२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चाडपर्वले बढायो अटो बजारको कारोबार

कान्तिपुर संवाददाता

काठमाडाैं — कोभिड–१९ संक्रमण बढ्न थालेसँगै गरिएको लकडाउनका कारण अटो बजार लामो समय ठप्पप्रायः बन्यो । संक्रमण चुलिए पनि यति बेला लकडाउन सकिएको छ । चाडबाड नजिकिएका छन् । बजार खुलेको छ । यही कारणले अटो बजारमा पनि चहलपहल सुरु भएको छ । चारपांग्रे र दुईपांग्रे सवारीमा विभिन्न कम्पनीबीच छुट दिन प्रतिस्पर्धा छ ।

चाडपर्वले बढायो अटो बजारको कारोबार

चाडपर्वलाई लक्ष्य गरी विभिन्न कम्पनीले छुट अफरदेखि नयाँनयाँ योजना ल्याएका छन् । दसैं आएकाले कम्पनीहरूका सोरुम सजिसजाउ छन् । लकडाउनले थलिएको अटो बजार बिस्तारै तंग्रिने तखरखरमा छ । तर गत वर्षजस्तो रौनक भने यो पटक छैन । विक्रेता कम्पनीहरू अफरसहित बजार तताउन सक्रिय छन् । लकडाउन खुलेपछि पहिलाको तुलनामा व्यापारमा केही सुधार देखिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

‘अहिले दसैं लागेको छ, यो बेला बजार राम्रो हुनैपर्ने हो,’ उनले भने, ‘तर विगतका वर्षको तुलनामा व्यापार धेरै कम छ ।’ दसैं लागेकाले अटो बजारमा केही सुधार देखिएको छ । दसैंको मुखमा नाडा अटो हुन्थ्यो । वर्ष दिनभर हुने कारोबारमध्ये ४० प्रतिशत त्यही बेला हुन्थ्यो । यो पटक कोभिड–१९ ले गर्दा अटो शो हुन सकेन । ‘कोभिड–१९ का कारण पहिलाको जस्तो व्यापार होला भन्ने त छैन,’ उनले भने, ‘चहलपहल बढेर व्यापार भएको देखिए पनि प्रतिशत र परिणामका आधारमा हेर्दा ५० प्रतिशतभन्दा कम नै छ ।’

लामो समय व्यवसाय ठप्प बन्यो । लकडाउन खुल्नासाथ मौज्दात रहेका सामान सकिए । लकडाउनले गर्दा व्यवसायीले अर्डर गरेअनुसारका सामान ल्याउन सकेनन् । मौज्दात सकिँदा व्यवसायीलाई समस्या भयो । अहिले धमाधम अर्डरअनुसारका सामान ल्याउन थालिएको छ । त्यस्तै विद्युतीय सवारीमा बढाइएको भन्सार शुल्क घटाइएपछि ती सवारी पनि ल्याउन थालिएको अध्यक्ष दुलालले बताए । ‘सबै कुरा सुचारु भइरहे व्यवसाय टिक्छ,’ उनले भने, ‘अहिलेसम्मको अवस्था सकारात्मक नै छ ।’ तर बैंकले डाउनपेमेन्ट घटाए व्यवसाय टिकाउन सहज हुने उनको भनाइ छ । डाउनपेमेन्ट ५० प्रतिशत बनाइएको छ । जसले गर्दा अटोबजार प्रभावित बन्दै आएको छ । यसको ठूलो असर चारपांग्रे सवारीमा परेको छ ।

‘अघिल्लो आर्थिक वर्षको पनि चैतदेखि असारसम्म खत्तम नै भयो,’ उनले भने, ‘त्यसैले यो वर्ष समग्रमा ५० प्रतिशत मात्र सवारी आयात भएको छ ।’ अब लकडाउन र निषेधाज्ञा नभए बिस्तारै अटो बजार तंग्रिने उनको भनाइ छ । कोभिड–१९ ले थिलथिलो बनेको बजार बिस्तारै तंगि्रँदै गएको नाडाका सचिव अनुपकुमार बराल बताउँछन् । ‘दसैं आयो, चहलपहल बढ्दै छ,’ उनले भने, ‘तर गत वर्षमा जस्तो अहिले बिक्री छैन ।’ कोभिड–१९ ले अर्थतन्त्र ध्वस्त बनायो । आम्दानीको स्रोत बलियो भएकाहरूमा चारपांग्रे सवारी किन्ने र बुक गराउन प्रतिस्पर्धा छ । जसमा व्यापार व्यवसाय गर्ने बढी छन् । ‘सबैभन्दा राम्रो बजार मोटरसाइकलको छ । यसको बिक्री र माग धेरै छ,’ उनले भने, ‘कात्तिक लागेपछि भने चारपांग्रेको बजार पनि सुधार भएको छ ।’ नयाँ अर्थमन्त्री विष्णु पौडेलले अटो उद्योगलाई राहत हुने किसिमका योजना ल्याउने आशा रहेको बरालले बताए ।

राष्ट्र बैंकको निर्देशनअनुसार सवारी कर्जा लिँदा गाडीको बजार मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकले ऋण दिन पाउँछन् । यसअघि ६२ प्रतिशतसम्म बैंकले कर्जा दिन्थे । ‘युवराज खतिवडा अर्थमन्त्री भएपछि ५० प्रतिशतमा झारिएको हो, जसले गर्दा बजार खस्केको छ,’ उनले भने । अहिले नै बजार सहज भयो भन्न सक्ने अवस्था नरहेको नाडाका कार्य समिति सदस्य निराकर श्रेष्ठको भनाइ छ । ‘धेरै लामो बाटो काट्नु छ,’ उनले भने, ‘अरू त्यस्तो परिवर्तन केही छैन, लकडाउन खुलेपछि सामान्य रूपमा बिक्री हुन थालेको देखिन्छ ।’ चाडबाडले माहोल बनाए पनि त्यसपछि के हुन्छ भन्न सक्ने अवस्था नरहेको उनको तर्क छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?