कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लकडाउन खुलेपछि बढ्यो कर्जा प्रवाह

पहिलो त्रैमासमा १ खर्ब ४ अर्ब कर्जा प्रवाह
निक्षेप संकलन १ खर्ब ३८ अर्ब रुपैयाँ
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा राष्ट्र बैंकमा बुझाएको अपरिष्कृत तथ्यांकको विवरण हो ।

लकडाउन खुलेपछि बढ्यो कर्जा प्रवाह

कोभिड–१९ ले सिर्जना भएको अप्ठ्यारो परिस्थितिमा पनि झन्डै सवा अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

कोरोनाको जोखिमबाट बच्न भन्दै सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेको हो । चैतमा लकडाउनअघि केही कर्जा प्रवाह भएको थियो । पछि पनि पहिल्यै स्वीकृत भएका केही कर्जा प्रवाह भएको देखिन्छ । त्यसपछि वैशाख, जेठ, असार र साउनमा थप कर्जा प्रवाह ठप्पप्रायः रह्यो । बरु लगानीमा रहेका केही कर्जा असुली भएकाले कुल लगानीमा रहेको कर्जा घट्यो । मासिक कर्जा वृद्धिदर ऋणात्मक रह्यो । तर भदौदेखि बिस्तारै कर्जा प्रवाह बढ्न थाल्यो ।

विवरणअनुसार गत भदौमा थप ३४ अर्ब र असोजमा ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यससँगै गत असोज २८ सम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ३३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कम भए पनि परिस्थितिअनुसार राम्रो मान्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘अहिलेको अप्ठ्यारो परिस्थितिमा यो कर्जा प्रवाहलाई सन्तोषजनक मान्नुपर्छ,’ उनले भने, ‘गत साउनमा कर्जा प्रवाह वृद्धिदर ऋणात्मक भए पनि भदौ र असोजमा बढेको छ ।’ लकडाउन खुकुलो भएपछि आर्थिक गतिविधि बढ्न थालेकाले आयात पनि बढेको छ । यसले कर्जा माग पनि बढेको उनले जानकारी दिए । ‘कर्जा प्रवाह बढ्ने राम्रो संकेत हो,’ उनले भने, ‘आउँदा दिनमा कर्जा माग झनै बढ्नेछ ।’ लकडाउन खुलेसँगै आर्थिक गतिविधि बढ्न थालेको र यसले कर्जा माग बढाएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘पहिल्यै स्वीकृत भएका कर्जा पनि प्रवाह हुन थालेका छन्,’ उनले भने, ‘दसैं र तिहार लक्षित व्यापारिक कर्जा माग पनि बढेको छ ।’ गत भदौ र असोजमा सवारी साधनलगायत कर्जा प्रवाह बढेको उनले बताए ।

कर्जा माग बढ्न थाले पनि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता अझै घट्न सकेको छैन । शुक्रबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ७७ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेक रकम हो । यसको अर्थ उक्त रकम बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्छन् । अधिक तरलता थुप्रिएसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) अनुपात औसत ७३ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ८५ प्रतिशत सीसीडी अनुपात कायम गर्नुपर्छ । सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सरकारको लक्ष्यअनुसार कात्तिकभित्रै राष्ट्र बैंकले ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनुपर्नेछ । जसमध्ये गत सातासम्म ३३ अर्ब रुपैयाँ उठाइसकेको छ । यस्तै हाल बजारमा अधिक तरलता व्यवस्थापन गर्न भन्दै राष्ट्र बैंकले निक्षेप संकलन औजारमार्फत ३० अर्ब रुपैयाँ बजारबाट झिकेको छ । तरलता धेरै भएपछि अन्तर बैंक कारोबार भने निकै न्यून छ । सोही कारण अन्तरबैंक ब्याजदर ०.२ प्रतिशत हाराहारीमा छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ । यो विभिन्न ३६ वटा ऋणीलाई राष्ट्र बैंकले सिधै प्रवाह गरेको पुनर्कर्जा हो । नयाँ व्यवस्थाअनुसार कुल पुनर्कर्जा कोषको ७० प्रतिशत रकम राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् । बाँकी ३० प्रतिशतमध्ये १० प्रतिशत राष्ट्र बैंकले सिधै लघुवित्त वित्तीय संस्थालाई दिन्छ । त्यसबाट बचेको २० प्रतिशत राष्ट्र बैंकले सिधै कर्जा प्रवाह गर्छ । उल्लिखित ५ अर्ब रुपैयाँ राष्ट्र बैंकले सिधै प्रवाह गरेको हो । बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउने ७० प्रतिशतका लागि आवेदन संकलन भइरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थामा १ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यससँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ४० खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?