भैरहवाछेउमै भारतको अन्तर्राष्ट्रिय विमानस्थल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अन्योल रहेका बेला भारतको कुशीनगरबाट अन्तर्राष्ट्रिय उडान सुरू हुँदै
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेका बेला त्यहाँबाट करिब डेढ सय किमि दूरीमा रहेको भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलबाट एक महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ ।

भैरहवाछेउमै भारतको अन्तर्राष्ट्रिय विमानस्थल

दुई साताअघि भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसको घोषणा गरिसकेका छन् । तिहारदेखि कुशीनगरमा अन्तर्राष्ट्रिय उडान सुरु हुने लागेको उनको भनाइ छ ।

छ वर्षअघि नै निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल भने कहिले सञ्चालनमा आउँछ भन्ने टुंगो छैन । सुरुमा यो विमानस्थलको काम डिसेम्बर २०१७ मा सक्ने भनिएको थियो । तर विभिन्न विवादका कारण समयमै पूरा नभएपछि सिभिलतर्फको काम पछिल्लो पटक सम्पन्न हुने मिति डिसेम्बरसम्म सक्ने लक्ष्य राखियो । र, मार्च २०२० देखि उडान सुरु गर्ने योजना थियो । तर सिभिलतर्फको काम प्रायः सम्पन्न भए पनि रडारलगायत प्राविधि जडानको काम अझै सुरु भएको छैन ।

थाई कम्पनीले त्यसको ठेक्का पाए पनि कोभिड–१९ को कारण देखाएर काम अघि बढाएको छैन । जसले गर्दा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न कम्तीमा पनि सन् २०२१ को मध्यसम्म कुनुपर्ने देखिन्छ । सरकारले भने सन् २०२१ को सुरुमा सञ्चालनमा ल्याउने दाबी गरेको छ । भैरहवाबाट दैनिक १६ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य छ । जसबाट वार्षिक आउने र जाने गरेर करिब २४ लाख यात्रुलाई सेवा दिने अनुमान छ । विमानस्थलले लुम्बिनी र भारतका बुद्ध सर्किटमा पर्ने विभिन्न पर्यटकीय स्थलको भ्रमणमा आउने विदेशी पर्यटकलाई सेवा दिने अपेक्षा छ । भारतका विभिन्न २१ सहरसँग हवाई सम्झौता छ । र, भैरहवाबाट ती भारतीय सहरसँगै एक घण्टाको दूरीमा रहेका अन्य अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान गर्ने लक्ष्य राखिएको छ । सरकारले उक्त विमानस्थलबाट विशेषगरी बौद्धमार्गी पर्यटक र खाडी मुलुकमा रोजगारीमा जाने नेपालीले सेवा पाउने बताउँदै आएको छ । विमानस्थलको काम डिसेम्बर २०२० सम्ममा सक्ने लक्ष्य राखिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको भनाइ छ । विमानस्थलको सिभिलतर्फका प्रायः काम सकिइसकेको र उपकरण जडानको काम जारी रहेको उनले जानकारी दिए । ‘सबै काम भनेअनुसार भयो भने सन् २०२१ को सुरुदेखि अन्तर्राष्ट्रिय उडान थाल्ने योजना हो,’ अधिकारीले भने ।

अधिकारीले त्यस्तो दाबी गरे पनि अझैसम्म भारतसँग हवाई रुटका विषयमा कुरा मिलेको छैन । नागरिक उड्डयन प्राधिकरणले हवाई रुटका लागि भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) समक्ष फेरि अनुरोध गरेको बताइएको छ । भैरहवा विमानस्थलका लागि नेपालले गोरखपुरको आकाशबाट अवतरण गर्नका लागि सोहीअनुसार हवाई रुट दिन अनुरोध गर्दै आएको छ । तर दर्जनौं पटक छलफल भइसक्दा पनि भारतले सहमति जनाएको छैन । भैरहवा विमानस्थलबाट बाहिरिने ठूला जहाजले फन्को मार्दा भारतीय आकाशमा समेत प्रवेश गर्नुपर्छ । त्यसका लागि पनि भारतीय पक्षसँग औपचारिक सहमति गर्ने पक्षमा नेपाल छ । सहमति भएको खण्डमा भैरहवाबाट उडेको जहाजले गोरखपुरको टावरलाई सामान्य जानकारी गराए मात्र पुग्छ । फेरि अनुमति लिइरहनुपर्दैन । तर यस विषयमा भारतले सहमति जनाउने संकेत दिएको छैन । भारतीय प्रधानमन्त्री मोदीले साउन २०७१ मा गरेको नेपाल भ्रमणका बेला भैरहवा र पोखराका लागि आवश्यक हवाई रुट उपलब्ध गराउने सहमति गरेका थिए । तर ६ वर्ष बितिसक्दासमेत उक्त सहमति कार्यान्वयनमा भारतले चासो देखाएको छैन ।

