डीडीसीका बटरमा आइस क्रिस्टल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीडीसीका बटरमा आइस क्रिस्टल

राजु चौधरी

काठमाडौँ — बालाजुस्थित दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजनामा मौज्दात बटरमा आइस क्रिस्टल र र बिक्री भइरहेका आधा लिटर प्याकका घिउमा सेतो ठोस पदार्थ फेला परेको छ । घिउमा भेटिएको सेतो ठोस पदार्थ जतिसुकै बढी तापक्रममा पनि नगलेको उजुरी परेको छ ।

बालाजुको वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात छ । उक्त बटर २५/२५ किलोको कार्टोनमा राखिएको छ । केही कार्टोनमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनी लेखिएको छ । तर उत्पादन मिति नोभेम्बर २०१९, डिसेम्बर २०१९ उल्लेख छ । ती बटरमा आइस क्रिस्टल भेटिएको हो । बटरमा आइस क्रिस्टल भेटिएपछि बलाजु प्लान्टले केन्द्रीय कार्यालयलाई प्रयोग गर्ने वा नगर्ने विषयमा निर्देशन गर्न भन्दै पत्र पठाएको छ ।

‘२०७७ भदौ ३ को पत्रका सम्बन्धमा सुजल डेरी प्रालि पोखराबाट प्राप्त भएको मख्खनको बीचको भागमा आइस क्रिस्टल देखिएको छ । मख्खन प्रयोग गर्न हालसम्म कुनै किसिमको निर्देशन प्राप्त नभएकाले उक्त मख्खन प्रयोग गर्न कठिनाइ भएकाले आवश्यक निर्णयका लागि अनुरोध गर्दछु,’ बालाजु वितरण आयोजना प्रमुख गोविन्दराज जोशीले केन्द्रीय कार्यालयमा पठाएको पत्रमा भनिएको छ ।

कार्टोनमा राखिएको बटरमा बीचबाट पाइपबाट तानेर आइसको ब्लक राख्न सकिने डीडीसी कर्मचारीहरू बताउँछन् । बिक्री गर्दा उपभोक्ताले उक्त कैफियत थाहा पाउँदैनन् । ‘बटर मापदण्डअनुसार भए/नभएको साइडबाट मात्रै काटेर परीक्षण गर्ने चलन छ ।बीच भागको पहिचान नै हुँदैन,’ डीडीसीका एक कर्मचारीले भने, ‘बटरमा आइस क्रिस्टल बढी हुँदा जति परिमाणमा घिउ आउनुपर्ने हो, त्यो परिमाणमा आउँदैन ।’ आयोजना प्रमुखले केन्द्रीय कार्यालयलाई पठाएको पत्रले पनि मापदण्ड नपुगेको पुष्टि गर्छ ।

यता सुजल डेरी प्रालिका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले भने दुर्ई/तीन लाख किलोमा एकाधमा यस्तो क्रिस्टल भेटिनु सामान्य रहेको बताए । ‘बटरमा २० प्रतिशत पानी हुन्छ, कहिलेकाहीँ ढुवानीका कारण पानी बाहिर निस्क्न सक्छ,’ उनले भने, ‘यस्तो कसरी भयो भन्ने थाहा छैन । तर उहाँहरूले हाम्रो एउटा सामानमा आइस क्रिस्टल देखिएको भन्नुभएको छ । त्यसको अध्ययन गर्नुपर्छ ।’ उनका अनुसार तापक्रम नमिले पनि समस्या हुन्छ । गुणस्तरमै समस्या भए डेरीको रोहवरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘गुणस्तरमा शंका भए काम नगरौं भनेका छौं,’ श्रेष्ठले भने, ‘बटरको तापक्रम मिलेन भने पनि समस्या हुन्छ । अब रेफ्रिजेरेटर भ्यानभन्दा बाहिर पठाउँदैनौं ।’ प्राविधिक हिसाबले बटरमा समस्या नभएको डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दाबी गरे । ‘बटरमा १८/२० प्रतिशत पानी नै हुन्छ । त्यसैले आइस क्रिस्टलले त्यति धेरै अर्थ राख्दैन,’ उनले भने, ‘पानी नै भएन भने त्यो चाहिँ गम्भीर हो ।’

बटरसँगै बालाजु प्लान्टबाट उत्पादित आधा केजी घिउको प्याकेटमा पनि समस्या देखिएको छ । आधा किलोको घिउमा सेतो ठोस पदार्थ भेटिएको भन्दै उजुरी परेको छ । घिउको गुणस्तरबारे उजुरी परेपछि लैनचौरस्थित दुग्धपदार्थ बिक्रीवितरण आयोजनाले घिउमा देखिएको समस्याबारे केन्द्रीय कार्यालयलाई पत्र पठाएको छ ।

