आएनन् तिब्बती च्यांग्रा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

आएनन् तिब्बती च्यांग्रा

माग बढ्यो, उत्पादन कम भयो, जसकारण बजारमा मूल्य अकासिएको छ
घनश्याम खड्का

म्याग्दी — दसैं सँघारमा छ । यो पर्वलाई लक्ष्य गरी मुस्ताङबाट बर्सेनि भेडाच्यांग्रा बागलुङ, पर्वत, कास्कीलगायत जिल्लामा ल्याइन्थ्यो । पछिल्लो समय काठमाडौं, चितवन, बुटवललगायत क्षेत्रमा पनि लैजान सुरु भएको थियो ।

यस पटक भने च्यांग्रा निकै कम मात्रामा झरेका छन् । यसले मूल्य अकासिएको छ । आपूर्ति घटेपछि बढी मूल्य हुँदा सामान्य परिवारले मुस्ताङी च्यांग्राको मासु खान नसक्ने अवस्था आएको छ । च्यांग्राको मासु नखाएसम्म दसैं खल्लो हुने सर्वसाधारणको गुनासो छ । मुस्ताङको च्यांग्रासमेत हेर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अभिलेखअनुसार यो वर्ष मुस्ताङबाट दसैं बजार लक्षित गरी जम्मा ६ हजार २ सय खसी जिल्लाबाहिर गएका छन् ।

संघ तथा प्रदेश सरकारले परियोजनालाई दसैं लक्षित बजार पठाइने च्यांग्राको क्वारेन्टाइन (स्वास्थ्य परीक्षण) गर्ने जिम्मेवारी दिएको छ । ‘बजार लैजान लागिएका खसीको ज्वरो, झोक्राउने, खाना नखाने, छेरौटे लागेकोलगायत रोग लागे/नलागेको परीक्षण गरी पठाउने गरेका छौं,’ परियोजना प्रमुख समीर थापाले भने, ‘यो वर्ष ६ हजार २ सय खसी हाम्रो चेकपोस्टमा अभिलेख गरी तल लगिएको छ । सबै च्यांग्रा यहाँ रहँदा स्वस्थ्य छन् ।’ यसअघि पोखरामा मात्रै ३० हजार हाराहारीमा च्यांग्रा लगिन्थ्यो । मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा च्यांग्रा पाल्ने गरिन्छ । यो वर्ष लोमान्थाङबाट २ हजार र लोघेकर दामोदरकुण्डबाट १५ सयको हाराहारीमा च्यांग्रा तल झारिएको छ । दसैंमा मुस्ताङबाहेक डोल्पाको छर्काभोट, मुगुबाट केही र तिब्बतको कोरला नाकाबाट धेरै खसी ल्याउने गरिन्थ्यो । पहिलापहिला तिब्बतीहरू आफैंले खसी लिएर बेच्न आउँथे । पछिल्ला वर्ष लोमन्थाङ क्षेत्रका व्यापारीले तिब्बती च्यांग्रा एकमुष्ट खरिद गरी ल्याउने गर्न थालेका थिए ।

कोरोना महामारीका कारण कोरला नाका सिल हुँदा तिब्बतबाट एउटै च्यांग्रा नआएको, मुगु र डोल्पाली पनि च्यांग्रा कम भित्रिएको र मुस्ताङमा उत्पादन ह्वात्तै घटेकाले यस पटक कम भएका हुन् । अघिल्लो वर्ष डोल्पाबाट ३ हजार र कोरला नाकाबाट १० हजार तिब्बती च्यांग्रा भित्रिएका थिए । दुई वर्षअघि लामो समयसम्म अधिक भारी हिमपातमा पुरिएर उपल्लो मुस्ताङमा आठ हजारभन्दा बढी भेडाच्यांग्रा मरेका कारण यो वर्ष उत्पादन घटेको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएका छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्

