कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुरुङ बनाउन १२ परामर्शदाता इच्छुक

परामर्शदाता छानिसकेपछि ढिलोमा माघभित्र सुरूङको टेन्डर निकाल्ने तयारी
प्रताप विष्ट

हेटौंडा — भीमफेदी–कुलेखानी सुरुङ (पोस्टबहादुर बोगटी सुरुङमार्ग) निर्माण गर्न १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र दर्ता गराएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको परामर्शदाता छनोटका लागि भदौ १ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

सुरुङ बनाउन १२ परामर्शदाता इच्छुक

‘विभिन्न मुलुकका १२ वटा कम्पनीले परामर्शदाताका निम्ति आशयपत्र दर्ता गराएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर एवं मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए ।

‘१२ मध्ये ६ वटा लिस्टिङ गर्छौं । त्यसपछि उनीहरूलाई पत्र पठाउँछौं,’ उनले भने । परामर्शदाता छानिसकेपछि ढिलोमा माघभित्र सुरुङको टेन्डर निकाल्ने तयारीमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय छ । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न संघीय सरकारले कार्यदल गठन गरेको छ ।

संघीय सरकारले सहलगानी गर्न प्राविधिक, आर्थिक र कानुनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल गठन गरेको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भदौ ९ मा भएको छलफल तथा निर्णयअनुसार ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलले सुरुङमार्ग निर्माण र सञ्चालनका लागि प्राविधिक, आर्थिक र कानुनी पक्षमा तोकिएको कार्य क्षेत्रगत सर्तबमोजिम एक महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने समयावधि तोकिएको छ । संघीय सरकारले लगानी गर्न अध्ययन कार्यदल गठन गरेपछि सुरुङमार्ग बन्ने पक्का भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका एक वरिष्ठ प्राविधिकले बताए । सुरुङ निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा उत्साहित भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । परामर्शदाता छानिएपछि सुरुङमार्गको टेन्डर प्रकाशन गर्ने मन्त्रालयले जनाएको छ । ‘बढीमा चार महिनाभित्रमा टेन्डर आह्वान गर्ने तयारी छ,’ सिंहले भने, ‘सुरुङमार्गका प्राविधिक कार्यसहित टेन्डरको तयारीमा जुटेका छौं ।’ प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ देखि बर्सेनि नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।

सुरुङमार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । चालु आर्थिक वर्षको अन्त्यसम्म परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने लक्ष्य रहेको लामाको भनाइ छ । भीमफेदी गाउँपालिका–६ स्थित बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याममुनि ३ दशमलव २१ किलोमिटर लामो दुर्ई लेनको सुरुङ निर्माण गर्ने डिजाइन छ । सुरुङको चौडाइ १५ मिटरको हुने सिंहले बताए । सुरुङका दुवैतिर गरी साढे २ किलोमिटर लामो एप्रोच सडक र तीनवटा पुल निर्माण हुनेछन्  । तिनको लम्बाइ २ सय १० मिटर मात्र हुने उनले जानकारी दिए ।

सम्झौता भएको ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सुरुङमार्गले भीमफेदी–कुलेखानी सडक १७ किलोमिटर दूरी छोटिनेछ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने उक्त छोटो दूरीको वैकल्पिक मार्ग ६५ किलोमिटरमा झर्नेछ ।

प्रकाशित : आश्विन १७, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?