२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फल्ने बेलाको अलैंची सुक्यो

आश गुरुङ

लमजुङ — क्व्होलासोंथर गाउँपालिका ३, बगुमका गमबहादुर घलेको बगानमा अलैंची फल्न थालेको ३ वर्ष भयो । तर, बगानको अलैंची सबै सुकेर यस वर्ष आम्दानी दिएन ।

फल्ने बेलाको अलैंची सुक्यो

करिब २५ रोपनीमा लगाएको अलैंची सबै सुकेको उनले बताए । ‘अलैंचीको पात र डाँठ सुकेको छ । फल लागेन,’ उनले भने, ‘मेरो मात्रै होइन, समूहमा र व्यक्तिगत रूपमा अलैंची लगाएका सबैको समस्या उस्तै हो ।’

स्थानीयले घले उत्तरकन्या अलैंची समूह गठन गरी ०७२ सालदेखि खेती थालेका थिए । समूहका सचिवसमेत रहेका घलेका अनुसार २१ किसानले करिब २ सय रोपनीमा सामूहिक अलैंची खेती गरेका छन् । केही वैदेशिक रोजगारीबाट आएका र केही गाउँमै खेतीकिसानी गरिरहेकाहरू छन् ।

समूहले गत वर्ष ७ क्विन्टल अलैंची उत्पादन गरेको थियो । यस वर्ष करिब २० क्विन्टल अलैंची उत्पादन गर्ने प्रक्षेपण गरेको थियो । अलैंची दाना लाग्ने बेलादेखि पात र डाँठ सुक्न थालेको किसान बेलराम घलेले बताए । ‘मौसम राम्रो थियो । सुरुमा राम्रै थियो । फल लाग्ने बेलादेखि बिग्रियो,’ उनले भने, ‘४/५ क्विन्टल पनि हुन्छ या हुँदैन, थाह छैन ।’ उनले १५ रोपनीमा अलैंची खेती गरेका छन् । ‘वर्षमा तीनपटक गोडमेल गरेकै हो । चैतमा सुकेका पात फाल्यौं । जेठ र साउनमा गोलमेल गर्‍यौं । पात र डाँठ सबै मर्‍यो,’ उनले भने । गत वर्ष करिब डेढ क्विन्टल अलैंची उत्पादन भएकोमा यस वर्ष आधा क्विन्टल पनि फल्नेमा ढुक्क नरहेको उनले बताए ।

मर्स्याङ्दी गाउँपालिका ७, ताराचोक, सेरा क्षेत्रमा पनि अलैंचीमा पात र डाँठ सुक्ने समस्या छ । किसान डम्मरसिंह अधिकारीका अनुसार सेराका किसानले लगाएको प्रायः अलैंचीमा पात र डाँठ सुक्ने समस्या छ । अलैंचीमा रोग लागेको बारे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) लाई जानकारी गराए पनि प्राविधिकहरू आइनसकेको उनले बताए ।

अलैंची जोनका निमित्त प्रमुख हरिबहादुर मिजारका अनुसार किसानले अलैंचीमा देखिएको समस्याबारे जानकारी गराएका छन् । तर सवारीसाधन मर्मतमा रहेकाले किसानको खेतमा पुग्न सकिएको छैन । ‘अलैंची जुन रूपमा स्याहार गर्नुपर्ने हो, त्यो पुगेको छैन । बोट पुरानो भएकाले पनि रोगाएको हो,’ कृषि अधिकृतसमेत रहेका उनले भने ।

मिजारका अनुसार अलैंचीमा केही नयाँ रोग देखिएका छन् । डढुवा तथा गानो कुहिने रोगहरू छन् । ‘हामीसँग स्याम्पल लिएर चेक गर्ने कार्यक्रम छैन । न त हामीसँग ल्याब छ । सबै प्रदेशले गर्छ,’ उनले भने, ‘हामीले अलैंचीमा लाग्ने रोग र यसबाट बच्ने उपाय भने किसानलाई सिकाएका छौं ।’

लमजुङमा १ हजार ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । गत वर्ष २ सय मेट्रिक टन (२ हजार क्विन्टल) अलैंची उत्पादन भएको थियो ।

प्रकाशित : आश्विन २५, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?