कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

निगमको वाइडबडी १३ दिनदेखि ‘ग्राउन्डेड’

सुरज कुँवर

काठमाडौँ — चाडबाड नजिकिएसँगै उडान संख्या बढाउनुपर्ने बेला नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान १३ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।

निगमको वाइडबडी १३ दिनदेखि ‘ग्राउन्डेड’

निगमका एक प्राविधिकका अनुसार उक्त विमान असोज ७ गते मेडिकल कार्गो लिन चीनको कुनमिङ उडानमा रहेका बेला सिन्धुलीको आकाशबाटै फर्किएको थियो । नेपाली नाम मकालु भएको वाइडबडीको दायाँ पखेटामा रहेको फ्ल्यापमा समस्या देखिएको संकेत पाइएपछि पाइलटले उडान रद्द गरेका थिए ।

झन्डै दुई साता बितिसक्दा पनि निगमको इन्जिनियरिङ विभागले जहाज मर्मत गरेको छैन । निगमको वाणिज्य विभागले २ सय ७४ सिट क्षमताको वाइडबडी विमान ग्राउन्डेड भएपछि १ सय ५८ सिट क्षमताको न्यारोबडीबाट उडान गर्नुपरेको जनाउँदै आएको छ । ‘ठूलो जहाज जाने अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सानो जहाज पठाउनुपरेको छ,’ निगमका एक अधिकारीले भने, ‘यसको असर निगमको आम्दानीमा परेको छ ।’

नौ महिनाको अवधिमा यो विमानको फ्ल्यापमा समस्या देखिएको यो तेस्रोपटक हो । यो समस्यामा जहाज उत्पादन गर्ने एयरबसका इन्जिनियरले अनुसन्धान गरिरहेको निगमका एक इन्जिनियरले कान्तिपुरलाई बताए । ‘यो मेकानिकल फेलियर हो । एयरबसलाई जानकारी गराएका छौं । उसले अनुसन्धान गरिरहेको छ । मंगलबार साँझसम्म स्पेयर्स पार्ट्स काठमाडौं आइपुग्दै छ, बिहीबारसम्म जहाज मर्मत गरेर वाणिज्य विभागलाई हस्तान्तरण गर्ने योजना छ,’ उनले भने । निगमले लकडाउनकै समयमा यो विमानको हरेक दुई वर्षमा अनिवार्य गरिने सी–चेक (सम्पूर्ण मर्मत) एक महिनाअघि मात्रै इन्डोनेसियाको जीएमएफ एरोएसिया नामको कम्पनीबाट गरेर ल्याएको थियो । यो मर्मतमा निगमले करिब डेढ करोड रुपैयाँ खर्च गरेको थियो । अहिले देखिएको फ्ल्यापको समस्या र सी–चेकको सम्बन्धबारे पनि प्राविधिकले अनुसन्धान गरिरहेको इन्जिनियरहरूले बताएका छन् ।

‘सी–चेक र यो फरक विषय हो,’ निगमका एक अर्का अधिकारीले भने, ‘तर पनि हामी यसमा एयरबसको सम्पर्कमा रहेर अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित : आश्विन १९, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?