कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सगरमाथादेखि रारासम्मका टुर प्याकेज

कोभिड–१९ ले थला परेको पर्यटनलाई गति दिन र पर्यटक आकर्षित गर्न एयर लाइन्स कम्पनीहरूले ल्याए विभिन्न योजना
सुरज कुँवर

काठमाडौँ — कोरोना महामारीअघि हवाई पर्यटन मात्रै केन्द्रित नेपाली वायुसेवा कम्पनीहरूले यतिबेला आन्तरिक पर्यटन बजार चलायमान बनाउन सगरमाथा आधार शिविरदेखि कर्णालीको रारासम्मका टुर प्याकेज ल्याएका छन् ।

सगरमाथादेखि रारासम्मका टुर प्याकेज

कोभिड–१९ कै महामारीका बेला बुद्ध एयरबाट सुरु भएको टुर प्याकेज घोषणा गर्ने क्रम यती, समिट एयर हुँदै बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइपुगेको छ । एयरलाइन्स मात्रै होइनन्, होटल, रिसोर्ट र पर्यटन क्षेत्रमा आबद्ध व्यावसायिक संघ–संगठन पनि नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रम अध्ययन गरिरहेका छन् ।

लकडाउनमै बुद्ध एयरले न्यु नर्मल भएसँगै पोखराका लागि ६ हजार रुपैयाँमा दुईदिने बसाइ र सित्तैमा ओहोरदोहोरको प्याकेज घोषणा गरेको थियो । पर्यटन क्षेत्रमा गोल्डेन ट्र्यांगल भनिने काठमाडौं, पोखरा र चितवनको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बुद्धको भगिनी संस्था बुद्ध होलिडेजले दुई दिनको चितवन घुमफिर र उडानसमेतलाई जोड्दै १३ हजार ९ सय ९९ रुपैयाँको प्रतिव्यक्ति टुर प्याकेज ल्याएको थियो । विदेशी पर्यटक आगमन ठप्प भएका बेला आन्तरिक पर्यटन बजारलाई सञ्चालन गरेपछि मात्रै विदेशी आउने भएकाले बुद्धले यस्तो कार्यक्रम घोषणा गरिएको थियो ।

बुद्धजस्तै सुगम क्षेत्रको उडानका लागि १० वटा र दुर्गम उडानका लागि चारवटा गरी १४ वटा विमान भएको यती एयरलाइन्सले आइतबार आफ्नो २२ औं वर्षगाँठको अवसरमा देशभरका १६ वटा गन्तव्यका लागि ७ हजारदेखि २५ हजार रुपैयाँसम्मका टुर प्याकेज ल्याएको छ । जसमा ५ दिनको सगरमाथा पदयात्रा, ३ दिनको रारा भम्रण, ३ दिनको चितवन जंगल सफारी, ६ दिनको घान्द्रुक पदयात्रा आदि समेटिएका छन् । यी प्याकेजमा काठमाडौं वा अन्य गन्तव्यबाट आउने, जाने हवाई उडान, पदयात्रा, गाइड, होटलमा बस्ने खाने, यातायातलगायत यात्रामा लाग्ने सबै खर्च समेटिएको छ । ‘पर्यटन उद्योगलाई पुनःस्थापित गर्न अब एयरलाइन्स उड्न मात्रै होइन, घुम्न पनि भन्ने सन्देश दिन खोजेका हौं,’ यतीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले भने ।

काठमाडौंसहित १० वटा दुर्गम हिमाली भेगमा उडान गर्दै आएको समिट एयरले मुक्तिनाथदेखि सगरमाथा आधार शिविरसम्मको १३ दिने टुर प्याकेज सार्वजनिक गरेको छ । उसले १३ हजारदेखि २० हजार रुपैयाँमा परिवार तथा साथीसंगी लक्षित कार्यक्रममा खुम्बु क्षेत्रको गोक्यो तालसम्म पुग्ने र गोक्यो–री पिक आरोहण गराउनेसम्मका प्याकेज घोषणा गरेको छ । समिटका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार लुक्ला क्षेत्रमा पर्ने पासाङ ल्हामु गाउँपालिकाले पीसीआर जाँच अनिवार्य गरिएको हुनुपर्ने भनेको छ । त्यसैगरी मुस्ताङका जनप्रतिनिधि पनि बाहिरबाट भम्रणमा जानेहरूका लागि पीसीआर जाँच गर्ने वा नगर्नेबारे छलफलमा जुटेका छन् ।

