कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

व्यवसाय सिकाउँदै पूर्वमन्त्री

स्वास्थ्य र पर्यटनमन्त्री भइसकेका तत्कालीन माओवादी नेता लोकेन्द्र विष्ट मगर अहिले अन्य नेतालाई कृषि व्यवसाय सिकाइरहेका छन्

दाङ — राजनीति अपराधीकरण, महँगो र नबुझिने भयो भन्ने निष्कर्षसाथ पार्टीबाट राजीनामा दिएर हिँडेका तत्कालीन माओवादी केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगर अहिले ड्रागन फ्रुट खेतीमा तल्लीन छन् । जीवनका चार दशक राजनीतिमा खर्चेका विष्ट अहिले कृषिकर्ममार्फत आर्थिक समृद्धिका बाटामा छन् ।

व्यवसाय सिकाउँदै पूर्वमन्त्री

उनको कर्म हेर्न अहिले विभिन्न जिल्लाका नेता दिनहुँजसो दाङ आइरहेका छन् । ड्रागन खेती हेर्न आएका नेतालाई विष्ट कृषि व्यवसाय गर्न सिकाइरहेका छन् । कोही सिकेरै फर्किरहेका छन् त कोही प्रेरणा लिएर गएका छन् ।

विष्टसँगै युद्धकालमा माओवादीमा काम गरेका नेकपा प्यूठानका सचिव कृष्ण अधिकारी सोमबार विष्टको ड्रागन खेती हेर्न तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी पुगे । विष्टले गरेका काम हेरे । उनले राजनीति छोड्नुका कारण बुझे र कृषिकर्मका उद्देश्य पनि थाहा पाए । ‘कागज र कुरामा खेती गर्न निकै सजिलो छ । धर्तीमा खेती गर्न कठिन छ,’ विष्टले अधिकारीलाई सुनाए, ‘यहाँ धेरैले कागज र कुरामै खेती गर्छन् । अब धर्तीमा खेती गर्ने मान्छे चाहिएको छ ।’ उनले अहिलेसम्म २५ क्विन्टल ड्रागन फ्रुट बेचिसकेका छन् । अझै धेरै माग रहेको तर पुर्‍याउन नसकेको उनले बताए ।

‘खाने मुख धेरै भए, उत्पादन गर्ने कम भए अनि कसरी पुग्छ ?’ विष्टले भने, ‘नेताहरूले सधैं राजनीति मात्रै गर्नुपर्छ भन्ने छैन । आर्थिक उपार्जनका काम पनि गर्नुपर्छ ।’ १६ वर्षअघि आफू पार्टीको कृषि तथा सहकारी विभागको इन्चार्ज हुँदा व्यक्तिगत रूपमा १३ हजार रुपैयाँमा ड्रागन फ्रुटका बिरुवा किनेर धेरै नेतालाई बाँडेको विष्टको भनाइ छ । ‘मैले अब केही उत्पादनका काम गर भनेर दिएको हो तर कसैले पनि लगाएनन् । सबैले बिरुवा बाटामा फुटबल खेलेझैं लात्तीले हानेर फालेछन्,’ उनले भने, ‘अहिले तिनै नेता बिरुवा माग्न आइरहेका छन्, झपार्दै फेरि सिकाइरहेको छु ।’ नेकपा प्यूठानका अध्यक्ष तुलसीराम शर्मा, प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपति र प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी पनि विष्टको खेती हेर्न पुगे । सबैले विष्टका राजनीतिक र आर्थिक तर्क सुने । ‘राजनीतिज्ञले कृषि व्यवसाय पनि गर्न सकिँदोरहेछ भन्ने सन्देश पाइएको छ । यसले हामीलाई हौसला थपेको छ,’ नेकपा प्यूठानका अध्यक्ष शर्माले भने, ‘कृषि किसानहरूको मात्रै काम होइन, आर्थिक स्तर सुधार्न जसले पनि गर्न सकिन्छ । कृषिलाई व्यवसाय बनाउन सकिन्छ ।’

विष्टका कामले धेरै नेतालाई पाठ सिकाएको प्यूठान नगरपालिका प्रमुख कक्षपतिले बताए । नेकपा सांसद गंगा चौधरी पनि केही दिनअघि विष्टको खेती हेर्न पुगिन् । कोही न कोही नेता खेती हेर्न आइरहने गरेको उनको भनाइ छ । पार्टीभित्र हुँदा केही न केही इलम गर्नुपर्नेबारे आवाज उठाए पनि सुनुवाइ नभएको उनको धारणा छ । ‘मैले नेताहरूलाई राजनीतिमा ठेक्कापट्टा भयो, अपराध र राजनीतिबीच दूरी रहेन भनेर धेरै सम्झाएँ । सुधार गर्न खोजेँ तर मेरो कुराको कुनै सुनुवाइ भएन,’ उनले भने, ‘अगाडि लागेको नेताले नगरेपछि पछि लाग्ने कार्यकर्ताले पनि गर्ने कुरा भएन अनि सबै मागी खाने भए । काम कोही नगर्ने भए ।’ विष्ट पार्टीको उच्च तहसम्म पुगे, सांसद र मन्त्री भए । स्वास्थ्य र पयर्टनमन्त्री भएर सुखसुविधा पनि पाए तर पनि उनलाई नेताहरूको शैली चित्त बुझेन । अन्त्यमा राजीनामा बुझाएर स्वैच्छिक अवकाश लिए । चार वर्षदेखि विष्ट कृषिकर्ममा छन् ।

५६ वर्षीय विष्ट राजनीति आजीवन नहुने तर्क गर्छन् । ‘राजनीति आवधिक हुन्छ, आजीवन हुँदैन । सधैँ एउटैले गरिरहनुपर्छ भन्ने छैन । निश्चित समयपछि बुढा नेताहरू संरक्षक भएर अरूलाई अवसर दिनुपर्छ,’ उनले भने, ‘राजनीति आजीवन भयो भने विकृति बढ्छ । अहिले यही कारण राजनीति फोहोरी भयो, घुसखोरी र भ्रष्टाचारले डुबायो ।’

राजनीतिमा विकृति आयो, जनतालाई धोका भयो भनेर तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष कुरा राख्दा आफूलाई विरोधी ठानिएको उनले बताए । २०७२ साउनमा पार्टीमा राजीनामा बुझाएर आएदेखि उनी पार्टीका कुनै गतिविधिमा संलग्न छैनन् । उनको पूरै ध्यान ड्रागन खेतीमै छ । रुकुमको मुरुमा जन्मिएका विष्ट राजनीतिका क्रममा चारपटक गरी १० वर्ष जेल बसे । राजनीतिमा भुक्तभोगी भएपछि अन्तमा कृषिमा लागेको उनले बताए । बिजौरीमा ६६ कट्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर उनले ड्रागन खेती गरिरहेका छन् । रातो र सेतो ७ हजार ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । यस वर्ष उनले फल बेचे । रातो ८ सय र सेतो ७ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको विष्टको भनाइ छ । ‘चाख्दैमा सकिएको छ । सबैले चाख्न खोजेका छन् । बाहिर पठाउनै सकिएको छैन,’ उनले भने, ‘स्वास्थ्यका लागि फाइदाजनक भएकाले धेरै माग छ । १० वर्ष बढी यही बिरुवाबाट उत्पादन हुन्छ । बजार पनि ढुक्क छ ।’ यो सिउँडी प्रजातिको फल हो । यसबाट जाम, वाइन, चकलेट, बिस्कुट, पाउडर, फेसवासलगायत सामग्री बनाउन सकिने विष्टले बताए ।

प्रकाशित : आश्विन २८, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?