निजी भन्दा सरकारी खसी किलोमा सय रुपैयाँ सस्तो, किलोको साढे ५ सय

सोमबारदेखि बिक्री गरिने
राजु चौधरी

काठमाडौँ — सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ ।

निजी भन्दा सरकारी खसी किलोमा सय रुपैयाँ सस्तो, किलोको साढे ५ सय

संस्थानले बजारमूल्य भन्दा किलोमा प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा बिक्री गने निर्णय गरेको छ ।

‘मूल्य निर्धारण गर्नुअगाडी सबै बजार विश्लेषण गर्‍यौं,बजारमा साढे ६ सय किलोसम्म बिक्री गरेको देखियो,’ कम्पनीका बिक्री वितरण विभाग प्रमुख भिम थापाले भने, ‘खाद्य कम्पनीले सर्वसाधरणलाई प्रतिकिलो साढे ५ सय रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’

दसैंलाई लक्षितगरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्याङग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहेपनि मुख्य उद्देश्य बजार हस्तक्षेप/मूल्य नियन्त्रण गर्न रहेको जनाएको छ । ‘चाडबाडमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु हो । सरकारले मूल्य तोकेपछि व्यापारीहरुले बढी तोक्न सक्दैन,’ कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेको छ । सोमबारदेखि नै बिक्री गर्छौं ।’

उक्त खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गरिएको हो । ठाउँ अनुसार प्रतिकिलो ५ सय ३५ रुपैयाँदेखि ५ सय ६० रुपैयाँमा खरिद गरिएको प्रवक्ता न्यौपानेले बताइन । ‘खरिद मूल्य, ढुवानी, प्रशासनिक खर्च, खसीबोकालाई चाहिने दानासहित जोडेर प्रतिकिलो ५ सय ६० रुपैया निर्धारण गरेका छौं । सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णयसँगै उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्नेछौं,’ उनले भनिन, ‘बिक्री मूल्य गत वर्षकै हो । भाउ बढाएका छैनौं ।’

कम्पनीले यसपालि ३ हजार बिक्री गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारण संख्या घटाएर एक हजार खसीबोका र एक हजार च्याङग्रा ल्याउने जनाएको थियो । च्याङग्रा ल्याउन नसकेपछि खसीबोका मात्रै बिक्री गर्ने योजना बनाएको छ ।

‘यसपालि १ हजार वटा मात्रै बिक्री गर्ने योजना छ । तर, आवश्यकता परे संख्या बढाउन सक्छौं,’ उनले भनिन् । कम्पनीले गतवर्ष खसीबोका र च्याङग्रा गरी ३ हजार २० वटा बिक्री गरेको थियो ।

प्रकाशित : कार्तिक २, २०७७ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?