विदेशी कामदार नआउँदा पछि धकेलिँदै आयोजनाका काम

धेरैजसो ठूला आयोजनामा चिनियाँ कामदार छन् । नयाँ वर्ष मनाउन स्वदेश गएका उनीहरु कोभिड–१९ को संक्रमण बढेपछि फर्किन पाएनन् । यता आयोजनाहरुमा त्यसैको असर पर्‍यो ।
विमल खतिवडा

काठमाडौँ — सडक, जलविद्युत् र विमानस्थल निर्माणमा संलग्न विदेशी प्राविधिक तथा कामदार कार्यस्थलमा नफर्किंदा विभिन्न आयोजनाको काम पछि धकेलिँदै गएको छ । विभिन्न सिलसिलामा आफ्नो देश गएकाहरू कोभिड–१९ को संक्रमण फैलिन थालेपछि उतै बसेका थिए । त्यसमा केही मात्र फर्किएका छन् ।

विदेशी कामदार नआउँदा पछि धकेलिँदै आयोजनाका काम

केही अझै फर्किन सकेका छैनन् । फर्किएका पनि काममा लागिसकेका छैनन् । केहीको भिसा प्रक्रिया टुंगिए पनि आउन सकेका छैनन् । यिनै विविध कारणले विभिन्न आयोजनाले गति लिन नसकेका हुन् ।

त्यसैको एउटा उदाहरण हो, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको आउँदो कात्तिकमा एक वर्ष हुन्छ । अहिलेसम्म यहाँको काममा खासै प्रगति छैन । ठेक्का सम्झौतामा ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने भनिएको छ । तर वर्ष दिन पुग्नै लाग्दा पनि कामले गति नलिएपछि समयमै सकिने सम्भावना कम छ । आठ महिनासम्म मुआब्जाको समस्याले काम रोकियो । पछि चैत ११ बाट कोभिड–१९ का कारण सिंगो मुलुक लकडाउन भयो । त्यसपछि काममा झनै बाधा भयो । काम अघि बढ्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यासका क्रममा देश सुरुङयुगमा प्रवेश गरेको भन्दै तोकिएकै समयमा सकिने दाबी गरेका थिए । तर अहिलेसम्म न काममा प्रगति छ, न उनले भनेजस्तै समयमै सकिने छाँट । अहिले मुआब्जाको समस्या छैन । विस्फोटक पदार्थका लागि नेपाली सेनाबाट स्वीकृति लिनै १० महिना लाग्यो । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डोले लिएको छ । प्राविधिक जापानी नै छन् ।

कोभिड–१९ को त्रासले उनीहरू चैतमा जापान गए । कोभिड–१९ को प्रभाव नसकिएपछि असोज १६ मा जापानी टोली नेपाल आएको हो । कोभिड–१९ का कारण ६ महिनादेखि काम नै हुन नसकेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘सुरुङसम्बन्धी जापानी इन्जिनियर आइसकेका छन्, सबै पीसीआर गरेर आएका हुन्,’ उनले भने, ‘अहिले आइसोलेसनमा बसिराखेका छन्, केही दिनपछि पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि काममा फर्कनेछन् । १३ जनाको टोली छ, जसमा फिलिपिनो र चिनियाँ प्राविधिक एक/एक जना छन् । तर समग्र आयोजनामा १५ जना जापानी छन् । त्यस्तै पाँच जना परामर्शदाता (कन्सल्टेन्ट) का रूपमा छन् ।

‘नेपालमा कोभिड–१९ सुरु भएपछि टोली जापान गएका हुन्, तिनै टोली अहिले फर्किएका छन्,’ उनले भने । काम गर्नुपर्ने सबै जापान फर्किएर गएका थिए । नेपाली कामदार पनि कोरोनाले गर्दा आआफ्ना घर गए । कोभिड–१९ कै कारण तिनलाई पनि समयमै ल्याउन सकिएन । अहिले समस्या जटिल बन्दै गएको छ । निर्माणस्थलमा ५ सय जनशक्ति चाहिन्छन् । तर अहिले प्राविधिक र कामदार गरेर साढे दुई सय मात्र रहेको थापाले जानकारी दिए । विदेशीहरू प्राविधिक तहमा मात्र छन् । अहिलेसम्म सुरुङसम्म जाने बाटो निर्माणको काम भएको छ ।

‘दुई साताभित्र विस्फोटक पदार्थ भारतबाट आउनेछ,’ उनले भने, ‘त्यसपछि सुरुङको काम थालिनेछ ।’ निर्माण कम्पनीले जेठ तेस्रो साताबाट सुरुङको काम गर्ने तयारी गरेको थियो । ‘भनेअनुसार चार महिना ढिला भयो,’ उनले भने, ‘जसले गर्दा काममा धेरै नोक्सान भएको छ ।’ २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो ।

