आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले विशेष प्याकेज ल्याउने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले विशेष प्याकेज ल्याउने

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अवधारणा अघि सारिएको छ : मन्त्री भट्टराई
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए । उनले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गरे । विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताए

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको उनले बताए । हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए । पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन ।

प्रकाशित : आश्विन १०, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशमा अनलाइनबाट शिक्षक तालिम

गणेश राई

काठमाडौँ — वाग्मती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई अनलाइबाट पुन: ताजकी तालिम दिइएको छ । कोरोना भाइरसले गर्दा भौतिक उपस्थिति हुन नसक्ने भएपछि यसरी पहिलो पटक अनलाइन तालिम सञ्चालन गरिएको जनाइएको छ । प्रदेश सरकारअन्तर्गत शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमको आयोजना गरेको हो ।

केन्द्र प्रमुख डा. तोयनाथ खनालका अनुसार तालिममा २ सय ५० जनाभन्दा बढी शिक्षक सहभागी छन् । ‘१३ वटै जिल्लाका माध्यमिक, आधारभूत र प्राथमिक तहमा कार्यरत शिक्षक सहभागी छन्,’ खनालले भने, ‘यो पहिलो कार्यक्रम हो । यसपछि क्रमश: सबै शिक्षकलाई अनलाइनमैत्री तुल्याएर तालिम दिइने छ ।’

सहभागी शिक्षकलाई १० समूहमा विभाजन गरिएका छन् । एउटा समूहमा २५ जना रहने जनाइएको छ । पाँच दिने तालिममा माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयको तालिम दिइने छ । आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका गणित, नेपाली र सामाजिक विषयको तालिम दिइने जनाइएको छ ।

वाग्मती प्रदेशमा ६ हजार ९ सय सामुदायिक विद्यालय छन् । त्यसमा पढ्ने विद्यार्थी संख्या ९ लाख ३८ हजार र पढाउने शिक्षक ३० हजार ७ सय ४६ जना छन् । कोभिड–१९ फैलिएपछि यो वर्षको शैक्षिक सत्रमा देशभरिका विद्यालय खुलेका छैनन् । सहरी क्षेत्रमा शिक्षकले सीमित विद्यार्थीलाई अनलाइन पठनपाठन गरेका छन् । ग्रामीण तथा पहाडी भेगमा अनलाइन जोडिन नसकेको जनाइएको छ । परिस्थितअनुकुल विद्यार्थी र शिक्षकलाई वैकल्पिक ढंगले अघि बढ्नु पर्ने सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले तालिम उद्घाटनको क्रममा बताए ।

प्रकाशित : आश्विन १०, २०७७ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×