यता काठमाडौं सहरका तारे होटल बन्द भइरहेका बेला चन्द्रागिरि हिल्स रिसोर्टले फेस्टिभ प्याकेज ल्याएको छ । १२ हजार पर्ने एक रातको जोडी बसाइ, केबलकारबाट हुने ओहोरदोहोर, डिनर र ब्रेकफास्टलाई ६ हजार ५ सय रुपैयाँको प्याकेजमा उसले बिक्री गरिरहेको छ । ‘६ महिना लामो लकडाउनले घरभित्रै बसेका काठमाडौंवासीलाई लक्षित हो यो प्याकेज,’ रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने, ‘हामीले असोज १ देखि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्यमा सावधानी अपनाउँदै रिसोर्ट सञ्चालनमा ल्याएका छौं ।’ उता बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टले पनि सहरवासीका लागि ‘फ्राइडे बार–बी–क्यू’ प्याकेज ल्याएको छ । स्वास्थ्य सुरक्षाको ख्याल राख्दै उसले १० हजार रुपैयाँमा शुक्रबार एक जोडीका लागि यो प्याकेज ल्याएको हो ।

कोभिड–१९ का रसातलमा पुगेको डेढ खर्ब बराबको नेपाली पर्यटन बजारलाई पुरानै लयमा ल्याउन आन्तरिक वायुसेवादेखि सरकारसम्मले उत्थानका कार्यक्रम भटाभट सार्वजनिक गर्नुलाई पर्यटन व्यवसायीले खुसीको विषय भनेका छन् । पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशीको संयोकत्वमा पर्यटन व्यवसायीका संस्थाहरूले एउटा कार्यदल नै बनाएका छन् । कार्यदलले नेपाली पर्यटन क्षेत्रलाई चलायमान बनाउन उपायको खोजी गर्दै सरकारलाई सुझाउनेछ ।

होटल संघ नेपाल (हान) ले पर्यटन बोर्डसँग सहकार्य गर्दै देश दर्शनको कार्यक्रम बनाइरहेको छ । उक्त कार्यक्रममा संलग्न हुने होटल, बस, वायुसेवा, ट्राभल, टुरलगायतका व्यवसायीले संस्थागत रूपमा प्याकेज ल्याउने तयारी गरिरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । अबको सहज परिस्थितिमा निजी क्षेत्र र सरकार दुवै मिलेर आन्तरिक पर्यटन बजारलाई चलायमान बनाउने उनको भनाइ छ । २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याउने तयारी छ । थप १ सय ३० जना कर्मचारीका लागि भदौ २९ मा विज्ञापन गरिएको छ ।

६ महिनायता धराशायी भएको पर्यटन क्षेत्र उठाउन निजी क्षेत्रका व्यवसायी मात्रै होइन, सरकारले पनि तयारी गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सातामा दुई दिन बिदा दिने प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । उनकै अध्यक्षतामा बसेको बैठकले मन्त्रालयको पर्यटन महाशाखाका प्रमुख तथा सहसचिव प्रदीप कोइरालालाई संयोजक तोक्दै दुईदिने बिदासम्बन्धी अध्ययन गरेर प्रतिवेदनसहित प्रस्ताव तयार पार्न भनेका छन् । मन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठका अनुसार मन्त्रीले उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्ने कार्यक्रम छ ।

लामो समयदेखि चर्चा भइरहेको रात्रिकालीन सम्पदा यात्रा अब उपत्यका तीनै जिल्लामा सुरु गर्न लागिएको पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बताए । ‘कोरोनाले ल्याएको असामान्य परिस्थितिपछि आउने सामान्य अवस्था (न्यु–नर्मल) मा राजधानीका तीनै सहरमा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न बोर्डले सबै तयारी पूरा गरेको छ,’ उनले भने, ‘रात्रिकालीन सम्पदा यात्रामा उपत्यकावासी आफूलाई मनपर्ने सम्पदामा परिवारसहित घुम्न जानेछन् । बाटामा रैथाने खान्कीका स्ट्रिट–फुडका स्टल हुनेछन् ।’ रेग्मीले कम्तीमा १२ बजेसम्म घुमघाम गर्न पाइने प्याकेज हुने बताए । त्यसैगरी बोर्डले राजधानीभित्रका उत्कृष्ट १० गन्तव्यको सूची पनि बनाइरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?