भूकम्पपीडितको भुक्तानी रोकिएको रोकियै
काठमाडौँ — गोरखाको पालुङटार नगरपालिका–५ स्थित ढाँटीपोखरीका सानो कान्छा विकले गत पुसमा भूकम्पमा भत्किएको घर ठड्याए । एक कोठे घर बनाउन उनलाई एक महिना लाग्यो । घर नहुँदा त्यसअघि उनले त्रिपालमा रात कटाउनुपरेको थियो । अहिले नयाँ घरमा सरिसके ।
घर बनेपछि तेस्रो किस्ताका लागि पुसबाटै प्रक्रिया सुरु गरे । अहिलेसम्म पाउन भने सकेका छैनन् । घर बनाउँदा ७० हजार ऋण लाग्यो । घर बनाउने कामदारलाई अझै ज्याला दिन सकेका छैनन् । ‘किस्ता आउला र दिउँला भनी बसेको, अहिलेसम्म पाउन सकिएन,’ उनले गुनासो गरे, ‘घर बनाउनेहरू सधैं पैसा माग्न आउँछन्, छैन भन्दै फर्काउनुपरेको छ ।’
गत आइतबार श्रीमती सुकुमाया र उनी ४ सय गाडीभाडा तिरेर छेपेटारमा पैसा आए/नआएकोबारे बुझ्न पुगे । नआएको थाहा पाएपछि निराश भएर फर्किएको उनले सुनाए । ‘आम्दानी केही छैन, सरकारबाट पैसा आउँछ भनेर घर बनाइहालियो,’ उनले भने, ‘अब पैसा पाइएन भने ऋण तिर्न यही घर बन्धकी राख्नुपर्छ ।’ पहिलो किस्ता ५० हजार र दोस्रो १ लाख ५० हजार रुपैयाँ पाएका उनले तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाउनुपर्ने हो । ‘दसैं आइसक्यो तर पैसा नै आएन,’ विकले भने, ‘पहिलाको किस्ता आउन यति ढिला भएको थिएन, दसैंअघि नै पाए ऋण छिनेर दसैं मनाउन हुन्थ्यो ।’
यस्तो समस्या विकको मात्र होइन । ४० हजार पीडितले अझै किस्ता पाउन सकेका छैनन् । साउनयता ५० हजार भूकम्पपीडितमध्ये अहिलेसम्म १० हजारलाई मात्र रकम भुक्तानी गरिएको छ । ४० हजार पीडितको ४ अर्ब ३० करोड रुपैयाँ रकम अझै भुक्तानी हुन सकेको छैन । बाँकी ५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा अहिलेसम्म ७० करोड मात्र भुक्तानी गर्न सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विभिन्न जिल्लामा रकम भुक्तानी थालिए पनि कोभिड–१९ ले गर्दा वितरण रोकिएको छ । रकम भुक्तानी गर्ने कर्मचारीलाई नै कोभिड–१९ देखिएको र केही कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेपछि मकवानपुर, धादिङ र तनहुँमा वितरण रोकिएको हो । अन्य जिल्लामा भने भुक्तानी भइरहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
‘जताततै कोभिड–१९ को त्रास छ,’ उनले भने, ‘त्यसैले दसैंअघि सबै भुक्तानी दिएर सकिँदैन जस्तो छ ।’ भूकम्प प्रभावित ३२ जिल्ला छन् । कतिपय जिल्लामा अहिलेको सिस्टम (प्रणाली) नयाँ भएकाले यसबारे सबै जानकार छैनन् । जसले गर्दा भुक्तानीमा ढिला हुन सक्ने घिमिरेको भनाइ छ । त्यस्तै केही जिल्लामा भने रकम अपुग भएर भुक्तानी दिन नसकिएको उनले जानकारी दिए ।
‘तनहुँ र नवलपरासीमा रकम अभाव भएको छ,’ उनले भने, ‘सुरुमा विनियोजन कम भएकाले समस्या भएको हो, बजेट फेरि थपेर पठाउनुपर्ने हो, अब कति समय लाग्छ, थाहा छैन ।’ दसैं आउन केही दिन बाँकी भएकाले रकम वितरणलाई निरन्तरता दिइने उनले बताए । ‘अझै केही दिन वितरणको काम हुनेछ,’ उनले भने, ‘बाँकी रकम दसैंलगत्तै भुक्तानी गर्छौं ।’
लाभग्राहीले प्रक्रिया पुगेर पनि रकम पाउन सकेका छैनन् । साउनयता पहिलो किस्ता भुक्तानी पाउने लाभग्राही ४५ सय छन् । यसैगरी दोस्रो किस्ता लिने ३ हजार ७८ र तेस्रो किस्ता लिने लाभग्राही २ हजार ४ सय २२ रहेको प्राधिकरणले बताएको छ । पुरानो प्रणालीलाई अपग्रेड गर्दा गत साउन र भदौमा भने भुक्तानी वितरण रोकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवास निर्माण ७१ प्रतिशत सकिएको छ । २२ प्रतिशत निर्माणको क्रममा छ । तेस्रो किस्ता लिने ७७ प्रतिशत छन् ।
मकवानपुरका २२ हजार पीडितले बनाए घर
हेटौंडा– मकवानपुरका आवास पूर्ण रूपमा क्षति भएका भूकम्पपीडितमध्ये २२ हजार १ सय ५ अर्थात् ६४ प्रतिशतले निजी आवास बनाइसकेका छन् । अनुदान सम्झौता गरेकामध्ये भने ८७ प्रतिशतले निजी आवास बनाइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका प्रमुख विमल किशोर केपीले जानकारी दिए । मकवानपुरमा कुल लाभग्राही ३४ हजार ८ सय ८५ छन् । तीमध्ये ३१ हजार ६ सय २३ जना अर्थात् ९१ प्रतिशतले अनुदान सम्झौता गरेको उनले बताए ।
३ हजार २ सय २२ लाभग्राहीसँग अझै सम्झौता भएको छैन । सम्झौता भएकामध्ये ३१ हजार ६ सय २३ ले पहिलो किस्ता रकम बुझिसकेका छन् । दोस्रो किस्ता बुझ्ने २६ हजार ९ सय २६ छन् । तेस्रो किस्ता भने २२ हजार १ सय ७५ जनाले लिएको केपीको भनाइ छ । जिल्लामा ३ हजार २ सय २२ लाभग्राहीमध्ये केही मृतकको नाम परेको, केहीको नाम दोहोरिएको र केही भने घर बनाउन अनिच्छुक रहेकोलगायत कारणले सम्झौतामा कठिनाइ भएको प्राधिकरणले बताएको छ । अहिलेसम्म २८ जनाले किस्ता रकम फिर्ता गरेका छन् । २५ जनाले पहिलो र तीन जनाले दोस्रो किस्ता रकम फिर्ता गरेका हुन् । भवन बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन् ।
प्रबलीकरणतर्फ भने जिल्लामा १३ हजार ४० लाभग्राही छन् । तीमध्ये १० हजार ७ सय ६३ लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसकेका छन् । दोस्रो किस्ता १ सय १९ ले लिएका छन् । प्रबलीकरणमा प्राधिकरणले दुई किस्ता गरेर १ लाख रुपैयाँ मात्र अनुदान दिने गर्छ ।
प्रकाशित : कार्तिक ४, २०७७ ०७:३४