सिक्दै, खेती गर्दै

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–११ अरौराकोटका रामदास यादवले गोलभेंडा खेतीलाई कसरी राम्रो गर्ने भन्ने विषयमा युट्युब हेर्न थालेका छन् । स्मार्ट मोबाइलमा डाटा किनेर तरकारी खेतीलाई नगदेबाली कसरी बनाउन सकिन्छ भनेर बुझ्न थालेको उनले बताए ।

‘कृषि साक्षरता कक्षाअन्तर्गत ज्ञान पाएपछि आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न व्यस्त छु,’ उनले भने, ‘अहिले दुई कट्ठा जमिनमा गोलभेंडा र काउली लगाएको छु ।’ धानका बीउ छनोटदेखि, बीउ छर्ने र कसरी कुन समयमा रोप्नेसम्मको ज्ञान पनि साक्षरता कक्षाबाट पाएको उनको भनाइ छ ।

साक्षरता कक्षाअन्तर्गत ज्ञान पाएपछि धान खेती गर्दा बाला राम्रो लागेको उनले जानकारी दिए । आफ्नो ७ बिघाभन्दा बढी खेतमा सम्पूर्ण साभा मसिनो धान रोपेको उनले बताए । उनी जस्तै यस वडाकै पर्सियाकी आलिया खातुनले साक्षरता कक्षाबाट राम्रो आम्दानी कसरी गर्ने भन्ने सिकिन् । त्यही ज्ञानले ८ बिघामा मसिनो धान खेती गरिरहेको उनले बताइन् । तीन कट्ठा खेतमा उनले करेला, बोडी र गोलभेंडा खेती गरेकी छन् । कीरा लाग्न थालेपछि मोहिनी पासो आफैं बनाउँछिन् । ‘बोट राम्रोसँग हुर्किएका छन्,’ उनले भनिन्, ‘यस पटक तरकारीबाट २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने सोच छ ।’

समूहमा आबद्ध कृषक दैनिक दिउँसो २ घण्टा साक्षरता कक्षामा सहभागी हुन्छन् । आफूलाई आइपरेका समस्याबारे छलफल गर्छन् । समाधान निकाल्छन् । आफ्ना अनुभव साटासाट गर्छन् । कृषि प्राविधिक उनीहरूलाई कक्षामा सधैं नयाँ नयाँ जानकारी दिन्छन् । किसानलाई साक्षरता कक्षामा १६ वटा पाठ पढाइन्छ । कुन ठाउँमा कुन बाली र तरकारी बढी फल्छ भनेर सिकाइन्छ । लागत योजना बनाउन सिकाइन्छ । बजारीकरण र उन्नत प्रविधि के–के छन्, कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी दिइन्छ । बजारको मागलाई ध्यान दिएर कसरी उत्पादन गर्ने भन्नेबारे सिकेका छन् । लगानी, खर्च र आम्दानीको हिसाबकिताब कसरी राख्नेबारे पनि जानकारी पाएका छन् ।

खेती गर्न प्रयोग गरिने घरेलु यान्त्रिकीकरण र सूचना प्रविधि प्रयोगबाट कसरी फाइदा लिनेबारे पनि ज्ञान पाएका छन् । उत्पादन जोखिम न्यूनीकरण र उत्पादनउप्रान्तका क्रियाकलापबारे जानकारी पाएका छन् । शत्रुजीव व्यवस्थापन, खाद्य स्वच्छता र असल कृषि अभ्यासबारे पनि जानकारी पाएका छन् । बाख्रापालन र व्यवसाय दर्ताबारे पनि आधारभूत जानकारी दिइएको किसानले बताए ।

‘घरेलु ज्ञान र सीपबाट रोग र कीरा धपाउन सिकें,’ अरौराकोटका कृषक राधेश्याम बढईले भने, ‘पहिले अनावश्यक खर्च गरेर विषादी किनेर ल्याउँथें ।’ अर्गानिक तरकारी सजिलै बिक्छ । कृषिसम्बन्धी एपहरू के–के छन्, युट्युबबाट कृषि उपयोगी ज्ञान कसरी लिने भन्नेबारे नयाँ प्रविधिसँग नजिकिएपछि आनन्दित हुँदै सिक्ने अवसर मिलेको कृषक बलिराम चौरसियाको भनाइ छ । साक्षरता कक्षाका सहभागी कृषकको धान ओदारीको मारुती नन्दन खाद्य उद्योगले खरिद गर्ने भएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?