त्रिपालमुनि सास्ती झेल्दै मराङका पहिरोपीडित

घनश्याम खड्का

मराङ (म्याग्दी) — धौलागिरि गाउँपालिका–६ मराङको पन्थोकस्थित भलिबल मैदानको डिलमा लस्करै त्रिपालले बेरिएका पाँचवटा टहरा छन् । तिनमा न ढोका छ न झ्याल । कसैले छानोमा जस्तापाता राखेका छन्, कसैले त्रिपालले नै छोपेका छन् । उनीहरू पल्लो रिख टोलमा आएको पहिरोले घर बगाएपछि सुरक्षित थलो खोज्दै यहाँ आएका हुन् ।

रिख टोलका भीमप्रसाद जुग्जालीले पहिरोमा श्रीमती, बुहारी, नाति र नातिनी गुमाए । असार २६ देखि त्यही मैदानमा त्रिपाल टाँगेर छोराहरू पुरन र सुमन तथा छोरी बिर्सनासँग बस्दै आएका छन् ।

‘पहिरोले जहान परिवार र घरसम्पत्ति पुरे पनि आशा पुरेको छैन । सरकारले कहीँ घर त बनाइदेला, कुटोकोदालो गर्ने बारी यहीँ छँदै छ,’ उनले भने ।

छेवैको अर्को छाप्रोमा भीमप्रसादका भाइ धनबहादुर, उनका छोराछोरी र बहिनी बस्छिन् । पहिरोले धनबहादुरको पनि घरसमेत श्रीमती, एक छोरा र छोरी पुरेको थियो । रिखका आठमध्ये पाँच घर पहिरोले पुरेको थियो ।

‘पीडाको बेला कसरी चाडपर्व मनाउनु छ र ? छोराछोरी साना छन्, गाउँमा अरूले रमाइलो गर्दा, नयाँ लगाउँदा यिनको मन कसरी बहलाउँला भन्ने चिन्ता लागेको छ,’ उनले भने, ‘सरकारले सहयोग गरे त्यहीँ बारीको छेउमा छाप्रो हालेर केटाकेटीलाई राख्न हुन्थ्यो ।’

मराङ बेंसीको अर्को पाखोमा पनि पहिरो प्रभावितहरू त्रिपाल टाँगेर बसेका छन् । तिनैमध्येको एउटामा गोरे गर्बुजाको सात जनाको परिवार छ । एउटा कुनामा ८–१० वटा कुखुरा पनि अटेका छन् । एक जनाले कपडा फेर्नुपर्दा परिवारका सबै सदस्य बाहिर निक्लनुपर्ने बाध्यता छ । सास्ती बढेपछि गोरेले नजिकै स्थानीयको पिंढी मागेर छोराबुहारी र अर्को एक घरको पिंढीमा साना छोराछोरी राखेका छन् । खाना सगोलमै खान्छन्, सुत्न मात्र बाहिर जान्छन् । छाप्रोमा बिजुली पनि छैन ।

मराङको टुप्पोमा पर्छ, राम्चे बस्ती । गुजुप्प परेको बस्तीमा लाम्गादे, सुनार र सिर्पाली गरी तीन परिवारका ९ जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

अहिले बस्तीछेउकै पाखोमा त्रिपालले बेरेको छाप्रोमा जस्तापाताले छाएर बसेका छन् पीडितहरू । यिनै विस्थापितमध्येकी हुन्, चनमती लाम्गादे कामी । जेठी बुहारीसँगै नाति र नातिनी गुमाएकी चनमतीका कान्छा छोराबुहारी अर्को घरमा बस्ने भएकाले बाँचे । घाइते अवस्थामा उद्धार गरिएकी कान्छी बुहारी सात महिनाकी गर्भवती थिइन् । गर्भ नजोगिए पनि बुहारीको ज्यान जसोतसो जोगिएको छ ।


मृत्युपछि आएको राहतले ऋण भुक्तानी

चनमतीको छाप्रोछेउमै बस्छिन्, राजमती सिर्पाली । उनका जेठो छोरा मनबहादुर, बुहारी, नाति र नातिनी गरी चार जनाले ०७६ असार २६ गतेको पहिरोमा ज्यान गुमाए । मनबहादुर रोजगारीका लागि दुई वर्षअघि मलेसिया पुगेका थिए । तर, राम्रो काम नभएपछि बेखर्ची भएर घर फर्के ।

