३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निर्णय कार्यान्वयन नहुँदै बढ्यो पानीको मूल्य

व्यवसायीले समितिको निर्देशन अवज्ञा गरे : विभाग
राजु चौधरी

काठमाडौँ — एक जार पानीको २५ रुपैयाँ तिर्दै आएका काठमाडौं महानगरपालिकाका कृषि प्राविधिक पुष्कर खड्काले बुधबार दोब्बर मूल्य तिर्नुपर्‍यो । कपुरधारामा रहेको कार्की पसलबाट खरिद गर्दै आएका उनले मूल्य किन बढाएको भनेर व्यवसायीलाई जिज्ञासा राख्दा गाडी (ढुवानीकर्ता) ले बढाएर दिए, त्यसैले मूल्य बढाएको भन्ने जवाफ पाए ।

निर्णय कार्यान्वयन नहुँदै बढ्यो पानीको मूल्य

तारकेश्वर नगरपालिका–१० निवासी अंकिता सिलवालले पनि यसअघिभन्दा एक जार पानीमा थप १० रुपैयाँ तिरेको बताइन् । ‘यसअघि ३० रुपैयाँ तिर्दै आएको पानीको मूल्य एकाएक ४० रुपैयाँ भने,’ उनले भनिन्, ‘हेर्दा जार पनि सफा छैन, त्यहाँ प्रस्टै लेदो देखिन्छ । तर मूल्य बढाएर लिए ।’

यहाँ खड्का र सिलवाल प्रतिनिधि पात्र मात्रै हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भदौ १० देखि लागू हुने गरी जारको मूल्य अधिकतम ५० रुपैयाँ तोक्ने निर्णय गरेसँगै संसदीय समितिले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । विभागले पनि संसदीय समितिको निर्देशनको पालना गर्दै निर्णय स्थगन गरेको छ । तर बजारमा व्यवसायीले वाणिज्यको निर्णय भन्दै धमाधम मूल्य बढाएका छन् ।

उनीहरूले जारको पानीको मूल्य १० रुपैयाँ बढी बढाएका छन् । केहीले त्यसभन्दा पनि बढी लिएका छन् । जारको पानीको मूल्य बढेको सन्दर्भमा विभागमा समेत उजुरी परिसकेको छ । ‘सामाजिक सञ्जालमार्फत दुई/तीनवटा उजुरी परेका छन्, संसदीय समितिले थप निर्देशन दिएको छैन । निर्देशनबारे विभागलाई कुनै जानकारी छैन,’ विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘यो सरासर अवज्ञा हो । निर्णय नै भएको छैन, व्यवसायीले एकाएक मूल्य बढाउनु गलत हो ।’

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तवले पनि पानीको मूल्यका विषयमा केही निर्णय नभएको प्रतिक्रिया दिए । ‘पानीको मूल्यका विषयमा हामी अध्ययनकै चरणमा छौं । केही निर्णय भइसकेको छैन,’ उनले भने, ‘तर, बजारमा मूल्य बढिसकेको सुनें ।’ समितिको निर्देशनबिनै बजारमा मूल्य बढेपछि आइतबारलाई बैठक बोलाएको उनले जानकारी दिए ।

विभागले जारको पानीको अधिकतम मूल्य ५० रुपैयाँ तोक्ने निर्णय गरेपछि समितिले अहिले मूल्य बढाउनुको कानुनी आधारलगायत सबै डकुमेन्ट मगाएर छनबिन गरिरहेको छ । विभाग स्वयंले केही पानी उद्योगको निरीक्षण गरेर तयार पारेको प्रतिवेदनमा औसत बिक्री मूल्य २५ रुपैयाँ भनिएको छ । तर सर्वसाधारणका लागि अधिकतम मूल्य (एमआरपी) ५० रुपैयाँ तोकेपछि समितिले छानबिन थालेको हो ।

