१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

पोखरा घुम्न सस्तो प्याकेज

कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि पर्यटनलाई चलायमान बनाउन कात्तिक १ देखि लागू हुने गरी नाट्टा गण्डकीले भ्रमण प्याकेज ल्याएको हो
दीपक परियार

पोखरा — पोखरा र वरपरका गन्तव्य घुम्न चाहनेका लागि नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले सस्तो प्याकेज ल्याएको छ । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि पर्यटनलाई चलायमान बनाउन कात्तिक १ देखि लागू हुने गरी नाट्टा गण्डकीले भ्रमण प्याकेज ल्याएको हो ।

पोखरा घुम्न सस्तो प्याकेज

पदयात्रा मार्ग, धार्मिकस्थल, शक्तिपीठलगायत धेरै पर्यटकीय गाउँ कात्तिक १ देखि खुल्ने भएकाले भ्रमण प्याकेज ल्याइएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । दुई रात तीन दिनको पोखरा घुम्ने प्याकेज प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँबाट सुरु हुने उनले जानकारी दिए । प्याकेजभित्र पर्यटकले विश्व शान्ति स्तुप, सराङकोट, गुप्तेश्वर गुफा, डेभिज फल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, विन्ध्यवासिनी मन्दिर, चमेरे गुफा, महेन्द्र गुफा र फेवाताल घुम्न पाउनेछन् । विमानस्थल वा बसपार्कबाट होटलसम्म लाने, ल्याउने, बिहानी खाजा, खाना र रात्रि खाना, होटलमा बासको व्यवस्था प्याकेजभित्रै पर्छ । हरेक प्याकेजमा होटलको स्तर, यातायातको प्रकार र पर्यटकको संख्याअनुसार फरक–फरक मूल्य छ ।

नाट्टाको अर्को प्याकेज हो, तीन रात चार दिनको पोखरा–घान्द्रुक प्याकेज । यो प्याकेज रोज्नेले पोखरा प्याकेजसहित थप एक रात कास्कीको पर्यटकीय गाउँ घान्द्रुक बस्न पाउँछन् । उक्त प्याकेजमा सबैभन्दा सस्तो प्रतिव्यक्ति ८ हजार १ सय ५० रुपैयाँ छ । तीन रात चार दिनकै पोखरा–अस्ट्रेलियन क्याम्प प्याकेजमा पर्यटकले पोखरासहित अर्को पर्यटकीय गाउँ धम्पुस घुम्न पाउनेछन् । घम्पुसमाथिको अस्ट्रेलियन क्याम्पमा एक रात बिताएर नजिकबाट अन्नपूर्ण हिमशृंखला अवलोकन गर्न पाउँछन् । उक्तप्याकेजमा प्रतिव्यक्ति सस्तो दर ७ हजार १ सय ५० रुपैयाँ छ ।

चार रात पाँच दिनको मुस्ताङ प्याकेज अर्को आकर्षक भ्रमण प्याकेज हो । पहिलो दिन पोखरा घुमेर दोस्रो दिन पर्यटक मुक्तिनाथ बास बस्न पुग्नेछन् । तेस्रो दिन मुक्तिनाथ, ढुम्बा ताल, जोमसोम, मार्फा घुम्दै म्याग्दीको तातोपानी बास बस्न फर्किनेछन् । चौथो दिन बागलुङ घुमेर पोखरा फर्किनेछन् । यो प्याकेजमा नाट्टा गण्डकीले प्रतिव्यक्ति १२ हजार ८ सय रुपैयाँ तोकेको छ । पाँच रात ६ दिनको माथिल्लो मुस्ताङ प्याकेजमा पर्यटक लोमान्थाङ पुग्नेछन् । नेपाल–चीन सिमाना कोरला नाका, ऐतिहासिक छोसेर गुफा र मुस्ताङका अन्य पर्यटकीय स्थल पर्यटकले घुम्न पाउनेछन् । यो प्याकेजमा एक जनाले २५ हजार ५ सय रुपैयाँ तिरे पुग्छ । पोखरालाई आधार बनाएर देशैभर पर्यटकीय सवारीसाधन शुल्कमा पनि नाट्टा गण्डकीले भारी छुट प्रदान गरेको छ । यी प्याकेज पर्यटकले नजिकको ट्राभल एजेन्सीबाट लिन सक्छन् ।

पोखरा र वरपरका गन्तव्य कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन सस्तो प्याकेज ल्याइएको नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन् । यी प्याकेजअन्तर्गत पुर्‍याइने गन्तव्य, बस्ने होटल, सवारीसाधनमा पूर्णरूपमा पर्यटन बोर्डले लागू गरेको स्वास्थ्य मापदण्ड अपनाउने उनले जानकारी दिए । ‘कोरोना महामारीले कतिपय मानिस थुनिएर बसे जस्तै भएको छ,’ उनले भने, ‘अब बाहिर निस्कने बेला हो । थोरै खर्चमा धेरै ठाउँ घुम्न मन पराउनेका लागि यो अवसर पनि हो ।’

असोज पहिलो साता केही हवाई कम्पनीले ट्रेकिङ तथा भ्रमण प्याकेज सार्वजनिक गरेका थिए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नाट्टाको केन्द्रीय समितिले विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध गरेको थियो । हवाई कम्पनीले उद्देश्यभन्दा फरक कार्य गरी ट्रेकिङ र ट्राभल व्यवसायमाथि हस्तक्षेप गरेको विज्ञप्तिमा उल्लेख थियो ।

प्रकाशित : आश्विन २३, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?