विदेश जाँदा स्थानीय जनजागृति उपभोक्ता सहकारीबाट एक लाख रुपैयाँ ऋण झिकेका थिए । त्यो ऋण अझै ५० हजार बाँकी थियो । मनबहादुरले लिएको ऋण उनको मृत्युपछि उनकै नाममा आएको राहतबाट भुक्तानी गरिएको छ । आमा राजमतीले सरकार र विभिन्न दाताले दिएको राहतबाट छोराको ऋण तिरिदिएकी हुन् ।

‘छोराको परिवारै पहिरोमा सकियो । सहकारीमा उसको नामको ऋण थियो । तिरिदिएँ, अब उसको आत्माले शान्ति पाउनेछ,’ मजेत्रोको सप्कोले आँसु पुछ्दै उनले भनिन्, ‘त्यही दिन टीकाटालो गरी भित्र्याएकी बुहारी पहिरोले कम्मरको हाड भाँचिएर घाइते छ । कसरी खाली, पीर लाग्छ ।’

एकीकृत बस्तीको पहल

संघीय सरकारले मृतकका परिवारलाई दुई लाख र एकै परिवारमा एकभन्दा बढी मृतक भए संख्याअनुसार थप एक–एक लाख राहत दिएको छ । बेपत्ताका परिवारलाई पनि मृतकसरह राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धौलागिरि गाउँपालिकाको ६ नम्बर वडा कार्यालयका अनुसार सरकारी राहतबाहेक विभिन्न व्यक्ति, संघ/संस्थाबाट प्राप्त रकमबाट मृतकका परिवारलाई ३ लाखभन्दा बढी नगद र घर पूर्ण क्षति भएका परिवारलाई ६५ हजारसम्म थप उपलब्ध गराइएको छ । पहिरोले मराङ र बिमका विभिन्न बस्तीमा गरी १४ परिवारका ३१ जनाको ज्यान गएको थियो ।

‘नगद, खाद्यान्नसमेतका राहत सामग्री पीडितको वर्गीकरण गरी सोहीअनुसार वितरण गरेका छौं । सरकारबाट प्राप्त नगद राहत बैंक र अन्य राहतलाई स्थानीय सहकारीमा खाता खोल्न लगाई जम्मा गर्न लगाइएको छ,’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘टहराको वास छ, लुटपाटको जोखिम हुने ठानेर अत्यावश्यकबाहेकको पैसा साथमा नराख्न भनेका छौं ।’


पहिरोले घर नभत्किएकाहरू वर्षा रोकिएर गाउँ फर्कन थालेपछि घरबास बगाएकाहरू नियास्रो मान्न थालेका छन् । ‘पालकै वास भए पनि छिमेकी थिए । आलो–पालो टहरा कुर्थ्यौं, अब घर भएकाहरू पहिरो पन्छाएरै पनि फर्के । हामी कहाँ जाने ? यहाँ बस्न कता–कता डर लाग्न थालेको छ,’ चनमतीले भनिन् ।

पहिरोले प्रभावित मराङका बस्ती स्थानान्तरण गर्न धौलागिरि गाउँपालिकाले एकीकृत बस्ती विकासको सम्भावना र पुनःस्थापनाको सम्भावना खोज्न थालेको छ ।

‘बस्नै नहुने बस्ती स्थानान्तरण गर्ने, बस्ती बसाउन योग्य सुरक्षित जग्गाको पहिचान गर्ने, भएका बस्ती संरक्षण गरी विस्थापितलाई पुरानै स्थानमा पुनःस्थापना गर्ने सम्बन्धमा अध्ययन गरिरहेका छौं । प्रभावित क्षेत्रमा सुझाव मागेका छौं,’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन् ।

प्रकाशित : आश्विन २१, २०७७ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×