‘क्लिन फिडको निर्देशन स्वागतयोग्य’

कान्तिपुर संवाददाता

काठमाडौँ — कात्तिक ७ देखि क्लिन फिड लागू गर्न निर्देशन दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिको नेपाली मिडिया क्षेत्रले स्वागत गरेको छ ।

‘क्लिन फिडको निर्देशन स्वागतयोग्य’

‘वर्तमान सरकार बनेपछि हाम्रो विशेष पहल र सरकारको तदारुकतामा विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा क्लिन फिड नीति लागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेकामा नेपाल मिडिया सोसाइटी, अक्युराव र बानलगायत मिडियासम्बन्धी संघसंस्थाले हार्दिक स्वागत गरेको स्मरणसमेत गराउन चाहन्छौं,’ नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारण संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री रहँदा २०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलले क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । ‘संयोगले अहिले क्लिन फिड नीति लागू गर्न निर्देशन जारी गर्ने बेला पनि प्रधानमन्त्रीका अतिरिक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री केपी शर्मा ओली नै हुनु र उहाँकै विशेष अग्रसरतामा क्लिन फिड नीति आगामी कात्तिक ७ बाट बाध्यकारी रूपमा लागू गर्नैपर्ने निर्देशन जारी हुनु एक सुखद क्षण हो,’ विज्ञप्तिमा भनिएको छ ।

ऐन कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले सरोकारवाला संस्थासँगको परामर्श लिएर तथा विज्ञापन ऐनमा रहेका कतिपय अस्पष्टतालाई नियमावलीबाट स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित : आश्विन ३०, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?