कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटक बोलाउँला, बाटोमा रोक्छन् कि !

दीपक परियार

पोखरा — माथिल्लो मनाङको मनाङ–ङिस्याङ गाउँपालिकाका चार वडाले यो सिजनमा पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरे । थोराङ पास, तिलिचोलगायत पदयात्राका लागि चल्तीको गन्तव्यमा पर्ने ४, ६, ७ र ८ नम्बर वडाले पर्यटक नभित्र्याउने निर्णय गरेका हुन् । सरकारले पदमार्ग, होटल, रेस्टुरेन्टलगायत व्यवसाय खोल्ने निर्णय गरिसक्दा पनि पदयात्रा मार्गका व्यवसायी तयार छैनन् । 

पर्यटक बोलाउँला, बाटोमा रोक्छन् कि !

ती स्थलमा स्थानीयबाहेकलाई प्रवेश नदिने निर्णय भएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘मनाङमा कोरोना महामारी फैलिसकेको छैन,’ उनले भने, ‘पर्यटकलाई प्रवेश दिइयो भने फैलने डर भयो । त्यसैले रोक लगायौं ।’ मनाङ प्रवेश गर्न ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय शुक्रबार जिल्ला प्रशासन कार्यालयले गर्‍यो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमण फैलन नदिन जिल्लाबाहिरबाट आउनेका लागि रिपोर्ट अनिवार्य गरेको हो ।

गोरखाको मनास्लु संरक्षण क्षेत्रको चुमनुब्री गाउँपालिकाले पनि उक्त क्षेत्रमा प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । कतै पर्यटक प्रवेशमै रोक लगाउने, कतै पीसीआर रिपोर्ट खोज्ने र कतै होटल, रेस्टुरेन्ट नै नखोल्ने गर्दा पदयात्रा पर्यटन चलायमान हुन नसक्ने ट्रेकिङ व्यवसायको चिन्ता छ ।

जिल्लामा कोरोना संक्रमण फैलिए रोकथाममा अप्ठ्यारो हुने भएकाले प्रवेशमा कडाइ गर्नुपरेको मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीको भनाइ छ । ‘जिल्लामा एउटा मात्रै अस्पताल छ, दुई जना चिकित्सकको दरबन्दी छ,’ उनले भने, ‘अब चिसो बढ्दै जाँदा स्थानीय तहले क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था गर्न सहज छैन । बेरोकतोक नाका खुला गर्‍यौं भने अवस्था भयावह हुन सक्छ ।’

मनाङमा प्रशासन र स्थानीयका आफ्नै खालका नीति नियम र परम्पराको संयोजन गरेर चल्नुपर्ने उनले सुनाए । भने, ‘अत्यावश्यकबाहेकका सेवा खोल भनेर व्यवसायीलाई दबाब दिइहाल्न मिल्दैन ।’ कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका व्यवसायीले कोरोना संक्रमण कम नहुँदा होटल नखोल्ने निर्णय गरेका छन् । घान्द्रुक पर्यटन समितिले हाललाई असोजसम्म कुनै पनि होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय गरेको हो । कोरोनाको महामारी नसकिएको र तत्काल होटल र होमस्टे सञ्चालन गर्दा गाउँमा कोरोना भित्रिन सक्ने सम्भावना देखिएको समितिका अध्यक्ष किसम गुरुङ बताउँछन् । सबै व्यवसायीको सहमतिपछि होटल सञ्चालनमा नल्याउने निर्णय भएको उनले बताए ।