‘बालाजु प्लान्टबाट उत्पादित घिउ बजार र डिस्ट्रिब्युटरबाट फिर्ता भई गुनासो प्राप्त भएको छ । गुनासोको विश्लेषण र समस्या पहिचान गरी गुणस्तर सुधार गरिदिन केन्द्रीय कार्यालयलाई पत्र पठाइएको छ,’ डीडीसी स्रोतले भन्यो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७५ सालमा दूध तथा दुग्धपदार्थको न्यूनतम गुणस्तर निर्धारण गरेको छ । खाद्य तथा दाना वस्तुहरूमा निर्धारित न्यूनतम अनिवार्य गुणस्तरअन्तर्गत घिउको मापदण्ड तयार गरेको छ । ‘घिउ भन्नाले कुनै रङ नहालेको र दूधबाट सिधै वा दूधको दही वा क्रिम वा मख्खनबाट तयार गरिएको चिल्लो पदार्थमा भएको सम्पूर्ण जलांश उड्ने गरी खारी स्वच्छ तुल्याइएको दूधको चिल्लो पदार्थ हुनुपर्ने,’ मापदण्डमा भनिएको छ । तर आधा लिटरमा समस्या देखिएपछि डिस्ट्रिब्युटरहरूले घिउको स्यााम्पल देखाउँदै फिर्ता गर्ने कुरा गरिरहेको स्रोतले बतायो । बिहीबार मात्रै चार जनाले उजुरीसमेत गरेको डीडीसीका एक अधिकारीले जानकारी दिए । ‘छामेर हेर्दा दानादाना जस्तो आएको छ । उपभोक्ताहरू प्याकेट नै लिएर आउने गरेका छन्,’ उनले भने, ‘हेर्दा छेक्राछेक्रा देखिन्छ । बजारमा गएको आधा लिटरको प्याकेटमा धेरै गुनासो आयो ।’

क्रिस्टलका सन्दर्भमा आफूहरूले अध्ययन गरिरहेको बालाजु प्लान्टका आयोजना प्रमुख जोशीले जानकारी दिए । ‘बजारमा मिसावट गरिएको पनि हुन सक्छ । त्यही भएर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा नमुना पठाएका छौं,’ उनले भने, ‘वैज्ञानिक प्रमाण चाहिन्छ, त्यही भएर अध्ययन गरिरहेका हौं ।’ जोशीका अनुसार घिउमा विभिन्न तत्त्व हुने भएकाले यो तेलजस्तो हुँदैन । घिउको प्रकृति नै जम्ने किसिमको हुने उनको भनाइ छ ।

डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले पनि घिउमा ठोस पदार्थ देखिएको र नपग्लिने गुनासो आएको बताए । गुणस्तरका विषयमा भने कुनै समस्या नभएको उनको दाबी छ । ‘प्रयोगशालामा परीक्षण गर्दा समस्या छैन । घिउ तताउँदा अलिकति कनिका जस्तो देखिएको छ,’ उनले भने, ‘तर गुणस्तरमा समस्या छैन । कुनै खराबी पनि छैन ।’ कुनै लटमा भैंसीको दूधको मात्रा बढी हुँदा त्यस्तो समस्या देखिन सक्ने डीडीसीको दाबी छ । ‘गुनासो गर्न आउँछन्, कतिपयलाई सम्झाएर पठाएका छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

कोराकले बेच्छ करोडका खसीबोका

केही वर्षअघिसम्म विकट गाउँका रुपमा परिचित थियो– कोराक । अहिले पनि अवस्थामा ठूलै परिवर्तन भएको छैन । आर्जनमा भने अगाडि बढेको छ ।
रमेशकुमार पौडेल

चितवन — कोराक चितवनको पहाडी गाउँ हो । चेपाङ र तामाङ समुदायको बसोबास भएको यहाँ अन्य जातिको फाट्टफुट्ट बसोबास छन् । अन्न राम्रो नफल्ने, यातायात पनि नपुगेको यो ठाउँ केही वर्षअघिसम्म विकट गाउँका रूपमा परिचित थियो ।

अहिले पनि अवस्थामा ठूलै परिवर्तन भएको छैन । तर आर्जनमा भने अगाडि बढेको छ । यो ठाउँमा बाख्रापालन फस्टाएको छ । बाख्रा बेचेर वर्षमा एक करोड रुपैयाँभन्दा धेरै गाउँ भित्रिन्छ ।

कोराक खहरेको कमिन चुली महिला बचत तथा ऋण सहकारी संस्थाले बाख्रापालनका लागि आफ्ना सेयर सदस्यलाई उत्प्रेरित गर्दै आएको छ । बाख्रा खरिद गर्न ऋण दिने, नश्ल सुधारका कार्यक्रम ल्याउने र खसीबोकाको बजार खोज्ने कामसमेत सहकारीले गर्दै आएको अध्यक्ष अम्बिका लामाले बताइन् । ६ वर्षअघि खुलेको सहकारीमा ८ सय ८५ जना सेयर सदस्य छन् । प्रायःका घरमा बाख्रा देखिन थालेको छ ।

