द्रुतमार्गमा सुरुङको टेन्डर मंसिरभित्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्रुतमार्गमा सुरुङको टेन्डर मंसिरभित्र

असार १ मा परामर्शदाता नियुक्त भएसँगै युसिनले सुरूङमार्गको सर्भे थालेको थियो । अहिले माटोको अध्ययन सकेर रिपोर्ट तयार पार्ने काम हुँदै छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय परामर्शदाता युसिन इन्जिनियरिङ करर्पोरेसनले काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ निर्माण गर्ने ठाउँको सोयल टेस्टिङ (माटो परीक्षण) को काम सकेको छ । असार १ मा परामर्शदाता नियुक्त भएसँगै युसिनले उक्त मार्गको सर्भे थालेको थियो । अहिले माटोको अध्ययन सकेर रिपोर्ट तयार पार्ने काम भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

‘सुरुङ निर्माण गर्ने स्थानको माटो परीक्षण गर्ने काम भएको छ,’ उनले भने, ‘जमिनमा २८ वटा प्वाल पारेर माटो परीक्षणको काम भएको हो, माटोले वेट कति थाम्छ/थाम्दैन भनेर हेरिनेछ ।’ अहिले रिपोर्टको तयार पार्ने काम हुँदै छ । तीन ठाउँमा सुरुङ निर्माण गरिनेछ । त्यस्तै द्रुतमार्गको पहिला डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) मात्र तयार भएको थियो । तर डिजाइनको काम भने छुट्टै बनाउनुपर्ने भएकाले यसको काम भइरहेको उनले बताए । ‘डिजाइनमा यसमा लम्बाइ, चौडाइ, ढुंगा कति हाल्ने, कति माटो राख्नेलगायत प्राविधिक कुरा आउँछन्,’ उनले भने, ‘त्यही भएर परामर्शदाताको पहिलो काम आयोजना डिजाइनको हो ।’

आयोजनाका अनुसार महादेवटार ३ दशमलव ३५५ किमि, धेद्रे १ दशमलव ६३० किमि र लेनडाँडामा १ दशमलव ४३० किमि सुरुङ निर्माण गरिनेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङमार्ग निर्माण गरिनेछ । द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । ‘सुरुङको मात्र काम होइन, सुरुङभित्र छिर्ने बेलाको सडक र सँगसँगै पुल पनि पर्छन्,’ उनले भने, ‘त्यसैले यसलाई प्राथमिकतामा राखिएको हो । प्राविधिक रूपमा पनि कठिन तथा लामो समय लाग्ने भएकाले सुरुमै यसको काम थालिएको हो ।’ अरू खण्डको काम बिस्तारै थाल्दै जाने उनले बताए ।

अन्तर्राष्ट्रिय परामर्शदाताको टोलीले सबै फिल्ड र साइट सर्भेको काम गर्ने प्रवक्ता पौडेलले जानकारी दिए । ‘कोभिड–१९ को महामारीका बेला पनि टोली आएर काम गरेका छन्, त्यसैले अब सुरुङ डिजाइनको काम हुनेछ,’ उनले भने, ‘डिजाइन बनेपछि टेन्डर गर्न सजिलो हुनेछ ।’ मंसिरसम्म डिजाइनको काम सकिए सुरुङ निर्माणको टेन्डर गरिनेछ । त्यसका लागि निर्माण कम्पनी छान्न भन्दै प्रिक्वालिफिकेसन (पूर्वयोग्यता निर्धारण) को काम सुरु भइसकेको छ । आर्थिक वर्ष ०८०/८१ भित्र आयोजना सम्पन्न गर्नुपर्नेछ । तर अहिलेसम्म मुख्य काम र जटिल रहेको सुरुङ निर्माणको टेन्डर हुन सकेको छैन । ‘अन्तर्राष्ट्रिय परामर्शदाताले डिजाइन दिनासाथ हामी सिधै ठेक्कामा जान सक्छौं,’ उनले भने । आयोजनाले सुरुङ निर्माण गर्ने कम्पनी छान्ने गरी प्रिक्वालिफिकेसनका लागि समेत टेन्डर गर्ने तयारी गरेको छ । ‘प्रिक्वालिफिकेसनमार्फत बढीमा ६ वटा कम्पनीलाई सर्ट लिस्टिङ गर्छौं,’ उनले भने, ‘यसरी छानिएका कम्पनीले टेन्डरमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।’ प्रिक्वालिफिकेसनमा सबै कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

