रारामा बढ्न थाले पर्यटक

राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारीका कारण ६ महिनादेखि सुनसान रारामा मानवीय चहलपहल बढ्न थालेको हो । 

रारामा बढ्न थाले पर्यटक

लकडाउन खुलेसँगै पर्यटक हवाई र सडक मार्गबाट रारा आउन थालेका छन् । एक महिनायता मुगुसहित जुम्ला, सुर्खेत, कालीकोट, दैलेखलगायत जिल्लाबाट रारा घुम्न जानेको संख्या बढ्दै गएको छ । कर्मचारी, व्यापारी र विद्यार्थी समूहमा घुम्न आउन थालेपछि रारामा मानवीय चहलपहल बढेको स्थानीय प्रकाश जैसीले जानकारी दिए । ‘रारा घुम्न आउने उपयुक्त मौसम यही हो,’ उनले भने, ‘शनिबार र बिदाको दिन बढी चहलपहल हुन्छ, पर्यटकसँगै स्थानीय व्यापार बढेको छ ।’ यो समयमा रारासँगै आसपासका क्षेत्रको दृश्यावलोकन मनमोहक हुने उनी बताउँछन् । जुम्लाबाट आउने आन्तरिक पर्यटक बिहान आएर साँझ फर्कन्छन् । ६ महिनासम्म सुनसान बनेको रारामा आन्तरिक पर्यटक बढ्दै गएको हुटुस्थित डाँफे गेस्ट हाउसका प्रबन्धक बलीराज शाहीको भनाइ छ । दैनिक १५ देखि ४० जनासम्म पर्यटक रारा आउन थालेका छन् ।

‘जिल्लाबाहिरका पर्यटक एक दिन रारा बसेर फर्किन्छन्,’ उनले भने, ‘वर्षा सकिएसँगै यहाँ आउनेको संख्या बढ्दै गएको हो ।’ पर्यटक बढ्न थालेपछि बिदामा बसेका होटल कर्मचारीलाई रारा बोलाएको उनले जानकारी दिए । उनका अनुसार पर्यटकले हुटुका होटल भरिभराउ हुन थालेका छन् । पर्यटक बढेसँगै लामो समयदेखि बन्द रहेका झ्यारी, डाब, ताल्चलगायत क्षेत्रका होटल पनि खुल्न थालेका छन् । रारा घुम्न आएका आन्तरिक पर्यटक डुंगा चढेर रमाउने गरेको व्यवसायी दानबहादुर बुढाले बताए । उनका अनुसार केही पर्यटक घोडामा चढेर आसपासका गाउँमा घुम्न थालेका छन् । पर्यटक बढ्न थालेपछि रारा क्षेत्रमा कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको रारा राष्ट्रिय निकुञ्जका अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित : आश्विन १३, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?