कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१२ वर्षपछि बझाङ विमानस्थल सञ्‍चालनमा, परीक्षण उडान हेर्न स्थानीयको घुइँचो 

वसन्तप्रताप सिंह

बझाङ — बझाङमा रहेको देवल विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ । विमानस्थल कालोपत्रे गर्ने काम सकिएपछि नियमित उडान संचालन गर्नका लागि परीक्षण उडान गरिएको हो । 

१२ वर्षपछि बझाङ विमानस्थल सञ्‍चालनमा, परीक्षण उडान हेर्न स्थानीयको घुइँचो 

परीक्षण उडानका लागि आएको समिट एयरको विमानले देवल विमान शनिबार दिउँसो १२ बजेर ४५ मिनेटमा सफल अवतरण गरेको थियो । परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रतिनिधिसभा सदस्यहरु भैरव सिंह, आसा विक, दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशकी पर्यटनमन्त्री माया भट्ट, संविधानसभा सदस्य अफिलाल ओखेडा, अनेरास्वियुका संयोजक ऐन महरसहितका जनप्रतिनिधि तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारीसहितको टोली विमानमा बझाङ पुगेको थियो ।

विमानस्थल बन्द भएको झण्डै १२ वर्षपछि आएको जहाज हेर्नका लागि सयौंको संख्यामा स्थानीयहरु विमानस्थल वरपर जम्मा भएका थिए । उनीहरु जहाजको नजिक गएर फोटो खिच्दै खुशियाली मनाएका थिए । परीक्षण उडानमा आउने पाहुनाहरुको स्वागतमा राखिएको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले परीक्षण उडान सफल भएको र केही दिनमै नियमित उडान तालिका सार्वजनिक गर्ने बताए । उनले नियमित उडान सुरु भएपछि बझाङका नागरिकको आवतजावत सहज हुनुको साथै पर्यटन विकासको ढोका समेत खुल्ने बताए । ‘बझाङवासीको जहाज चढ्ने प्रतिक्षाको घडी अब सकिएको छ । नियमित उडान सुरु भएपछि तपाईंहरुलाई आउजाउ गर्न त सहज हुने नै छ । यहाँका पर्यटकीय गन्तव्यमा पर्यटकहरुको आवागमन पनि बढ्ने छ’ उनले भने ।


यस्तै बझाङ विमानस्थलको निरीक्षणका लागि आएका धनगढी विमानस्थलका प्रमुख तेजबहादुर गुडथापाले विमानस्थल उपयुक्त भुगोलमा रहेको र रनवेको लम्बाई पनि पर्याप्त भएकोले देवल विमानस्थलमा उडान तथा अवतरणका लागि सुरक्षित देखिएको बताए । विमानस्थलको अवस्था हेर्न यो टोलीमा आएका समिट एयरका क्षेत्रीय निर्देशक सरोज उप्रेतीले आफूहरु बझाङमा नियमित सेवा दिन इच्छुक रहेको बताए ।


स्थानीय र जनप्रतिनिधिले विमानस्थल कालोपत्रे हुनु पर्ने र नियमित उडान सेवा सञ्चालनको माग गर्दै पटक पटक केन्द्रसम्म धाएका थिएन ।

हप्तामा कम्तीमा दुई उडान हुन सके राहत हुने र जिल्लाको पर्यटन प्रवर्द्धन हुने स्थानीयको भनाइ छ । ‘विमानस्थल पक्की भएर परीक्षण उडान पनि सफल भएको कुराले हामी निकै खुसी छौं’, विमानस्थल संचालन गर्ने विषयमा निरन्तर लागेका पर्यटन अभियन्ता किशोर खड्काले भने ‘अब नियमित उडानको लागि सबैले पहल गर्नु पर्छ ।’

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ सालसम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् ।

२०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो । यसबीच बर्खा र हिउँद याममा सडक यातायात बन्द हुँदा उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएका थुप्रै बिरामीहरुले यातायातको साधन नपाएर ज्यान गुमाउनु परेको थियो ।

प्रकाशित : आश्विन १७, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?