‘प्रिक्वालिफिकेसनबाट त्यस्तो कम्पनी छनोट हुनुपर्‍यो, जसको विश्वसनीयता, क्षमता, विज्ञता सबै कुरा पुगेको होस्,’ उनले भने । टेन्डर गर्नुअघिको बैठक भदौ ३० मा भइसकेको छ । बैठकमा ४० वटा कम्पनीको उपस्थिति थियो । ‘प्रिक्वालिफिकेसनबाट ६ वटा निर्माण कम्पनी छान्नेछौं,’ पौडेलले भने, ‘त्यसबाट पनि थप एउटा निर्माण कम्पनी छानेर ठेक्का लगाउनेछौं ।’ म्याद, राख्नुपर्ने जमानत र चाहिने डकुमेन्टबारे कम्पनीहरूले सोधेका थिए । असोज १४ सम्म प्रिक्वालिफिकेसनका लागि सहभागी हुन पाउनेछन् । त्यसको सात/आठ दिनभित्र तीनदेखि बढीमा ६ वटा निर्माण कम्पनीलाई सर्टलिस्ट गरिने प्रवक्ता पौडेलले जानकारी दिए । अहिले पहाड कटिङ र माटो फिलिङको काम गर्न बाँकी छ ।

रूख कटानको काम पनि भइरहेको छ । जग्गा अधिग्रहणको बाँकी काम पनि भइरहेको आयोजनाले जनाएको छ । जसअनुसार मकवानपुरअन्तर्गत पर्ने ९९ रोपनी जग्गाको पुर्जा तयार भएको र मुआब्जा वितरणको प्रक्रिया अघि बढाइएको पौडेलले जानकारी दिए । ललितपुरको खोकनातर्फको जग्गाबारे पहल भइरहेको छ । ‘डिजाइजनको काम अन्तर्राष्ट्रिय परामर्शदाताबाट जति छिटो गराउन सकियो, ठेक्कामा जान त्यति नै चाँडो हुन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय परामर्शदाताको काम डिजाइन र कन्स्ट्रक्सन सुपरभिजन हो ।’ डिजाइनका आधारमा प्याकेज–प्याकेजमा टेन्डर गरिनेछ ।

सबैको डिजाइन परामर्शदाताले हेर्नेछन् । सुरुङका दुईवटा प्याकेजमा टेन्डर गरिनेछ । एक नम्बर प्याकेजमा महादेवटार छ । लेनडाँडा र धेद्रेलाई दुई नम्बर प्याकेजमा राखिएको छ । आयोजनाको मुख्य काम नै सुरुङ निर्माण गर्नेछ । त्यसपछि पुलको काम अघि बढाइनेछ । उक्त मार्गमा ८७ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमध्ये ९ वटा पुल सुरुङको प्याकेजमा पर्छन् । बढीमा ५ सय २० मिटर लामा र ८० मिटर अग्ला पुल निर्माण हुनेछन् । कुल सडकमध्ये १० दशमलव ५९६ किमि पुल रहनेछ । सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट द्रुतमार्ग निर्माण थालिएको हो । कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । आयोजना निर्माणको काम सञ्चालन गर्न सेनाले विभिन्न १० ठाउँमा क्याम्प छ ।

प्रकाशित : आश्विन १०, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथादेखि रारासम्मका टुर प्याकेज

कोभिड–१९ ले थला परेको पर्यटनलाई गति दिन र पर्यटक आकर्षित गर्न एयर लाइन्स कम्पनीहरूले ल्याए विभिन्न योजना
सुरज कुँवर

काठमाडौँ — कोरोना महामारीअघि हवाई पर्यटन मात्रै केन्द्रित नेपाली वायुसेवा कम्पनीहरूले यतिबेला आन्तरिक पर्यटन बजार चलायमान बनाउन सगरमाथा आधार शिविरदेखि कर्णालीको रारासम्मका टुर प्याकेज ल्याएका छन् ।

