादन गरेका २ हजार ५ सय खसीबोका काठमाडौं पठाउन लागिएको उनले जानकारी दिइन् । ‘असोजभित्र ७ सय ५० वटा खसीबोका काठमाडौं पठाएका छौं,’ उनले भनिन्, ‘अष्टमीसम्म थप १ हजार ५ सय खसीबोका काठमाडौं पठाउने सोच छ ।’ किसानलाई मर्का नपर्ने गरी जिउँदो खसी प्रतिकिलो ५ सय १५ देखि ५ सय ३५ रुपैयाँका दरले खरिद गर्दै आएको उनले सुनाइन् ।

गत वर्षको दसैंमा काठमाडौंमा १ हजार ७ सय खसीबोका पठाएका उनीहरूले खसीको शारीरिक बनोट हेरेर मूल्य निर्धारण गर्ने गरेका छन् । उनीहरूले बाँकेको खजुरा र बैजनाथ, राप्तीसोनारी गाउँपालिकाको बैजापुर, कुसुम, बिनौना, कचनापुर, ढकेरी, शमशेरगन्ज, रनियापुर खजुरा र एफगाउँको सहकारीबाट खसीबोका संकलन गरेका हुन् । जसमा राप्तीसोनारीका ९ वटै वडाबाट खसीबोका संकलन गर्ने गरिएको परिवर्तन सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सुनिता खाँडले बताइन् । उनको सहकारीले २ सय ५० वटा खसीबोका संकलन गरेको छ । खसीबोकाको भाउ बढ्न नसकेपछि समयमा टार्गेट पूरा हुन नसकेको संघका व्यवसाय प्रबन्धक नवीन साहूको भनाइ छ ।

नेपाल खाद्य संस्थानले यस वर्ष किसानबाट खसीबोका नकिन्ने भएपछि किसान थप सकसमा परेका हुन् । गत वर्ष पनि खसीबोका नकिनेको संस्थानले यस वर्ष केन्द्रबाट स्वीकृति नपाएपछि किसानका खसीबोका खरिद नगर्ने निर्णय गरेको खाद्य संस्थान नेपालगन्जका प्रमुख निर्मल थापाले बताए । ‘काठमाडौं लैजान दाङबाटै सजिलो हुने भएकाले तीन वर्षदेखि बाँकेबाट खसीबोका संकलन गरेका छैनौं,’ उनले भने, ‘लागत मूल्यअनुसार दाङबाट ढुवानी सस्तो पर्ने भएकाले उतैबाट खरिद गरेका हौं ।’

प्रकाशित : कार्तिक ७, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?