समस्या सुरुङमार्गको मात्र होइन । विदेशी कन्ट्र्याक्टर र कामदार रहेका प्रायः आयोजना प्रभावित छन् । बुटवल–नारायणगढ सडक आयोजनामा पनि चिनियाँ कामदार नयाँ वर्ष मनाउन जाँदा काम प्रभावित बन्यो । दुवैतर्फ गरेर आयोजनामा ४० जना चिनियाँ कामदार रहेको गैंडाकोट–दाउन्ने सडकखण्डका प्रमुख सुजन अधिकारीले जानकारी दिए । अहिले आधा कामदार नियमित बिदामा गएका छन् । ‘२० जना यतै छन्, काम रोकिएको भने होइन,’ उनले भने, ‘जुन स्पिडले हुनुपर्ने हो, त्योअनुसार भएको छैन ।’

नयाँ वर्ष मनाउन गएकाहरू फर्किन समय लाग्यो । ‘कोभिडले हाम्रो आयोजनामा मात्र होइन, सबैतिर असर गरेको छ,’ उनले भने, ‘चिनियाँ नै कन्ट्र्याक्टर भएकाले उतै अड्किँदा योजनाबद्ध रूपमा काम गर्न समस्या भएको हो ।’ अहिले सडकमा पर्ने रूख काट्ने र बक्स कल्भर्ट बनाउने काम जारी छ । २०७५ पुसमा आयोजनाको ठेक्का सम्झौता भएको हो । अहिलेसम्म यसको भौतिक प्रगति २ प्रतिशत छ । १ सय १५ किमि सडकको पूर्वी खण्ड ६५ र पश्चिम ५० किमि छ । २०८० साल साउनभित्रमा सडक विस्तारको काम सक्नुपर्नेछ । दुवै सडकखण्डका इन्चार्ज मिस्टर लिन हुङ ताओ हुन् । उनीसहितको टोली नयाँ वर्ष मनाउन चीन गएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्रार्ष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चिनियाँ कामदार र प्राविधिक नआउँदा प्रभावित बनेको छ । ‘चिनियाँ कामदार आउनेजाने क्रम चलिरहन्छ,’ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले भने, ‘अहिले १६ जनालाई ल्याउने प्रक्रिया सुरु गरिएको छ ।’

भिसाका लागि प्रक्रिया सुरु भएको छ । ‘निर्माण व्यवसायीबाट दुई सय जना कामदारको माग छ, त्यसमध्ये १६ जना अहिले ल्याउन लागिएको हो,’ उनले भने, ‘कात्तिकभित्र सबै कामदार ल्याउने योजनामा छौं ।’ अहिले निर्माणस्थलमा १ सय ७० जना चिनियाँ कामदार छन् । ‘कोभिड–१९ ले गर्दा पहिला जस्तो जनशक्ति छैनन्,’ उनले भने । अब दसैंपछि नेपाली कामदार थपिनेछन् ।

‘कोभिडले असर नगरेको भए काम अन्तिम चरणमै पुगिसक्थ्यो,’ उनले भने, ‘विदेशी कामदार पनि नयाँ वर्ष मनाउन जाँदा पुसदेखि राम्रोसँग काम गर्न पाइएको छैन ।’ अहिलेसम्म आयोजनाको भौतिक प्रगति ६४ प्रतिशत छ । विमानस्थलको काम चालु आर्थिक वर्षमै सक्नुपर्नेछ । ‘सामान र जनशक्ति कात्तिकसम्म जुटाउन सकिए असार मसान्तसम्म काम सक्छौं,’ उनले भने, ‘सामान चीन, अमेरिका, अस्ट्रेलिया र नर्वेबाट आउनुपर्ने हो, केही आउँदै छ, केही आउन बाँकी छ ।’

यता चीनबाट ३५ जना प्राविधिक आइनपुगेका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा पनि ढिलाइ भएको छ । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का लिएको विमानस्थलमा कार्यरत प्राविधिकसहितको टोली नयाँ वर्ष मनाउन चीन गएर नफर्किएपछि समस्या भएको हो । ‘अहिले निर्माणस्थलमा २५ जना मात्र चिनियाँ कामदार छन् । ‘प्राविधिक नआउँदा इक्विपमेन्ट जडानकै काम रोकिएको छ,’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘आइसकेका उपकरण पनि जडान गर्न सकिएको छैन ।’ अघिल्लो आवमै निर्माणको काम सक्नुपर्ने भए पनि अहिलेसम्म प्रगति ९२ दशमलव ५ प्रतिशत छ । त्यस्तै चक्रपथको दोस्रो खण्ड, सुरुङ, मेट्रो रेलको विस्तृत अध्ययनलगायत काम पनि चीनबाट प्राविधिक टोली नआउँदा रोकिएका छन् ।

