चीनले नेपाली भूमिसम्मै ल्याइदियो सामान

बलराम घिमिरे

रसुवा — चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिएको छ । यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेको थिए ।

चीनले नेपाली भूमिसम्मै ल्याइदियो सामान

चीनले आइतबार व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

बुधबार रसुवागढी नाकामा बसेको बैठकमा चिनियाँ पक्षले आइतबारदेखि नेपाली भूमिसम्मै ल्याएर सामान झार्ने तथा मालवाहक सवारी साधनको संख्यालाई पनि क्रमश: वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप आइतबार ५ कन्टेनर चिनियाँ सामान आयात भएको खड्काले बताए । यसअघि ४ कन्टेनर मात्र सामान आयात हुँदै आएको थियो । आइतबार आयात भएका सामानमा रेडिमेड, ओखर र उन रहेको छ ।

चिनियाँ पक्षले रातिको समयमा पनि सामान ल्याइदिने बताएका छन् । सामान आयात वृद्धि गर्न चिनियाँ पक्षले नेपाली पक्षलाई स्वास्थ्य सुरक्षा प्रोटोकल सम्बन्धी समग्र व्यवस्थापन र सामान लोड अनलोड गर्ने स्थान निर्माण लगायत सम्पूर्ण व्यवस्थापन गर्न आग्रह गरेको छ ।

नेपाली पक्षले पनि सामान लोड अनलोड गर्ने स्थानमा घेराबार निर्माण, रातिको समयमा काम गर्नको लागि बिजुली बत्तीको व्यवस्था, सुरक्षा पोष्ट निर्माण, गाडी सफाइ गर्न पानीको लगायतको सम्पुर्ण व्यवस्थापन गरिसकेको प्रमुख भन्सार अधिकृत खड्काले बताए । सामान लोड अनलोड गरे पछि चिनियाँ पक्षले नै गाडी र स्थानको डिसइन्फेक्सन गर्ने छन् । उनीहरुले सडकमै सामान झारेर जाने गरेकोमा यस पटक सामान लोड अनलोड गाडी टु गाडी गर्ने व्यवस्था मिलाइएको छ । १० मिटरको फरकमा गाडी पार्किङ गर्ने ठाउँको व्यवस्था गरिएको छ ।

पार्किङ स्थलमा रङले रेखांकन गरिएको छ । सामान लोड तथा अनलोड गर्न ३२ जना कामदार र ढुवानी गर्नको लागि १७ जना चालक गरी ४९ जना जनशक्ति नाकामा खटिएका छन् । चालक र काममा खटिने कामदारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाउन अनिवार्य गरिएको छ । सीमामा कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारी बाहेक अन्यलाई जान रोक लगाइएको छ । नेपाली कन्टेनर चालक तथा मजदुरहरूको पीसीआर परीक्षण गर्न चिनियाँ पक्षले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

रसुवागढी नाका भएर चीनबाट हुने आयात करिब ९ महिनादेखि प्रभावित छ । रसुवा नाकाबाट व्यवसायीले लामो समयदेखि सहज रूपमा सामान आयात गर्न पाएका छैनन् । कुनै बेला हिमपात त कोही बेला पहिरोले अवरुद्ध हुने सडक, लामो समय भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । ल्होसार तथा हिमपातको कारण लामो समय नाका बन्द रह्यो ।

त्यसपछि माघ १५ गतेदेखि कोभिड–१९ का कारण नाका ठप्प भयो । पटक पटक रसुवागढि नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । केरुङमा, खासा, न्यालम र सिगात्से लगायत विभिन्न ठाउँमा १२ देखि १५ सय कन्टेनर तयारी कपडा, स्याउ, लसुन, जुत्ता र चप्पल, झोला, चस्मा, इलेक्ट्रोनिक्स, उद्योगका कच्चा पदार्थ, जलविद्युत आयोजनाका सामान, श्रृंगारका सामान गोदाममै थन्किएको व्यापारीहरुले बताएका छन् ।

लामो समयदेखि गोदाममा सामान थन्किदा बिग्रने, सिजन सकिने लगायतको चिन्ता व्यापारीमा छ । व्यवसायीहरुले जतिसक्दो छिटो र धेरै सामान भित्र्याउन माग गर्दै आएका छन् ।

प्रकाशित : आश्विन १८, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?