१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यात्रुको चाप नभएपछि दसैंलाई अग्रिम टिकट खुलाइएन

उपत्यकाका नयाँ बसपार्क, कल‌ंकी, कोटेश्वर, गौशालालगायत १० ठाउँमा नागरिक सहायता कक्ष
विमल खतिवडा

काठमाडौँ — कोभिड–१९ को जोखिम बढेसँगै यो पटक दसैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । यात्रु कम भएको र अहिले चलिरहेकै सवारीले चाप धान्ने भएपछि अग्रिम बुकिङ खोल्न आवश्यक नदेखिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यात्रुको चाप नभएपछि दसैंलाई अग्रिम टिकट खुलाइएन

‘अहिले टिकटको कुनै समस्या छैन,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘काउन्टरमा पुग्नासाथ यात्रुले टिकट पाएका छन् ।’ उपत्यकाका प्रायः टिकट काउन्टर यति बेला सुनसान छन् । गत वर्ष यही समयमा भने टिकट काउन्टरमा यात्रुको थामिनसक्नु भीड हुन्थ्यो । सवारीमा यात्रुको चापाचाप हुन्थ्यो ।

‘एउटै रुटमा चल्ने १० वटा गाडी राख्दा दुइटा पनि भरिन मुस्किल पर्छ,’ उनले भने, ‘गाडी चढ्ने यात्रु नै छैनन् । त्यसैले अग्रिम टिकट खोलेर काम छैन ।’ अब बाहिरिने यात्रुको संख्या करिब ३ लाख अनुमान गरिएको छ । ‘लकडाउनअघि र पछि गरेर १२ लाखभन्दा बढी यात्रु बाहिरिइसकेका छन्,’ उनले भने, ‘तर गत वर्ष दसैंमा २० लाखभन्दा बढी यात्रु बाहिरिएका थिए ।’ सरकारले लकडाउन भएको ६ महिनापछि कुल सिटमा आधा मात्र यात्रु बोक्न पाउने भन्दै असोज १ बाट लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । जसमा चलेको दरमा ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरिएको थियो । तर जहाजमा पूरै सिटमा यात्रु बोक्न दिएपछि यातायात व्यवसायीले यसको विरोध गर्दै आएका थिए । आफूहरूले पनि कुल सिट संख्यामै यात्रु राख्न पाउनुपर्ने उनीहरूको माग थियो । व्यवसायीकै मागअनुसार असोज २६ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै पूर्ण सिट क्षमतामा पुरानै भाडादरमा यातायात चलाउने निर्णय भएको महानिर्देशक हमालले जानकारी दिए । ‘यसबारे सूचना निकालेर जानकारी दिइसकेका छौं,’ उनले भने, ‘शनिबारबाट यो नियम कार्यान्वयनमा आइसकेको छ ।’ दसैंलाई दृष्टिगत गरी यात्रुको बढी चाप हुने काठमाडौं उपत्यकाका नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशालालगायत १० ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

‘सवारी चलाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ,’ उनले भने, ‘यात्रु, चालक र सहचालकले अनिवार्य रूपमा भाइजर लगाउनुपर्नेछ, मास्क र सेनिटाइजरको प्रयोग पनि अनिवार्य गरिएको छ ।’ यस विषयको पालना भए, नभएको हेर्न विभागले अनुगमनलाई तीव्रता दिएको उनको दाबी छ ।

चाडपर्वको मुखमा यात्रु नभएर तनाव भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको गुनासो छ । ‘गाडी छन् । तर यात्रु छैनन्,’ उनले भने, ‘त्यसैले अग्रिम बुकिङ खोल्नु आवश्यक छैन ।’ व्यवसायीले चाडबाडका बेला सोच्दै नसोचेको समस्या भोग्नुपरेको उनले बताए । सार्वजनिक सवारीमा भीड हुने डरले पारिवारिक रूपमा गाडी रिजर्भ गरेर घर जाने यात्रु बढी छन् । जिप, टाटासुमो, माइक्रो, ट्याक्सी र स्कोर्पियो रिजर्भ गरेर जाने धेरै छन् । ‘यस्तो होला भनेर सोचेका पनि थिएनौं,’ उनले भने, ‘चाडबाडकै बेला बसपार्क सुनसान जस्तै छन् ।’ यति बेला सवारी जाँचमा कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ, छैन, अनिवार्य हेर्ने गरेका छौं,’ उनले भने, ‘उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गरेका छौं ।’ विगतका वर्षमा घटस्थापनादेखि दैनिक ७५ हजारभन्दा बढी यात्रु बाहिरिन्थे । अहिले त्यो संख्या करिब २२ हजार मात्र रहेको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक ३, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?