कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

यसपालि हुने छैन नाडा अटो शो

भृकुटीमण्डपमा अटो शो हुन्थ्यो, व्यवसायीले स्टल राख्थे, ग्राहक आकर्षित गर्न अनेक तिकडम गर्थे । तर यस वर्ष रोकिएपछि सबै हिस्स छन् ।
विमल खतिवडा

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का ८औं अध्यक्ष किरण वैद्यको पालादेखि अटो शो सुरु भएको हो । ०५४ सालबाट सुरु भएको अटो शो यस वर्ष कोरोनाका कारण रोकिँदा उनलाई रमाइलो लागेको छैन । अरू व्यवसायीलाई पनि कहाँ रमाइलो लागेको छ र !

यसपालि हुने छैन नाडा अटो शो

‘गाडीहरूको सेल्सका लागि मेला ठूलो प्लेटफर्म हो,’ वैद्यले भने, ‘अटो शोले दुई र चारपांग्रे सवारी बिक्रीमा ठूलो सपोर्ट गर्छ ।’ चाडपर्वको मुखमा अटो शो हुने भएकाले यसले ब्रान्ड प्रमोट गर्न सघाउँदै आएको थियो । ‘यसपालि मेला नहुँदा सबैलाई ठूलो मर्का परेको छ,’ उनले भने, ‘कोरोनाको प्रभाव यो क्षेत्रमा पनि परेको छ, कोभिडको असर कति समय लम्बिन्छ, थाहा छैन ।’ सरकारले अन्यलाई सहयोग गरेझैं यो क्षेत्रलाई पनि सघाउन जरुरी रहेको उनको भनाइ छ । ‘प्रत्येक वर्ष अटो शोमा व्यवसायीको प्रगतिमा सघाएको थियो,’ उनले भने, ‘छुट्टै ठाउँ नै नभए पनि दुःख गरेर भृकुटीमण्डपको सानो ठाउँमा मेला गर्दै आएका थियौं ।’

सोमा गाडी, मोटरसाइकल, स्कुटर कुनकुन मोडलका आए भनेर हेर्न आउनेको भीड लाग्थ्यो । छुटमा सवारी किन्ने पनि उत्तिकै हुन्थे । बैंकले गाडी किन्दा ब्याजदर घटाउन प्रतिस्पर्धा नै चल्थ्यो । ‘त्यसैले भएर अटो शो सबैको केन्द्र बन्दै आएको थियो,’ उनले भने, ‘हरेक ब्रान्डको परिचय दिने थलो बनिसकेको थियो ।’

सुरुवाती चरणमा अटोमोबाइल क्षेत्रमा अहिलेको जस्तो भीड हुँंदैनथ्यो । त्यति बेला नाडाका सदस्य पनि धेरै थिएनन् । ‘मेरो पालामा गाडीको बजार अहिले जस्तो राम्रो थिएन,’ वैद्यले भने, ‘एक पटक मेला गरेर हेरौं भन्ने हिसाबले सुरु गरेका थियौं ।’ सुरुमा १२/१३ वटा भन्दा बढी गाडीका ब्रान्ड पनि सहभागी थिएनन् । ‘मान्छेलाई गाडीबारे खासै रुचि थिएन,’ उनी विगत सम्झिन्छन्, ‘त्यति बेला गाडीलाई विलासिताको वस्तु मानिन्थ्यो ।’ अहिले भने यो आवश्यकता बनेको उनको भनाइ छ । मोटरसाइकल पनि कमै चर्चामा थियो । जापानबाट मात्र मोटरसाइकल आउँथ्यो । भारतबाट आउन थालेको धेरै वर्ष नभएको उनले बताए । त्यति बेला मेला हेर्न आउनेको संख्या पनि कम हुन्थ्यो ।

