कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३ महिनामा सवा अर्ब पुँजीगत लाभकर संकलन

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा सेयर बजारबाट करिब सवा अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा संकलित लाभकर करिब आठ गुणा (करिब ७ सय प्रतिशत) बढी हो ।

३ महिनामा सवा अर्ब पुँजीगत लाभकर संकलन

गत आर्थिक वर्षको पहिलो तीन महिनामा सेयर बजारबाट १३ करोड ८५ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ठूलो परिमाणमा प्राथमिक निष्कासन (आईपीओ) सूचीकरण भएको, अनलाइन कारोबार बढेको, कारोबार रकम बढेकोलगायत कारण धेरै पुँजीगत लाभकर संकलन भएको बताइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा पुँजीगत लाभकर र अग्रिम कर कट्टी (टीडीएस) गरी कुल १ अर्ब २८ करोड रुपैयाँ कर संकलन भएको छ । जसमध्ये करिब १ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकरबाट र १६ करोड ६७ लाख रुपैयाँ टीडीएसबाट संकलन भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर र २ करोड ७ लाख रुपैयाँ टीडीएसबाट गरी १६ करोड ५५ लाख रुपैयाँ संकलन भएको थियो । हालको व्यवस्थाअनुसार सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले ५ र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । यसबाहेक धितोपत्र ब्रोकर, नेप्से, संस्थागत लगानीकर्ताले संस्थागत आम्दानी कर पनि तिर्नुपर्छ । सबै जोड्दा यो वर्ष सेयर बजारबाट संकलन हुने कर धेरैले बढ्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्से परिसूचक करिब २ सय अंक बढिसकेको छ । गत असार मसान्तमा करिब १ हजार ३ सय ५८ अंकमा रहेको नेप्से असोज मसान्तमा १ हजार ५ सय ६३ अंकमा उक्लेको छ । यो अवधिमा दैनिक औसत कारोबार पनि बढेको छ । दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार सुरु भएको करिब डेढ वर्ष भइसक्दा पनि उल्लेख्य रूपमा कारोबार रकम बढ्न सकेको थिएन । तर कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि करिब तीन महिना बन्द भएर खुलेको बजारमा उल्लेख्य कारोबार बढेको छ ।

सो अवधिमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्नुले पनि यो पुष्टि हुन्छ । नेप्सेका अनुसार दुई साताअघिसम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए ।

लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब एक लाखले बढेको देखाउँछ  । सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब तीन महिना बजार बन्द नै रह्यो । कोभिड–१९ को जोखिमले हिँडडुलमा अवरोध हुनुका साथै अनलाइन कारोबार सजिलो र झन्झटरहित भएकाले ‘युजर नेम र पासवर्ड’ लिनेको संख्या बढेको नेप्सेले जनाएको छ ।

पुँजीबजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले ०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदा ताका लगइन लिने लगानीकर्ताको संख्या न्यून थियो । गत चैत ६ गतेसम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो ।

पुँजीबजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता साढे तीन लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?