कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फेरि आयो ४७ हजार बोरा भिजेको मल

प्राय: बोराभित्रको मल सडेर कालो डल्लो भइसकेको छ, भिजेको मल गुणस्तरीय छैन
भूषण यादव

वीरगन्ज — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ग्लोबल टेन्डरमार्फत खरिद गरी ल्याइएका ४७ हजार बोरा डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुक्खा बन्दरगाहमा आएको पाइएको छ । तेस्रो मुलुकबाट आएको मल भारतको कोलकाता बन्दरगाह हुँदै गत आइतबार सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

फेरि आयो ४७ हजार बोरा भिजेको मल

रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा अधिकांश मलका बोराबाट कालोपदार्थ झरिरहेको कामदारहरू बताउँछन् । प्राय: बोराभित्रको मल सडेर कालो डल्लो भइसकेको छ । भिजेको मल गुणस्तरहीन छ ।

यसअघि गत भदौ पहिलो साता २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाह आएको थियो । भदौमा आएको भिजेको मल हालसम्म जाँचपास भएको छैन । बन्दरगाहको गोदाममै थन्किएको छ । आपूर्तिकर्ताले मल सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गरी साल्ट ट्रेडिङको गोदाममा पुर्‍याएपछि मात्र हाम्रो जिम्मेवारीमा आउने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । ‘बन्दरगाहमा आएको मल अहिले पनि सप्लायर्सकै जिम्मामा छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्जका प्रमुख आमोज लामिछानेले भने, ‘जाँचपास भएर साल्ट ट्रेडिङको गोदाममा आएपछि मात्र हाम्रो जिम्मामा आउँछ ।’

आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको जनाए । ‘नभिजेको मल पहिले नै आइसक्यो,’ ती एजेन्टले भने, ‘अहिले कोलकाता बन्दरगाहमा मल राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको हो ।’ साल्ट ट्रेडिङ कार्यालयका अनुसार आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजले ठेक्का सकार गरेको २५ हजार टनमध्ये अझै करिब ६ हजारदेखि आठ हजार टन मल आपूर्ति गर्न बाँकी छ । कोलकातामा रहेका अरू मल पनि भिजेको अवस्थामै रहेको सम्बद्ध स्रोतको भनाइ छ । सम्झौताबमोजिम आपूर्तिकर्ताले मल राम्रो अवस्थामा गोदाममा नदिएसम्म भुक्तानी नदिने साल्ट ट्रेडिङ लिमिटिडका अधिकारीले बताएका छन् ।

सम्झौतामा गोदाम डेलिभरी भएकाले एक पैसाको पनि भार साल्ट ट्रेडिङमाथि पर्ने अवस्था छैन । राम्रो अवस्थामा गोदाम गनेर दिएको मलको मात्र भुक्तानी गर्ने कर्मचारीको भनाइ छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता जगदीश पुर्वेले पनि भिजेको मल जाँचपास नहुने बताए । ‘गत भदौमा आएको भिजेको मल हालसम्म गोदाममै छ,’ उनले भने, ‘बिमाका सर्भेयरले सर्भे गरेर गए पनि हालसम्म प्रतिवेदन बुझाएका छैनन् । भिजेको मल जाँचपास भएको छैन ।’

प्रकाशित : आश्विन २०, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?