गत वर्ष सहकारीले ९ सय ४४ वटा खसी बिक्री गरेको सहकारीकी व्यवस्थापक शान्ति तामाङ थियो । जसबाट एक करोड तीन लाख नौ हजार ६ सय ३७ रुपैयाँ बराबर आम्दानी भयो । ‘यो भनेको सहकारीमार्फत जजसले खसीबोका बिक्री गर्नुभयो, उहाँहरूको विवरण राख्दा देखिएको हिसाब हो । किसानले सिधै खसीबोका बिक्री पनि गर्छन् । त्यसैले गाउँबाट योभन्दा धेरै खसी बिक्री भएका छन्,’ व्यवस्थापक तामाङले भनिन् ।

सहकारी ६ वर्षअघि खुले पनि बाख्रापालनका क्षेत्रमा लगानी र कार्यक्रम गर्न थालेको दुई वर्ष जति मात्रै भएको छ । गत वर्ष खसीबोका जोखेर बिक्री गर्ने नियम बन्यो । यसले गर्दा किसानले उचित मूल्य पाउन थालेको अध्यक्ष लामाले बताइन् । ‘गत वर्षकै कुरो हो, एक जना किसानले नौवटा खसी व्यापारीलाई दिन लाग्दा ९० हजार रुपैयाँ दिन्छु भनेछ । यहाँ जोखेर बेच्दा त्यसको मूल्य एक लाख १४ हजार पर्‍यो,’ लामाले भनिन् ।

सहकारीबाट सुविधा हुन थालेपछि किसान बिक्रीका लागि सहकारी नै आउने बढेको उनको भनाइ छ । ‘नभए घरघरबाटै बिक्री हुन्थ्यो । अझै पनि हुन्छ । वर्षमा एक डेढ लाखदेखि चार लाख रुपैयाँसम्म खसी बोका बेचेरै कमाउँछन्,’ उनले भनिन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको खुरखुरे वा वीरेन्द्रनगरबाट उत्तर ११ किलोमिटर हिँडेपछि कोराक टेकिन्छ । गाउँमा १० वर्षयता बाटोघाटो विस्तार भएपछि बल्ल चहलपहल बढेको उनले बताइन् । ‘नभए सुविधा केही थिएन । उब्जनी हुन्थेन । मान्छेहरू पढेलेखेका थिएनन् । दुःख गरेर गुजारा गर्दथे । जागिर खाउँला थिएन । उही ज्यालामजदुरी गरेर चामल किन्ने खाने । नसके गिट्ठा भ्याकुरले गुजारा चलाउने न हो,’ लामाले भनिन् । बाटो गयो, पिच भयो त्यसपछि गाउँलेले टनेलमा तरकारी खेती र बाख्रापालन सुरु गरेको उनले बताइन् ।

सुरुमा स्थानीय जातका ससाना बाख्रा थिए । घामपानी ओत्ने छाप्रो बनाएर बाख्रा बाँध्ने चलन थियो । ‘अहिले विकासे जातका बाख्रा अनि बोका गाउँमा छन्,’ लामाले भनिन् । गाउँ पस्ने गाडीले खसी र तरकारी बोक्न थालेका छन् । कोराक खहरेका दिलबहादुर चेपाङ घर बनाउने काम गर्न जिल्ला बाहिर जान्छन् । विदेश पनि गएर आए । श्रीमती मनमाया चेपाङले भने राम्रो खोर बनाएर बाख्रापालन गरेकी छन् । ‘अब विदेश गएर कमाएको जस्तो टन्न त के हुन्थ्यो र तर बाख्रा राम्रोसँग पाल्दा काम गर्न विदेश नै जाऊँ भन्ने हुँदो रहेनछ । आम्दानी चित्तबुझ्दो नै छ,’ दिलबहादुरले भने । खहरेकै युवराज मोक्तान पनि विदेशबाट फर्केर अहिले घरमै छन् ।

‘विदेशमा महिनाको ६० हजार कमाइ हुन्थ्यो । तर उमेर ढल्कँदै गयो । सधैं विदेश बस्न नसकिने । घर फर्केर दुई वर्षयता बाख्रा पाल्न थालेको छु,’ युवराजले भने । उनको खोरमा १४ वटा बाख्रा छ । गत वर्ष उनले सवा लाख रुपैयाँ जतिको खसीबोका बिक्री गरे । यो वर्ष पनि १० वटा खसी छन् । बाख्रा पालेसँगै तरकारी खेती र अन्य जंगलले घेरिएको ठाउँ भएको हुँदा चराउन र घाँस जुटाउन गाह्रो छैन । बाख्रा पाल्न थालेपछि महिलासँग पुरुष पनि मिलेर आम्दानीको काम गर्न थालेको सहकारी अध्यक्ष लामा बताउँछिन् ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×