कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोरजीमा असफल बन्दै टेलिकम

देशका प्रायः जिल्लामा फोरजी सेवा पुगेको तथ्यांक देखाइए पनि एक वर्षमा टेलिकमले ४३ हजार मात्रै ग्राहक थपेको छ
विजय तिमल्सिना

काठमाडौँ — गत वर्ष असोज १५ मा नेपाल टेलिकमको फोरजी सेवाको सफ्ट लन्च गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सेवाको सुरुवातले डिजिटल अर्थतन्त्र निर्माणको युगमा फड्को मारेको दाबी गरेका थिए । टेलिकमले ६० वटा सहरमा फोरजी सेवा विस्तार गरेपछि प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै सेवा सुरुवातको घोषणा गरेका थिए ।

फोरजीमा असफल बन्दै टेलिकम

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पूर्वनिर्धारित योजनाहरू समयमै नसक्नु जनतालाई सेवाबाट वञ्चित गर्नु हो र विकासलाई पछि पार्नु हो । त्यसैले ढिलासुस्ती कुनै पनि सर्तमा स्वीकार्य हुँदैन ।’ तर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेको एक वर्षसम्म टेलिकमको फोरजी परियोजना पूरा भएको छैन । नयाँ उपभोक्ता बनाउन पनि कम्पनी असफल देखिएको छ । प्रधानमन्त्रीले सफ्ट लन्च गरेको एक वर्षसम्म पनि कम्पनीका फोरजी ग्राहक जम्मा ५ हजार मात्रै थपिएका छन् । कम्पनीले १९ अर्ब रुपैयाँ खर्चेर सुरु गरेको फोरजी परियोजनाले डेढ वर्षमा पनि प्रगति देखाउन सकेको छैन । देशका आधाभन्दा बढी जिल्लामा फोरजी सेवा पुगेको तथ्यांक देखाइए पनि एक वर्षमा टेलिकमले फोरजी ग्राहक ४३ हजार मात्रै थप गर्न सकेको छ । जब कि टेलिकमको प्रतिस्पर्धी निजी क्षेत्रको एससेलले एकै वर्षमा ८ लाखभन्दा बढी फोरजीका ग्राहक बनाएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणको तथ्यांकअनुसार असार मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक संख्या ८ लाख ४३ हजार छन् । एनसेलका यस्ता ग्राहक ३७ लाख ४६ हजार छन् । असार मसान्तसम्म फोरजी सेवाका कुल उपभोक्ता ४७ लाख ९४ हजार भएको प्राधिकरणको तथ्यांक छ । यो तथ्यांकमा स्मार्ट टेलिकमका २ लाख ३१ हजार फोरजी ग्राहक पनि समावेश छन् ।

टेलिकमले एक वर्षभित्र सबै जिल्लामा फोरजी सेवा पुर्‍याउने गरी २०७५ माघमा सम्झौता गरेको थियो । सम्झौता गरेको डेढ वर्ष पुग्दा पनि टेलिकमका फोरजी ग्राहक संख्या बढ्न सकेका छैनन् । टेलिकमको फोरजी सेवा ६० जिल्लामा पुगेको भन्दै प्रधानमन्त्री ओलीले गत वर्ष असोज १५ मा फोरजी सेवाको सफ्ट लन्च गरेका थिए । त्यसयता फोरजीका ५ हजार मात्रै ग्राहक बढेका छन् । २०७६ असारमा टेलिकमका फोरजी ग्राहक ८ लाख मात्रै थिए । थ्रीजी सेवातर्फ टेलिकमका ग्राहक ८६ लाख २६ हजार छन् । एनसेलको थ्रीजी ग्राहक २९ लाख ६३ हजार मात्रै छन् । फोरजी विस्तार गरिरहेको टेलिकमको थ्रीजी ग्राहक भने उल्लेख्य बढेका छन् ।

गत वर्ष असारमा थ्रीजी ग्राहकको संख्या ७३ लाख २१ हजार रहेकामा टेलिकमले एक वर्षमा थ्रीजी सेवातर्फका ग्राहक १३ लाखले बढाएको हो । गत वर्ष असारसम्म एनसेलको थ्रीजी सेवाका ग्राहक ३८ लाख ३८ हजार थिए । एक वर्षमा थ्रीजी सेवाका ग्राहक गुमाएको एनसेलले फोरजीतर्फका ग्राहक भने उल्लेख्य बढाएको छ । टेलिकमले २०७५ माघ २० मा चिनियाँ कम्पनी सीसीएसआई र जेडटीईसँग १९ अर्ब रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ छ । हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (र्‍यान) एवं जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन् । टेलिकमका टावरबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ ।

ग्राहकको फोनबाट टावरसँग सम्पर्क गराउने काम रेडियो एक्सेस नेटवर्कले गर्छ । कोर नेटवर्क विस्तारको काम दुई चरणमा बाँडिएको छ । पहिलो चरणको कामका लागि ८ खर्ब ७५ करोड २६ लाख ४९ हजार र दोस्रो चरणका लागि ८ खर्ब ३९ करोड ३१ लाख ४६ हजार रुपैयाँमा सीसीएसआईले काम पाएको हो । कोर नेटवर्कका लागि जेडटीईले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँमा सम्झौता गरेको हो ।

टेलिकमले विस्तार गर्न लागेको फोरजी नेटवर्कमा फोरजी एलटीई सुविधा पनि हुनेछ । भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बढाउने टेलिकमको दाबी थियो ।

टेलिकमले काठमाडौं र पोखरामा २०७३ पुस १७ बाट फोरजी सेवा सुरु गरेको थियो । नेपालमा पहिलो पटक टेलिकमले फोरजी सुरु गरेको थियो । २०७४ जेठबाट फोरजी सेवा सुरु गरेको निजी क्षेत्रको सेवा प्रदायक एनसेलले फोरजीतर्फका ग्राहकमा बाजी मारेको छ । २०७४ कात्तिकमा टेलिकमले फोरजीका लागि टेन्डर आह्वान गरेको थियो ।

प्रकाशित : आश्विन २५, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?