धादिङको बेनीघाटस्थित ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगको काम पनि चिनियाँ कामदार काम छाडेर गएपछि प्रभावित छ । उद्योगमा ४ सय चिनियाँ र ३ सय नेपाली कामदार थिए । दसैंअघिबाटै सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि बाढी र कोभिड–१९ का कारण निर्माण प्रभावित बन्न पुग्यो । अब फागुनबाट उत्पादनको काम सुरु गर्ने उद्योगले जनाएको छ । कोभिड–१९ को प्रभाव देशभर निर्माणाधीन ठूला आयोजनामा परेको छ । चिनियाँ कामदार भएका आयोजना प्रायः ठप्प नै छन् । अर्को समस्या जलविद्युत् आयोजनामा देखिएको छ । जलविद्युत् आयोजनामा कामदार आउन छाडेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का सचिव बलराम खतिवडाले बताए ।

१ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदारले बढ्दो कोभिड–१९ को संक्रमणका कारण काम छाडेको उनले बताए । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण अन्तिम समयमा आएर प्रभावित बनेको छ । ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाको भौतिक प्रगति ९९ दशमलव ६ प्रतिशत छ । तर अहिलेसम्म सकिएको छैन ।

१ सय २० मेगावाटको रसुवा भोटेकोसी आयोजना कोभिड–१९ का कारण बन्द रहेको उनको भनाइ छ । ‘यसमा पनि चिनियाँले नै काम गर्दै थिए,’ खतिवडाले भने, ‘यसको लगानीकर्ता पनि चिनियाँ कम्पनी नै हो ।’ १ सय ४० मेगावाटको तनहुँ हाइड्रोपावरमा चिनियाँ कामदार नभएकै कारण समस्या भएको छ । सिन्धुपाल्चोकको १ सय २ मेगावाटको भोटेकोसी बन्द छ । ७३ मेगावाटको तमोर सानिमा जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदार धमाधम घर फर्किन थालेपछि अन्योल छाएको उनी बताउँछन् ।

‘नेपालमा कोभिडको संख्या बढ्नेबित्तिकै यहाँको अस्पतालले धान्न सक्दैन भन्दै जहाज चार्टर गरेरै फर्किन थालेका छन्,’ खतिवडाले भने । अहिले सानिमाले सब कन्ट्र्याक्टर राखेर काम गराउन लागिपरेको छ । चिनियाँहरू पुसमा मात्र आउने उनको भनाइ छ । ठूला आयोजनामा प्रायः चिनियाँ कामदार छन् । साना योजनामा भने नेपाली नै धेरै छन् । ‘अहिले १ सय ३६ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन्,’ खतिवडाले भने, ‘कोभिडले गर्दा धेरैजसो आयोजना प्रभावित छन् ।’ कोभिडको असर अझै ६ महिना कायमै रहे आयोजनाहरू थप पछि धकेलिने उनको भनाइ छ । अहिले देशभर ३२ सय मेगावाटका आयोजना निर्माणाधीन रहेको उनले जानकारी दिए ।

कोभिड–१९ का कारण आयोजनाको समय लम्बिनु स्वाभाविक भएको पूर्वसचिव तुलसी सिटौला बताउँछन् । ‘समय लम्बिनेबित्तिकै आर्थिक व्ययभार पनि बढ्छ,’ उनले भने, ‘जसले गर्दा दोहोरो मार पर्न जान्छ ।’ चिनियाँहरूले चक्रपथ बनाउँदा २०७२ सालमा भूकम्प आयो, जसले गर्दा एक वर्ष उनीहरू घर गएर बसे । ‘जसले गर्दा आयोजना निर्माणमा ढिलाइ भयो,’ उनले भने, ‘बेलाबेला आउने यस्तै दैवी प्रकोपले गर्दा आयोजनामा प्रभाव पर्ने गरेका छन् ।’

स्थानीय ठेकेदार एवं कामदार भए प्राकृतिक प्रकोपको केही समयपछि काम अघि बढाउन सकिन्छ । ‘तर विदेशीले जोखिम लिन चाहँदैनन् । त्यसले निर्माणको समय लम्ब्याउँछ,’ सिटौलाले भने, ‘उनीहरूलाई यहाँ अवस्था सहज भयो, आइसोलेटेड भएर काम गर, आओ भन्न जरुरी छ ।’ पूर्वअर्थ सचिव शान्तराज सुवेदी पनि कोभिडले विकास आयोजनामा अप्ठ्यारो पारेको बताउँछन् ।

विकास आयोजनाहरूमा जति समय लम्बिँदै जान्छ, निर्माण सामग्रीको लागत पनि बढ्दै जाने उनको भनाइ छ । ‘कामदारको लागत बढ्दै जान्छ, निर्माण उपकरण एवं यन्त्र थन्किए भने ती मर्मत गर्नुपर्ने हुन्छ । यसले पनि लागत बढाउँछ,’ सुवेदीले भने ।

प्रकाशित : आश्विन २४, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?