कोभिड–१९ कै महामारीका बेला बुद्ध एयरबाट सुरु भएको टुर प्याकेज घोषणा गर्ने क्रम यती, समिट एयर हुँदै बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइपुगेको छ । एयरलाइन्स मात्रै होइनन्, होटल, रिसोर्ट र पर्यटन क्षेत्रमा आबद्ध व्यावसायिक संघ–संगठन पनि नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रम अध्ययन गरिरहेका छन् ।

लकडाउनमै बुद्ध एयरले न्यु नर्मल भएसँगै पोखराका लागि ६ हजार रुपैयाँमा दुईदिने बसाइ र सित्तैमा ओहोरदोहोरको प्याकेज घोषणा गरेको थियो । पर्यटन क्षेत्रमा गोल्डेन ट्र्यांगल भनिने काठमाडौं, पोखरा र चितवनको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बुद्धको भगिनी संस्था बुद्ध होलिडेजले दुई दिनको चितवन घुमफिर र उडानसमेतलाई जोड्दै १३ हजार ९ सय ९९ रुपैयाँको प्रतिव्यक्ति टुर प्याकेज ल्याएको थियो । विदेशी पर्यटक आगमन ठप्प भएका बेला आन्तरिक पर्यटन बजारलाई सञ्चालन गरेपछि मात्रै विदेशी आउने भएकाले बुद्धले यस्तो कार्यक्रम घोषणा गरिएको थियो ।

बुद्धजस्तै सुगम क्षेत्रको उडानका लागि १० वटा र दुर्गम उडानका लागि चारवटा गरी १४ वटा विमान भएको यती एयरलाइन्सले आइतबार आफ्नो २२ औं वर्षगाँठको अवसरमा देशभरका १६ वटा गन्तव्यका लागि ७ हजारदेखि २५ हजार रुपैयाँसम्मका टुर प्याकेज ल्याएको छ । जसमा ५ दिनको सगरमाथा पदयात्रा, ३ दिनको रारा भम्रण, ३ दिनको चितवन जंगल सफारी, ६ दिनको घान्द्रुक पदयात्रा आदि समेटिएका छन् । यी प्याकेजमा काठमाडौं वा अन्य गन्तव्यबाट आउने, जाने हवाई उडान, पदयात्रा, गाइड, होटलमा बस्ने खाने, यातायातलगायत यात्रामा लाग्ने सबै खर्च समेटिएको छ । ‘पर्यटन उद्योगलाई पुनःस्थापित गर्न अब एयरलाइन्स उड्न मात्रै होइन, घुम्न पनि भन्ने सन्देश दिन खोजेका हौं,’ यतीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले भने ।

काठमाडौंसहित १० वटा दुर्गम हिमाली भेगमा उडान गर्दै आएको समिट एयरले मुक्तिनाथदेखि सगरमाथा आधार शिविरसम्मको १३ दिने टुर प्याकेज सार्वजनिक गरेको छ । उसले १३ हजारदेखि २० हजार रुपैयाँमा परिवार तथा साथीसंगी लक्षित कार्यक्रममा खुम्बु क्षेत्रको गोक्यो तालसम्म पुग्ने र गोक्यो–री पिक आरोहण गराउनेसम्मका प्याकेज घोषणा गरेको छ । समिटका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार लुक्ला क्षेत्रमा पर्ने पासाङ ल्हामु गाउँपालिकाले पीसीआर जाँच अनिवार्य गरिएको हुनुपर्ने भनेको छ । त्यसैगरी मुस्ताङका जनप्रतिनिधि पनि बाहिरबाट भम्रणमा जानेहरूका लागि पीसीआर जाँच गर्ने वा नगर्नेबारे छलफलमा जुटेका छन् ।

