कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुनसान मनास्लु

लकडाउनको ६ महिनामा बहराइनका राजकुमारसहितका १९ विदेशी मात्र मनास्लु क्षेत्र पुगे
हरिराम उप्रेती

गोरखा — पदमार्गमा पर्यटक छैनन् । होटलहरू सुनसान छन् । अहिले पर्यटकीय सिजनै हो । कोरोना महामारीले अन्यत्र जस्तै मनास्लु क्षेत्रको व्यापार व्यवसाय पनि धाराशायी छ । लकडाउनको ६ महिनाको अवधिमा वहराइनका राजकुमारसहितका १९ विदेशी मात्र मनास्लु क्षेत्र पुगेका छन् । पर्यटक आवागमन घट्दा लाखौँ लगानी गरेका होटल सञ्चालक निराश छन् ।

सुनसान मनास्लु

लकडाउनयता एक जना पनि पाहुना राख्न नपाएको चुमनुब्री गाउँपालिका–५ बिहीस्थित वुरमा होटल सञ्चालक मिङगुर दोर्जेले बताए । ‘तीन वर्ष भयो होटल खोलेको, ५०–५५ लाख लगानी छ,’ उनले भने, ‘दुई वर्ष कमाइ राम्रै थियो, लकडाउनपछि ठप्प भयो । लगानी खेर जाने भयो ।’ प्रत्येक दिन ३० देखि ४० जनासम्म पाहुना राख्न सक्ने क्षमताको होलटबाट दोर्जेले एक सिजनमा ५/७ लाख कमाउँथे । ‘अहिले काम पनि छैन, कमाइ पनि छैन,’ उनले भने । भाडाको घरमा होटल गर्नेको अवस्था झनै नाजुक बनेको उनले बताए । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुला गरेयता बर्सेनि पर्यटकको संख्यासँगै होटल खुल्ने क्रम पनि बढेको थियो ।

मनास्लु पदमार्गअन्तर्गतका पर्यटकले भरिभराउ हुने माछाखोला, जगत, फिलिम, सामागाउँ, नाम्रुङ, छेकम्पारका झन्डै १ सय १० होटल कोरोना महामारीले सुनसान छन् । होटल व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आएको जगतका होटल व्यवसायी तथा मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले बताए । ‘होटल सञ्चालनका लागि बैंकबाट लिएको किस्ता रकमसमेत तिर्न नसक्ने अवस्था छ,’ उनले भने, ‘यतिका लगानी डुब्ने भयो, राज्यले पनि हेरिदिनुपर्ने हो, बैंकको ब्याजसम्म तिर्न नसक्ने अवस्थामा रुमल्लिएका छौँ ।’

मनास्लु क्षेत्रमा २०६८ सालबाट होटल खुल्ने क्रम बढेको हो । जोखिमको डरले पनि होटल खुल्ने अवस्था नरहेको कार्कीले बताए । उत्तरी गोरखावासीको पर्यटन व्यवसाय नै मुख्य आयआर्जनको स्रोत हो । ‘खेती हुँदैन, टुरिस्टको भरमा जीविका धानेका थियौँ, नुन, तेल, चामल सबै किनेर तलबाट ल्याउनुपर्छ,’ उनले भने, ‘अहिले नेपाली पर्यटकको पनि ओहोरदोहोर छैन, तलबाट किनेर ल्याउन पनि पैसा चाहिन्छ, कमाइ नभएपछि अबका दिनमा झनै गाह्रो हुने देखेका छौं ।’

गत वर्ष अक्टोबर लागेपछि दैनिक डेढ सयदेखि दुई सयसम्म पर्यटक मनास्लु क्षेत्र भित्रन्थे । अघिल्लो अक्टोबर महिनामा २ हजार ६ सय ७० र नोभेम्बरमा १२ सय १९ पर्यटकले भ्रमण गरेका थिए । यस वर्षको भदौमा बहराइनका राजकुमारलाई मनास्लु आरोहणमा सघाउन आएका ७५ नेपालीले मात्र उक्त पदमार्ग भएर यात्रा गरेका छन् । मनास्लु आरोहणका लागि आएका १९ विदेशी हेलिकप्टरमार्फत सिधै सामागाउँ पुगे ।

सन् २०१९ मा ७ हजार ५ सय ५५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । २०२० को ९ महिनाको अवधिमा ३ सय ६९ विदेशी मात्र मनास्लु क्षेत्र आएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताए । ‘पर्यटक नआउँदा सबैभन्दा बढी बिचल्लीमा होटल व्यवसायी परेका छन्,’ उनले भने । उपभोग्य सामानको अभाव हुने खतरा बढेको लामाले बताए । ‘कमाइ छैन, खरिद पनि कसरी गर्ने, तिब्बतमा यार्सागुम्बालगायतको जडीबुटी व्यापार हुन्थ्यो, उत्तरी नाका बन्द हुँदा जडीबुटीको व्यापार पनि हुन सकेन, यसले स्थानीयको आम्दानीमा ठूलो असर पुर्‍याएको छ,’ लामाले भने ।

प्रकाशित : आश्विन २६, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?