कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहिरोले अवरुद्ध केरुङ सडक खुल्यो, आयात सुरु

बलराम घिमिरे

रसुवा — सिमा नजिकै चिनियाँ भू–भागतर्फ पहिरो जाँदा आइतबार बिहानदेखि अवरुद्ध बनेको केरुङ सडक बिहीबार दिउँसोदेखि खुलेको छ ।

पहिरोले अवरुद्ध पारेको सडक खुलेपछि चीनतर्फ रोकिएका सामान आयात भएको छ । सडक खुलेपछि एक कन्टेनर रेडिमेड सामान, ६ वटा माइक्रो हाइलक्स र ८ वटा हाइलक्स गाढी नेपाल भित्रिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनले भने नाकाबाट हुने आयातलाई सहज बनाउन र पहिरो पन्छाउने लगायतका विषयमा जिलोङ काउन्टिका समकक्षीसँग मितेरी पुलमा बुधबार बैठक भएको थियो ।

बुधबारको बैठकमा चिनियाँ पक्षले बिहीबार पहिरो हटाएर सामग्री आयात गर्ने प्रतिबद्धता जनाएको थिए । चिनियाँ पक्षले बुधबार भएको बैठकमा असोज १८ गतेबाट मालवाहक सवारी साधनको संख्यालाई क्रमश: वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् पन्तले भने । उक्त बैठकमा स्वास्थ्य सुरक्षा प्रोटोकल सम्बन्धी समग्र व्यवस्थापन स्वास्थ्य कार्यालय रसुवाले मिलाउने, सामान लोड अनलोड गर्ने स्थान निर्माण लगायत सम्पूर्ण व्यवस्थापन सुरक्षा निकायसँगको समन्वयमा रसुवा भन्सार कार्यालयले मिलाउने विषयमा पनि छलफल भएको छ ।

व्यवसायीले लामो समयदेखि रसुवागढी नाकाबाट सहज रूपमा सामान आयात गर्न पाएका छैनन् । कुनैबेला हिमपात त कोही बेला पहिरोले अवरुद्ध हुने सडक, लामो समय भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । एक हप्ता अगाडि बल्लतल्ल नाका खुलेपनि सिमा नजिकै पहिरो झरेपछि पाँच दिनसम्म आयात सहज हुन सकेन । रसुवागढी नाका भएर चीनबाट हुने आयात करिब ९ महिनादेखि प्रभावित छ । ल्होसार तथा हिमपातको कारण लामो समय नाका बन्द रह्यो । त्यसपछि माघ १५ गतेदेखि चीनले कोरोनाका कारण नाका बन्द गरिदियो ।

बल्लतल्ल असार २२ मा नाका खुलेको थियो, एक जना नेपाली कामदारमा कोरोना देखिए पछि फेरि नाका बन्द हुन पुग्यो । बारम्बार आईरहने यसप्रकारका समस्याका कारण व्यापारीहरु मर्कामा परेका छन् ।

पटकपटक रसुवागढि नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीन तर्फरोकिएका छन् । केरुङमा, खासा, न्यालम र सिगात्से गरि १२ देखि १५ सय कन्टेनर सामान गोदाममै थन्किएको व्यापारी धर्म पौडेलले बताए ।

तयारी कपडा, स्याउ, लसुन, जुत्ता र चप्पल, झोला, चस्मा, इलेक्ट्रोनिक्स, उद्योगका कच्चा पदार्थ, जलविद्युत आयोजनाका सामान, श्रृंगारका सामानहरु थन्किएका छन् । त्यसमाथि सामान बिग्रने, सिजन सकिने लगायत चिन्ता व्यापारी उत्तिकै पिरोलिएका छन् उनले भने । दसैं र तिहारका सामान उतै रोकिँदा बजारमा ठूलो असर पर्ने पौडेलले बताए । उनले भने अब बजारमा सामानको अभाव हुने र महँगो पर्न जान्छ । करिब एक हजारभन्दा बढी कन्टेनर सामान ९ महिनादेखि उतै रोकिएका छन् । गर्मी मौसमका लागि चाहिने लत्ता कपडा माघ १५ भन्दा अगाडिदेखि नै केरुङमा रोकिएका छन् ।

ती सामान मक्किन तथा कुहिन थालिसकेका छन् । अहिलेकै परिमाणमा आयात हुने हो भने केरुङको सामान नेपाल भित्रिन करिब ६ महिना लाग्ने व्यवसायीको भनाइ छ । उनीहरूले जतिसक्दो धेरै सामान भित्र्याउन माग गर्दै आएका छन् । नाकाबाट सामान आयात रोकिदा लक्ष्य अनुसार राजस्व उठ्न नसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

आयात सहज भएपनि कच्ची सडक, कमजोर पूर्वाधार, भद्रगोल व्यवस्थापनका कारण दसैंका लागि भनेर ल्याइएका सामान नेपालका बजारसम्म पुर्‍याउन कति समय लाग्ने हो व्यापारी नै अन्योलमा छन् ।

प्रकाशित : आश्विन १५, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?