‘अहिलेसम्म गाउँ कोरोनामुक्त छ । होटल सञ्चालन हुनासाथ भित्रिन सक्छ भन्ने ठहर भयो,’ उनले भने, ‘बाँचेदेखि भोलि कमाउँला भन्ने भयो । सबैको एकमत भएपछि यो एक महिना बन्द गर्ने निर्णय गर्‍यौं ।’ पोखरामा कोरोना संक्रमण बढिरहेकाले मोटरसाइकलमा फाट्टफुट्ट पाहुना पुग्दा पनि गाउँका वृद्धवृद्धा डराउने अवस्था आएको उनले सुनाए । पदयात्रा पर्यटनका लागि उपयुक्त मानिने अन्नपूर्ण आधार शिविर, घोरेपानी–पुनहिल पुग्न घान्द्रुक हुँदै जानुपर्छ । स्याउलीबजारदेखि मुख्य गाउँ घान्द्रुकसम्मका ५ दर्जन होटल र केही होमस्टे छन् । होटल सञ्चालनमा आएपछि देश/विदेशका पाहुना आउने निश्चित भएको र यसले कोरोना भित्रिने सम्भावना बढी भएकाले हाललाई बन्द गरिएको घान्द्रुकका व्यवसायी ध्रुव गुरुङले बताए । ‘कोरोना रोक्ने एक मात्र उद्देश्यले यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘पैसाभन्दा ज्यान ठूलो मानियो ।’ व्यक्तिका होटल रेस्टुरेन्ट खोल्न दबाब दिन नमिल्ने कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल बताउँछन् । ‘कसैले गाउँमै प्रवेश गर्न दिन्नौं भन्छ भने त्यो कानुनविपरीत हो,’ उनले भने, ‘त्यस्तो कार्य हुन दिन्नौं ।’ लमजुङका पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ, सिउरुङ, पसगाउँमा पनि बाहिरबाट जानेलाई प्रवेश निषेध गरिएको छ । होमस्टेका लागि चर्चित क्व्होंलासोथार गाउँपालिकाको भुजुङमा गाउँकै आफन्तलाई प्रवेश दिन पनि पीसीआर रिपोर्ट अनिवार्य गरिएको वडा नम्बर ४ का अध्यक्ष खिमबहादुर गुरुङले बताए ।

मुस्ताङका होटल व्यवसायी तत्काल होटल रेस्टुरेन्ट खोलिहाल्ने पक्षमा छैनन् । मुस्ताङ पर्यटन व्यवसायी समितिले जिल्लाका सबै स्थानीय तहलाई होटल सञ्चालनमा सहजीकरण गरिदिन बिहीबार पत्र पठाएको छ । जिल्ला समन्वय समितिको पहलमा व्यवसायीबीच हुने छलफलपछि मात्रै होटल खुल्ने, नखुल्ने निर्णय हुने समितिका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए । ‘सरकारले नै चलाऊ भनिसकेको छ, सधैं यसरी बसेर मात्रै भएन,’ उनले भने, ‘हामीले सुरक्षाका उपाय अपनाएर होटल चलाउनुपर्छ भनेर व्यवसायीलाई मनाउन खोजिरहेका छौं ।’ युरोपेली मुलुकका पर्यटकले ट्रेकिङ एजेन्सीमा सोधपुछ गर्न थालेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलको भनाइ छ । पदयात्रा सुरक्षित भए/नभएको, होटल तथा रेस्टुरेन्टले स्वास्थ्य मापदण्ड पूरा गरे/नगरेकोप्रति उनीहरूको चासो छ । ‘अक्टोबर/नोभेम्बरमा आउन चासो लिएका पर्यटक छन्,’ उनले भने, ‘तर सबै स्थानीय तहका आआफ्नै निर्णय छन् । हामी पर्यटक बोलाउँला तर बाटोमा रोक्छन् कि भन्ने डर छ ।’ स्थानीयले अवरोध गर्दा समस्या हुन सक्ने भएकाले अनलाइन बुकिङ लिन नसकेको उनले सुनाए । टानले प्रदेशका नवलपुरबाहेक १० वटै जिल्ला समन्वय समितिलाई असोज ७ मा पत्र पठाएर स्थानीय तहसँग सहजीकरण गरिदिन माग गरेको छ । टानले जिल्लाभित्र रहेका हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा पर्यटनलाई चलायमान बनाउन लिएका निर्णय, आवश्यक रणनीति, तोकेका सुरक्षालगायत मापदण्डबारे आवश्यक समन्वय गरिदिन आग्रह गरेको हो ।

‘यो क्षेत्र कुनै एक स्थानीय निकायमा मात्र भन्दा पनि एउटै प्याकेजमा विभिन्न स्थानीय तह पार गर्दै जानुपर्छ,’ अध्यक्ष भुजेलले भने, ‘यस सम्बन्धमा स्थानीय तहको आधिकारिक धारणा मागेका हौं ।’ समन्वय समितिमार्फत आएका स्थानीय तहको आधिकारिक धारणालाई टानले हरेक पदयात्रा कम्पनीसम्म पुर्‍याउने र सोहीबमोजिम पदयात्रा र पर्वतारोहण क्रियाकलाप सञ्चालन हुने उनले बताए ।

प्रकाशित : आश्विन १२, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?