२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

ठूली दहमा बढ्दै पर्यटक

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–७ स्थित ठूली दहमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । जंगल सफारी र आसपासको क्षेत्रको दृश्यावलोकनका लागि ठूली दह आकर्षक गन्तव्य हो ।

ठूली दह घुम्न आउनेको यकिन तथ्यांक नभए पनि लकडाउनका बेला करिब पाँच हजार जना आएको वडा सदस्य तोकबहादुर खत्रीले बताए । ‘दह र आसपासको क्षेत्र लकडाउनको समयमा घुम्ने, रमाउने र समय कटाउने ठाउँ बन्यो,’ उनले भने, ‘अहिले पनि दैनिक चार सय जनासम्म आन्तरिक पर्यटक आइरहेका छन् ।’ ठूली दह आसपास रिन दह, बैरी दह र साँख दह पनि छन् । उनका अनुसार सदरमुकाम खलंगादेखि १५ किलोमिटरको दूरीमा ठूली दह छ ।

लकडाउनको अवधिमा ठूली दहमा वनभोज, संस्थाका बैठक, संस्थागत भ्रमणलगायत गतिविधि दैनिकजसो भएको स्थानीय अगुवा लालबहादुर महतले जानकारी दिए । ‘अन्यत्रजस्तो यहाँ लकडाउन कहिल्यै भएन,’ उनले भने, ‘लकडाउन त आन्तरिक पर्यटकका लागि ठूली दह घुम्ने मेलो बन्यो ।’ उनका अनुसार चारैतिर जंगलले घेरिएको ठूली दहमा वर्षायामको पानी जम्मा हुन्छ । पर्यटक बढ्दै गएपछि दह क्षेत्रमा वनभोजका लागि निश्चित क्षेत्र तोकिएको महतले बताए ।

पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत असारमा ठूली दह नजिकै एउटा भवन र शौचालय निर्माण गरेको छ । मध्यपहाडी लोकमार्गको सडकबाट एक घण्टा जंगलको बाटो हिँडेपछि ठूली दह पुग्न सकिन्छ । दह क्षेत्रमा बास बस्ने व्यवस्था नहुँदा त्यहाँ पुग्ने आन्तरिक पर्यटक बिहान गएर बेलुका फर्कन्छन् । यहाँको विकासका लागि डीपीआर निर्माण गर्न थालिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले जानकारी दिए । दह क्षेत्रमा सिँढी निर्माण गर्न यस वर्ष नगरपालिकाले बजेट विनियोजन गरेको छ । ‘ठूली दह र त्यस आसपासको समग्र विकासका लागि प्याकेजमै संरचनाको काम गर्न खोजिएको हो,’ उनले भने, ‘डीपीआर निर्माणपछि प्रदेश र संघीय सरकारसँग पनि सहयोग माग्नेछौं ।’

प्रकाशित : कार्तिक ५, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?