यता भारतको कुशीनगरबाट अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा भइसकेको छ । यही कारणले भैरहवास्थित विमानस्थलले लक्ष्यअनुसार यात्रु नपाउने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । मोदी सरकारले गत २४ जुन २०२० मा कुशीनगरलाई अन्तर्राष्ट्रिय उडान अनुमति दिने निर्णय गरेको हो । बौद्धमार्गी पर्यटक र मध्यपूर्व जाने श्रमिकलाई सेवा दिने विमानस्थलको लक्ष्य छ । हाल २१०० मिटरको विमानस्थललाई बढाएर ३२०० पुर्‍याइएको छ । उक्त विमानस्थल गोरखपुरबाट ५२ किमि मात्र टाढा छ । उक्त विमानस्थल बिहारका आधा दर्जन जिल्लाका लागि पनि नजिक पर्छ । उत्तरप्रदेशका अन्तर्राष्ट्रिय उडान गर्ने लखनउ, वाराणसी र नोयडाको जेवरपछि यो चौथो विमानस्थल बन्नेछ ।

भारत सरकारले उडान योजनाअन्तर्गत सीमानजिक हाल सञ्चालनमा रहेका आधा दर्जन हवाई अड्डालाई पनि सञ्चालनमा ल्याउने योजना अघि बढाइसकेको छ । त्यसमध्ये एक हो– बिहारको दरभंगा विमानस्थल । हालसम्म सैनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको यो विमानस्थलबाट आगामी ८ नोभेम्बरदेखि व्यावसायिक उडान सुरु गरिँदै छ । यो विमानस्थल जनकपुरबाट करिब ८० किमि दूरीमा छ । त्यसैगरी ‘उडान’ अन्तर्गत समेटिएको बिहारकै मुजफ्फरपुरबाट पनि चाँडै नियमित उडान सुरु गर्ने योजना छ ।

हवाई सेवाको पहुँच सर्वसाधारणमा बढाउने उद्देश्यले सन् २०१६ मा मोदी सरकारले ‘उडान’ योजना अघि सारेको हो । यसअनुसार देशका ग्रामीण भेगलाई अन्य सहरी क्षेत्रसँग जोड्न सात सयभन्दा बढी हवाईमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ । त्यसका लागि आंशिक सञ्चालनमा रहेका र बन्द रहेका हवाई अड्डाबाट उडान सेवा सञ्चालन गर्ने योजना छ । त्यसअन्तर्गत नेपालसँग सीमा जोडिएका एक दर्जन जिल्लाका पुराना हवाई अड्डा पनि छन् । ती गन्तव्यबाट सञ्चालन हुने उडानको भाडादर पनि एउटा सीमाभित्र रहने व्यवस्था छ । जसले गर्दा ग्रामीण भेगका नागरिकले सस्तो दरमा सेवा पाउनेछन् । उडान योजना कार्यान्वयन भएको खण्डमा सस्तो भाडाका कारण नेपालको तराई मधेसका यात्रुले सीमानजिक रहेका तिनै भारतीय विमानस्थल प्रयोग गर्ने सम्भावना बढी छ । सचिव अधिकारी भने भारतले सुरु गर्न लागेको विमानस्थलले प्रतिस्पर्धा बढे पनि खासै समस्या नपर्ने बताउँछन् । यसबाट बुद्ध सर्किटमा आउने र लुम्बिनी भित्रिने पर्यटकको संख्यामा वृद्धि हुने उनको भनाइ छ । भैरहवा विमानस्थलबाट पोखरा, बर्दिया, चितवन जस्ता पर्यटकीय गन्तव्यले समेत लाभ लिने उनको विश्वास छ । ‘कुशीनगर आउने पर्यटक बुद्धको जन्मस्थल आउने झन् बढी सम्भावना छ । त्यही भएर यसबाट झन् फाइदा हुने देख्छु,’ अधिकारीले भने ।

प्रकाशित : आश्विन १९, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?