कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खाद्यमा खसीबोका किन्नेको भीड

पहिलो दिनमै बिक्री भए ५ सय ४० खसीबोका
निजी व्यवसायीकहाँ छैनन् ग्राहक
कान्तिपुर संवाददाता

काठमाडौँ — सस्तो दरमा खसीबोका बिक्री गरेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ग्राहकको भीड लागेको छ । बजार भाउभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि सर्वसाधारण खाद्यको बिक्री केन्द्रमा झुम्मिएका हुन् ।

खाद्यमा खसीबोका किन्नेको भीड

सोमबार मात्रै ५ सय ४० वटा खसीबोका बिक्री भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् ।

‘आइतबार ४ सय ५ र सोमबार १ सय ९५ वटा खसीबोका आएका थिए, जसमध्ये सोमबार एकै दिन ५ सय ४० वटा बिक्री भइसके,’ उनले भनिन्, ‘भीड निकै बढी थियो, नियन्त्रण गर्नै हम्मे पर्‍यो ।’ खाद्यले प्रतिकिलो खसीबोका साढे ५ सय रुपैयाँमा बेचिरहेको छ । बजारमा निजी व्यवसायीहरूले भने किलोकै साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेका छन् । ‘खाद्यका खसीबोका स्वस्थ छन्, सस्तो पनि भएकाले धेरै आकर्षण देखियो,’ उनले भनिन्, ‘खसीबोका मंगलबार पनि आउँछन्, २/२ सयको लटमा उपत्यका भित्र्याएका छौं ।’

खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गरिएको हो । खरिद गर्न जिल्ला प्राथमिक खरिद समिति बनाइएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले किन्छ । त्यसपछि प्रशासनिक र ढुवानी खर्च जोडेर अनि बजार मूल्य हरेर खसीबोकाको मोल निर्धारण गरिन्छ ।

खाद्यको बिक्री केन्द्रमा भीड थामिनसक्नु हुँदा खसीबोकाको मुख्य बजार कलंकीका व्यवसायी भने निराश छन् । सरकार र निजी व्यवसायीले बेच्ने खसीबोकाको मूल्यमा धेरै अन्तर हुँदा व्यापार घटेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले जानकारी दिए । ‘नाफा नखाई बिक्री गर्दा पनि प्रतिकिलो ६ सय ३५ देखि ६ सय ४० रुपैयाँ लिनुपर्छ । त्योभन्दा कममा बेच्दा घाटा हुन्छ,’ उनले भने, ‘खाद्यले घाटा खाएर बिक्री गरे पनि फरक पर्दैन, हामीले कसलाई बिल पेस गर्ने ? व्यापार सन्तुलन नहुँदा खसी बजारको व्यापार आधा घट्यो ।’ खसीबोका प्रतिकिलो ६ सय ५० देखि ६ सय ६० रुपैयाँमा बिक्री गर्दा बल्ल अलिअलि नाफा हुने उनको दाबी छ । ‘सहुलियतमा दिनु ठीक हो । तर मूल्यमा धेरै अन्तर पर्‍यो,’ उनले भने ।

दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । यसपालि भने खसीबोका मात्रै बिक्री गरिरहेको छ । यसपालिको दसैंमा ३ हजार बिक्री गर्ने लक्ष्य राखेकामा कोभिड–१९ का कारण एक हजार मात्रै ल्याउने बताउँदै आएको छ । यसले खाद्यको खसीबोका सकिएपछि पुनः व्यवसायीकै मनोमानी चल्ने जानकारहरू बताउँछन् । व्यवसायीले पनि मूल्य माग र आपूर्तिमा निर्भर हुने बताउने गरेका छन् ।

‘दसैं आउन अझै एक साता बाँकी छ, तर खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या थोरै भयो,’ खाद्यका एक कर्मचारीले भने, ‘थप खरिदबिक्री गर्ने/नगर्ने व्यवस्थापनको कुरा भयो । यस विषयमा वाणिज्य सचिवलाई नै सोध्नुपर्छ । सरकारले आदेश दियो भने ल्याउन सकिन्छ ।’ सोमबार देखिएको भीडका हिसाबले सरकारी खसीबोका दुई–तीन दिनमै सकिने उनको भनाइ छ । ‘खाद्यको सकिएपछि व्यवसायीकै मनोमानी हुन्छ,’ ती कर्मचारीले भने, ‘त्यसैले सरकारले छिट्टै निर्णय गर्नु आवश्यक छ ।’ व्यवसायीहरूले ४० हजारभन्दा बढी खसीबोका बिक्री गर्ने लक्ष्य राखेको अध्यक्ष खड्का बताउँछन् । ती खसीबोका दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट ल्याइने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक ४, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?