अहिले जनसंख्या पनि बढ्यो । मेलामा सहभागी हुने सवारीका ब्रान्ड पनि बढे । विदेशका हरेक सहरमा अटो शो हुन थाले । संस्थाका लागि कोषको पनि आवश्यकता भयो । यसका लागि केही न केही गरौं भनेर अटो शोको सुरुवात गरिएको वैद्यले जानकारी दिए । त्यसैले उपयुक्त माध्यम मेला नै बन्यो । पहिलाभन्दा अहिलेको मेलामा धेरै परिवर्तन भएको छ । ‘मेला सुरु गर्दा अटोमोबाइल क्षेत्रको यति ठूलो बजार होला भनेर सोचेका थिएनौं,’ उनले भने, ‘अहिले मुलुकमा राजस्व संकलनको दोस्रो ठूलो आधार अटोमोबाइल क्षेत्र भएको छ ।’ इलेक्ट्रिक सवारीको जमाना आइसकेको उनको भनाइ छ । ‘तर अहिले कोभिडले सबै क्षेत्रमा असर गरेको छ,’ वैद्यले भने, ‘अटोमोबाइल क्षेत्र पनि यसबाट अछुतो रहेन ।’

नाडाका सदस्य निराकार श्रेष्ठ पनि अटोमोबाइल क्षेत्रमा अटो शोको आफ्नै महत्त्व रहेको बताउँछन् । ‘अटो इन्डस्ट्रीमा अन्तर्राष्ट्रिय अटो शोले पनि धेरै महत्त्व राख्छ,’ उनले भने, ‘साधारणतः नयाँ गाडी लन्च गर्ने, प्रदर्शन गर्ने, कस्टुमर र ब्रान्डको परिचय गराउने उद्देश्यले अटो शो गरिएको हुन्छ ।’ धेरै थोरै मात्र देश छन्, जहाँ अटो शोमा गाडी बिक्रीलाई जोड दिइन्छ । त्यसमा नेपाल पनि एक रहेको उनको भनाइ छ । यसपटक अटो शो नहुँदा खल्लोपन महसुस भएको उनले बताए ।

‘यस्तो स्थितिमा अटो शो गर्दा कत्तिको सफल हुन्थ्यो, हुन्थेन भन्ने छलफलको विषय हो,’ उनले भने, ‘तर सो नहुँदा पनि खल्लोपना महसुस भएको छ ।’ कम्पनीहरूले आआफ्नो ठाउँबाट अफर ल्याइरहेको उनले बताए । ‘अटो शोमा पनि गर्ने अफर नै थियो, तर त्यहाँ एकैचोटि ठूलो ग्राहकको भीडलाई आकर्षित गर्न सक्ने स्थिति हुन्थ्यो, ६ दिनको अटो शोमा लगभग सवा लाख अवलोकनकर्ता हुन्थे,’ उनले भने, ‘त्यो कारणले अटो शोको महत्त्व थियो ।’

नाडाका अध्यक्ष कृष्ण दुलाल पनि इतिहासमै पहिलोपटक अटो शो रोकिएको दाबी गर्छन् । अटो शो रोकिँदा व्यवसायमै असर पर्ने उनको भनाइ छ । अवस्था सहज भएर सरकारले पनि व्यवसाय प्रवर्द्धन गर्न दिए आगामी फागुन पहिलो साता मेला गर्ने योजना रहेको उनले सुनाए ।

‘हाम्रा लागि यो कुम्भ मेला हो,’ उनले भने, ‘त्यो बेला पनि गर्न सकिएन भने अर्को वर्ष गर्नुको विकल्प छैन ।’ गत वर्ष भदौमा अटो शो भएको थियो । ‘पोहोरको मेलामा ५ सय करोड रुपैयाँ बराबरको बुकिङ भएको थियो,’ उनले भने । योपटक दसैंको मुखमा आ–आफ्नै सोरुमबाट व्यवसायीले अफर ल्याएको दुलालले बताए ।

प्रकाशित : आश्विन १३, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?