कार्यदलले करिब २१ वटा पानी उद्योगको स्थलगत निरीक्षण गरेको थियो । सर्वसाधारणले एक जार पानी खरिद गर्दा औसतमा ३५ देखि ४० रुपैयाँसम्म तिर्दै अएका थिए । विभागले खुद्रा मूल्य ४० रुपैयाँ नै रहेको र एमआरपी मात्र ५० रुपैयाँ निर्धारण गरेको दाबी गरे पनि खुद्रा पसलमा ५० रुपैयाँ असुल्न थालेका छन् । बिचौलियाका कारण समस्या भएको नेपाल बोटलर्स बाटर एसोसिएसनका महासचिव ध्रुवबहादुर गौतमले बताए । यद्यपि उनले पनि विभागको निर्णयअनुसार उद्योगीले ३५ रुपैयाँ मूल्य कार्यान्वयन गरेको स्विकारे । ‘भदौ १० देखि खुद्रा पसलमा मूल्य बढाएपछि उद्योगीले पनि ३५ रुपैयाँ बनाएका छौं,’ उनले भने, ‘उपभोक्ताको घरसम्म पुर्ग्दा ४०/४५ रुपैयाँभन्दा बढी पर्दैन । तर बिचौलियाले बढी मार्जिन खाए ।’ संसदीय समितिको निर्देशनबारे व्यवसायी बेखबर भएको उनको दाबी छ ।

‘विभागले भदौ १० बाट मूल्य कार्यान्वयन गर्ने भनेको थियो, त्यसपछि संघमा पत्र पठाएको छैन । उद्योगलाई सार्वजनिक सूचना दिएको छैन, समितिबाट पनि कुनै जानकारी पाएका छैनौं,’ महासचिव गौतमले भने, ‘न्यूनतम मूल्य तोकेपछि खुद्रामा भदौ १० पछि बढाए, ५ दिनयता हामीले पनि आफ्नो रेट राखेका छौं ।’

व्यवसायीले पानीको मूल्य केका आधारमा बढाएको भन्ने कुनै जानकारी नगराएको विभागका प्रवक्ता आचार्यले बताए । ‘हामीले मूल्य कार्यान्वयन नगर्नू भनिरहेका छौं, व्यवसायीले कुन आधारमा बढाए, विभागलाई किन जानकारी गराएनन्,’ उनले प्रश्न गरे, ‘अब अनुगमन गर्छौं, कारबाही भएरै छाड्छ ।’ हाल उपत्यकामा दैनिक डेढ लाख जार पानी बिक्री हुन्छ । संघका अनुसार कोभिड–१९ का कारण बिक्री भइरहेको उक्त परिमाण आधा मात्रै हो । सामान्य अवस्थामा दैनिक ३ देखि साढे ३ लाख जारको पानी बिक्री हुन्छ । तर धेरैजसो कम्पनीले उत्पादन गर्ने पानीको जार पुरानो, जारमा लेदो भएको भेटिने गरेको सर्वसाधारणको गुनासो छ ।

जारको पानीमा कीरा

सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा कीरा भेटिएको भन्दै वाणिज्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी परेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र खाद्य ऐन २०२३ विपरीत अनुचित तथा गैरकानुनी व्यापारिक क्रियाकलाप गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उजुरी गरेका हुन् । उक्त जारको पानीको मूल्य पनि ६० रुपैयाँ छ ।

बिचौलियाको चलखेलकै कारण पानी कम्पनीहरू समस्यामा परेको संघका महासचिव गौतमको दाबी छ । नियामक निकायले सही ट्र्याकमा ल्याउन नसक्दा थप समस्या भइरहेको उनको भनाइ छ । संघसँग मुलुकभर ६ सय ३६ कम्पनी आबद्ध छन् । उपत्यकामा भने १ सय ५५ उद्योग मात्र आबद्ध छन् । संघसँग आबद्ध नभएका पानी उद्योग पनि उत्तिकै संख्यामा छन् ।

प्रकाशित : आश्विन २४, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?