यता काठमाडौं सहरका तारे होटल बन्द भइरहेका बेला चन्द्रागिरि हिल्स रिसोर्टले फेस्टिभ प्याकेज ल्याएको छ । १२ हजार पर्ने एक रातको जोडी बसाइ, केबलकारबाट हुने ओहोरदोहोर, डिनर र ब्रेकफास्टलाई ६ हजार ५ सय रुपैयाँको प्याकेजमा उसले बिक्री गरिरहेको छ । ‘६ महिना लामो लकडाउनले घरभित्रै बसेका काठमाडौंवासीलाई लक्षित हो यो प्याकेज,’ रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने, ‘हामीले असोज १ देखि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्यमा सावधानी अपनाउँदै रिसोर्ट सञ्चालनमा ल्याएका छौं ।’ उता बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टले पनि सहरवासीका लागि ‘फ्राइडे बार–बी–क्यू’ प्याकेज ल्याएको छ । स्वास्थ्य सुरक्षाको ख्याल राख्दै उसले १० हजार रुपैयाँमा शुक्रबार एक जोडीका लागि यो प्याकेज ल्याएको हो ।

कोभिड–१९ का रसातलमा पुगेको डेढ खर्ब बराबको नेपाली पर्यटन बजारलाई पुरानै लयमा ल्याउन आन्तरिक वायुसेवादेखि सरकारसम्मले उत्थानका कार्यक्रम भटाभट सार्वजनिक गर्नुलाई पर्यटन व्यवसायीले खुसीको विषय भनेका छन् । पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशीको संयोकत्वमा पर्यटन व्यवसायीका संस्थाहरूले एउटा कार्यदल नै बनाएका छन् । कार्यदलले नेपाली पर्यटन क्षेत्रलाई चलायमान बनाउन उपायको खोजी गर्दै सरकारलाई सुझाउनेछ ।

होटल संघ नेपाल (हान) ले पर्यटन बोर्डसँग सहकार्य गर्दै देश दर्शनको कार्यक्रम बनाइरहेको छ । उक्त कार्यक्रममा संलग्न हुने होटल, बस, वायुसेवा, ट्राभल, टुरलगायतका व्यवसायीले संस्थागत रूपमा प्याकेज ल्याउने तयारी गरिरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । अबको सहज परिस्थितिमा निजी क्षेत्र र सरकार दुवै मिलेर आन्तरिक पर्यटन बजारलाई चलायमान बनाउने उनको भनाइ छ । २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याउने तयारी छ । थप १ सय ३० जना कर्मचारीका लागि भदौ २९ मा विज्ञापन गरिएको छ ।

६ महिनायता धराशायी भएको पर्यटन क्षेत्र उठाउन निजी क्षेत्रका व्यवसायी मात्रै होइन, सरकारले पनि तयारी गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सातामा दुई दिन बिदा दिने प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । उनकै अध्यक्षतामा बसेको बैठकले मन्त्रालयको पर्यटन महाशाखाका प्रमुख तथा सहसचिव प्रदीप कोइरालालाई संयोजक तोक्दै दुईदिने बिदासम्बन्धी अध्ययन गरेर प्रतिवेदनसहित प्रस्ताव तयार पार्न भनेका छन् । मन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठका अनुसार मन्त्रीले उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्ने कार्यक्रम छ ।

लामो समयदेखि चर्चा भइरहेको रात्रिकालीन सम्पदा यात्रा अब उपत्यका तीनै जिल्लामा सुरु गर्न लागिएको पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बताए । ‘कोरोनाले ल्याएको असामान्य परिस्थितिपछि आउने सामान्य अवस्था (न्यु–नर्मल) मा राजधानीका तीनै सहरमा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न बोर्डले सबै तयारी पूरा गरेको छ,’ उनले भने, ‘रात्रिकालीन सम्पदा यात्रामा उपत्यकावासी आफूलाई मनपर्ने सम्पदामा परिवारसहित घुम्न जानेछन् । बाटामा रैथाने खान्कीका स्ट्रिट–फुडका स्टल हुनेछन् ।’ रेग्मीले कम्तीमा १२ बजेसम्म घुमघाम गर्न पाइने प्याकेज हुने बताए । त्यसैगरी बोर्डले राजधानीभित्रका उत्कृष्ट १० गन्तव्यको सूची पनि बनाइरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×