कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत पुग्‍ने विश्‍व बैंकको अनुमान

कोरोनाको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा
कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प हुँदा सन् २०२१ मा नेपाली अर्थतन्त्रको वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत पुग्‍ने विश्‍व बैंकको अनुमान

अर्धवार्षिक रूपमा प्रकाशन हुने साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै बैंकले कोभिड–१९ का कारण नेपाली अर्थतन्त्रको अनौपचारिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकालेको छ । सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित भएको विश्व बैंकको अनुमान छ ।

अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी प्रभावित भएको भन्दै विश्व बैंकले आफ्नो प्रतिवेदनमा दक्षिण एसियाली अर्थतन्त्र हालसम्मकै सबैभन्दा खराब मन्दीमा जाने अवस्थामा रहेको उल्लेख गरेको छ । ‘महामारीको अत्यन्त खराब प्रभावका कारण यो वर्ष दक्षिण एसियाली अर्थतन्त्र सबैभनदा खराब मन्दीमा जाने अवस्थामा छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जसका कारण अनौपचारिक क्षेत्रका कामदारमा अतुलनीय प्रभाव पर्नेछ भने लाखौं दक्षिण एसियाली चरम गरिबीतर्फ धकेलिनेछन् ।’

पछिल्ला ५ वर्षमा लगातार औसत ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर भए पनि सन् २०२० मा एसियाली आर्थिक वृद्धिदर ७.७ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनले दक्षिण एसियाली मुलुकहरूको औसत आर्थिक वृद्धिदर यसअघि गरिएको अनुमानभन्दा बढीले घट्ने प्रक्षेपण गरेको छ । सन् २०२१ मा एसियाली आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । तर प्रतिव्यक्ति आय भने ६ प्रतिशतमा सीमित हुने आकलन छ, जुन सन् २०१९ मा गरिएको आकलनभन्दा थोरै हो । यो महामारीका कारण सिर्जित दीर्घकालीन आर्थिक प्रभाव यसको पुनरुत्थानले पनि सन्तुलित गर्न सक्दैन भन्ने संकेत हो ।

यसअघिका आर्थिक मन्दीमा घट्दो लगानी र निर्यातका कारण अर्थतन्त्र अधोगतितर्फ लाग्ने गर्थ्यो । दक्षिण एसियाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको खपत यो वर्ष १० प्रतिशतभन्दा बढीले कमी आउनुका साथै गरिबीको दर बढ्ने भएकाले यो पटकको घटना फरक भएको प्रतिवेदनमा उल्लेख छ ।

(सन् २०१९ को आर्थिक वृद्धिदर अनुमानित हो भने त्यसयताका प्रक्षेपित हुन्)

रेमिट्यान्समा आउने कमीका कारण केही गरिब देशका गरिब नागरिकको जीविकोपार्जनको विकल्प घट्ने अनुमान पनि प्रतिवेदनमा छ । ‘महामारीका कारण देखिएको आर्थिक प्रभावको नतिजास्वरूप नेपालका सामाजिक सुरक्षा नभएका वा सहायता नभएका अनौपचारिक क्षेत्रका कामदारमा सबैभन्दा बढी प्रभाव पर्ने र उनीहरू चरम गरिबीतर्फ धकेलिने सम्भावना बढी छ,’ नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जार्भोसलाई उद्धृत गर्दै विश्व बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूलाई आयआर्जन, सामाजिक सुरक्षा र रोजगारीमार्फत सहायता गर्न तत्काल कदम चाल्न आवश्यक छ ।’

नेपालका आधा व्यवसाय अनौपचारिक खालका छन्, जुन अधिकांश श्रमशक्तिका लागि आयका स्रोत हुन् । यो समूहमध्ये ग्रामीण परिवारभन्दा सहरमा रहेका अनौपचारिक मजदुर र स्वरोजगारमा रहेका परिवार बढी प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक क्षेत्रका व्यवसाय सीमित बचतमा सञ्चालन हुने भएकाले यसका सञ्चालकलाई महामारीका बेला घरमै बस्ने वा संक्रमणको जोखिमसहित व्यवसाय सञ्चालन गर्ने भन्ने दोधार हुने प्रतिवेदनको निष्कर्ष छ । यस्तो अवस्थाले वित्तीय अप्ठ्यारोका साथै कोभिड–१९ को संक्रमणको दर फैलने दर बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले एकीकृत सामाजिक सुरक्षा तयारको डिजाइनसहित उत्पादकत्व, सीप, विकास र मानव पुँजीलाई सहायता गर्ने नीति तयार पार्न सरकारलाई आह्वान गरेको छ । पुनरुत्थानलाई गति दिन आवश्यक महत्त्वपूर्ण कार्यक्रममा लगानीका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय वित्त सुनिश्चित गर्दा सरकारलाई सहयोग पुग्ने प्रतिवेदनको सुझाव छ ।

‘यदि सरकारले डिजिटल पहुँच सुधार्ने हो र कामदारलाई अनलाइन प्लेटफर्मको फाइदा लिन सहायता गर्ने हो भने दीर्घकालीन रूपमा अनौपचारिक क्षेत्रका कामदारका लागि अवसर सिर्जना गर्न डिजिटल प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘कोभिड–१९ ले नेपाल र अन्य दक्षिण एसियाली मुलुकलाई वर्षौंसम्म प्रभाव पार्नुका साथै अर्थतन्त्रमा लामो छाप छाड्नेछ । तर यसमा उत्थानशील पुनरुत्थानको सकारात्मक पाटो पनि छ– महामारीका कारण दक्षिण एसिया भविष्यमा विश्वबजारको मूल्य शृंखलामा जोडिन सक्ने गरी अन्वेषण जन्मिन सक्छन् । विश्व अर्थतन्त्र बढी डिजिटल उन्मुख हुने भएकाले उहाँका प्रविधि सेवा र पर्यटन क्षेत्रले तुलनात्मक लाभ उठाउन सक्छन्,’ विश्व बैंकका लागि दक्षिण एसिया हेर्ने प्रमुख अर्थशास्त्री ह्यान्स टिमरलाई उद्धृत गर्दै बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : आश्विन २२, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?