चिया ट्रेडमार्क कार्यान्वयन चुनौतीपूर्ण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया ट्रेडमार्क कार्यान्वयन चुनौतीपूर्ण

विप्लव भट्टराई

इलाम — सूर्योदय नगरपालिका बौद्धधामकी चिया उद्यमी राधा राई मंगलबार चियाको ट्रेडमार्क प्राप्त गर्दा निक्कै दंग थिइन् । ग्रिन एन्ड स्पेसालिटी चिया उद्योग चलाउँदै आएकी राईको उत्पादन अन्तरिकसहित बाह्य देशमा पनि पुग्छ । ट्रेडमार्क प्राप्त गर्दैगर्दा उनको अनुहारमा उत्साहसँगै संशय पनि देखिन्थ्यो ।

पश्चिमा बजार पुर्‍याउँदा यसअघि बेहोरेका झन्झट, खर्चिलो अर्गानिक प्रमाणीकरण जस्ता कुरा अब समाधान हुन्छन् कि हुँदैनन्, उनीसँग प्रशस्त जिज्ञासा थिए । उनीजस्तै प्रमाणपत्र प्राप्त गर्ने सबै १२ जनालाई नै अब सरकारले चियाको अन्तर्राष्ट्रिय बजार सहज बनाउन ट्रेडमार्क कार्यान्वयनसँगै कस्ता नीति ल्याउँछ भन्ने जिज्ञासा थियो ।

‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’ नामक लोगो कार्यान्वयनमा आएपछि चियामा निर्भर किसान र उद्यमीमा नयाँ उत्साह र जिज्ञासा देखिनु स्वाभाविक हो । तर अहिले भनिएझैं अन्तर्राष्ट्रिय बजारको ढोका खुलाउन कोसेढुंगा ठानिएको लोगोलाई प्रभावकारी बनाउन भने थुप्रै चुनौती छन् । मंगलबार कृषिमन्त्री घनश्याम भुसालले इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित कार्यक्रमबीच १२ जना उद्यमीलाई ट्रेडमार्क प्रदान गरेर ट्रेडमार्कको औपचारिक कार्यान्वयन घोषणा गरे । पहिलो कृषि उपजमध्ये चियाको हिमालय अंकित ट्रेडमार्क विश्वबजारमा पुर्‍याउनु स्वागतयोग्य विषय हो । तर ट्रेडमार्क प्राप्त गर्न पूरा गर्नुपर्ने प्रावधान र खर्चिलो प्रणालीका कारण प्रचारमा आएझैं लोगोको प्रभावकारी कार्यान्वयन उति सहज देखिँदैन । अहिले लोगो प्राप्त गर्ने कतिपय किसानले समेत यसको प्रस्ट महत्त्व बुझ्न सकेका छैनन् । धेरै किसानबाट हरियो चियापत्ती खरिद गरेर प्रशोधन गर्ने कारखानाका लागि सबै मापदण्ड पूरा गरेर ट्रेडमार्क प्राप्त गर्न नै कठिन छ ।

‘चियालाई अर्गानिक बनाउँदै ट्रेडमार्क प्राप्त गर्नसम्म अहिले किसान र उद्यमीको मात्रै लगानी र मिहिनेत देखिन्छ,’ केन्द्रीय चिया सहकारी संघका सचिव राविन राईले भने, ‘पहाडमा उत्पादन हुने चियाको विशेषतासँगै गुणस्तरका मापदण्ड पूरा गर्ने हरेक प्रक्रियामा सरकारी सहयोग आवश्यक छ ।’

ट्रेडमार्क प्राप्त गर्न चियाको आचार संहिता पूर्ण रूपमा पालना गर्दै अर्गानिक प्रमाणित गरिनुपर्छ । तर किसान र उद्यमीले नै वार्षिक ५ लाख रुपैयाँभन्दा धेरै खर्चेर अर्गानिकताको सर्टिफिकेट लिनुपर्ने बाध्यता छ । लागो कार्यान्वयन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले अव्यावहारिक चिया नीति परिमार्जन गर्दै खर्चिलो अर्गानिक प्रमाणीकरण प्रक्रिया सहज बनाउन निर्देशन दिए । यसअघि अन्य सरकारले टी बोर्डलाई प्रभावकारी बनाउन ल्याएका नीतिले खासै राहत अनुभव गर्न नसकेका किसान यो पटक पनि उति विश्वस्त देखिँदैनन् ।

चियाबाट सरोकारवाला र समग्र राज्यलाई नै राम्रो मुनाफा आर्जन गर्न यो उपयुक्त कार्य भएको ट्रेडमार्कको लबिइङमा वर्षौंदेखि क्रियाशीलहरू बताउँछन् । ‘नेपाली चियालाई विश्वबजारमा प्रतिस्पर्धी बनाउने गतिलो बाटो खुलेको छ,’ चिया उद्यमी उदय चापागाईंले भने, ‘तर राजनीतिक प्रतिशोधको घेरामा यो उपलब्धिलाई पनि हालियो भने चियामा आश्रितको मात्र होइन, सिंगो राष्ट्रले नै अन्तर्राष्ट्रिय मुद्रा आर्जनको बाटो गुमाउनुपर्ने हुन्छ ।’

ट्रेडमार्क कार्यान्वयनकै लागि सरकारवाला निकायबीच पनि प्रस्ट तालमेल देखिएको छैन । लोगो कार्यान्वयन प्रक्रियामा थुप्रै त्रुटि भएकाले छ महिनाभित्र सच्याउन सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले टी बोर्डलाई आग्रह गरे । साथै घरघरमा खेती गरेर चिया उत्पादन गर्ने किसान, श्रमिकलगायत सबैको अपनत्व झल्किने गरी ट्रेडमार्क कार्यान्वयन गर्न सुझाए ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

वेस्ट ब्रुम र चेल्सीबीच रोमाञ्चक बराबरी

रोयटर्स

लन्डन — ट्यामी इब्राहिमले खेलको अन्त्यतिर गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ब्रुमलाई ३–३ को बराबरीमा रोकेको छ । फ्रायन्क लाम्पार्डको खर्चालु टिम वेस्ट ब्रुमको घरेलु मैदानमा ३–० ले पछाडि परेको थियो ।

त्यसमा घरेलु टिमका लागि कलुम रोबिनसनले दुई र केली बार्टलीले एक गोल गरे । त्यसयता चेल्सीका तर्फबाट मेसन माउन्ट र कलुम हडसन ओडाईले गोल गरे । लिभरपुलसँग पराजित भएयता दबाबमा रहेको चेल्सीलाई यो बराबरीले ठूलो राहत दिनेछ ।

शनिबारकै अर्को खेलमा साउथह्याम्पटनले बर्नलीलाई १–० ले हरायो । यसअघि एभरटनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएर लिग तालिकाको शीर्ष स्थान उक्लेको थियो । एभरटनको यो लगातार तेस्रो जित हो ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×