३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

चाडपर्वको छेको पारेर केही कम्पनीले नगद त केहीले छुट र बम्पर उपहारका योजनाले ग्राहक आकर्षित गर्दै छन्
विमल खतिवडा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन र निषेधाज्ञा खुकुलो गरिएपछि बजार बिस्तारै खुल्दै छन् । यही बेला चाडपर्व नजिकिँदै छन् । बजारमा पनि दुई र चारपांग्रे सवारी विक्रेताबीच छुट दिने प्रतिस्पर्धा छ । बजारमा एकपछि अर्को गर्दै फरक–फरक रूपमा ल्याइएका छुट अफरका कारण चाडबाडको माहोल बन्दै गएको छ ।

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले दसैंतिहारको अवसर पारेर ‘दसैंको पर्व हिरोत्सवको हर्ष’ योजना ल्याएको छ । मोटरसाइकल र स्कुटरको खरिदमा ५ हजार नगद छुटको अफर राखिएको मार्केटिङका सिनियर म्यानेजर दिनेशरत्न वज्राचार्यले जानकारी दिए । स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म पनि पाइनेछ । मोटरसाइकल र स्कुटर किनेपछि पनि बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

सार्वजनिक सवारी चढ्दा संक्रमणको डर हुने भएपछि निजी सवारी खरिदमा सर्वसाधारण आकर्षित हुँदै गएको कम्पनीहरूको भनाइ छ । नेपालका लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘दसैंको आशा’ नामक स्किम ल्याएको छ । कम्पनीका अनुसार यो स्किमअन्तर्गत टीभीएसको स्कुटर किन्दा ७ हजार नगद छुट पाइनेछ । त्यस्तै मोटरसाइकल किन्दा ९ हजार छुट छ । प्रत्येक साता बम्बरमा एक जनाले आरआर३१० मोटरसाइकल जित्ने अवसर पाउनेछन् । अहिले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल दिइरहेको पनि कम्पनीले जनायो । स्किम छठ पर्वसम्म रहनेछ । ‘कोभिडको असर भए पनि किन्नेले किनिरहेका छन्,’ जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले भने, ‘कोभिडकै बेला आउन लागेको चाडबाडमा आशा जगाउने हिसाबले स्किम ल्याएका हौं ।’

सुजुकीकाे आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले ‘सुजुकी दसैंतिहार’ अफर ल्याएको छ । यो अफरअन्तर्गत सुजुकीका बाइक र स्कुटर खरिदमा १२ हजार नगद छुट पाइनेछ । एक वर्षसम्मको सडक कर निःशुल्क गरिने कम्पनीले जनाएको छ । फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाका अनुसार चाडबाडलाई लक्ष्य गर्दै ‘फोर्ड फेस्टिभ’ अफर ल्याइएको छ । ‘गाडी खरिदमा तीनवटा स्क्र्याच कार्ड हुन्छन्, हरेक स्क्र्याच कार्डमा कम्तीमा २५ हजारदेखि बढीमा डेढ लाखसम्म जित्न सकिनेछ,’ उनले भने, ‘तीनवटै स्क्र्याच कार्ड गरेर न्यूनतम ७५ हजारदेखि बढीमा साढे ४ लाख रुपैयाँसम्मको हुनेछ ।’

ग्राहकले गाडी बुकिङमा नगद छुट, एक वर्षका लागि निःशुल्क सडक कर र बिमाको सुविधा पाउनेछन् । त्यस्तै ६ महिने ईएमआई होलिडे र स्थगित भुक्तानी अफर दिइएको छ । यो योजना फोर्ड फिगो, एस्पाएर, फोर्ड फ्रिस्टाइल र फोर्ड इकोस्पोर्टका भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यता हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘यसपालिको दसैंतिहार वेलकम टू हुन्डाई परिवार’ योजना ल्याएको छ । यो योजना मंसिर ५ सम्म चल्नेछ । योजनाअन्तर्गत ग्राहकले नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट नै पाउनेछन् । बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत ग्राहकले एक–एक थान ‘हुन्डाई औरा’ र ‘हुन्डाई ग्रान्ड आई १० नियोस’ जित्न सक्नेछन् । एक वर्ष निःशुल्क बिमाको सुविधा पनि दिइएको कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले जानकारी दिए ।

महामारीकै बेला कम्पनीले चार दिनको फरकमा दुईवटा गाडी ‘हुन्डाई आई टेन नियोस’ र ‘क्रेटा दी अल्टिमेट एसयूभी’ लन्च गर्दै बजारमा माहोल तताएको उनको दाबी छ । चाडपर्व नजिकिँदै जाँदा नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको, आईएमएस मोटर्सले स्याङयोङ सुपर डिस्काउन्ट अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्नेछन् । दसैंतिहार अफर कम्पनीहरूले आआफ्नै तरिकारले ल्याइरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का सचिव अनुपकुमार बराल बताउँछन् । ‘दसैंका बेला यसअघि नाडा अटो शो हुन्थ्यो । मेलामा कम्पनीअनुसार अफर फरक–फरक आउँथे,’ उनले भने, ‘अहिले कोभिड–१९ ले गर्दा अटो शो हुन सकेन । त्यसैले आआफ्नै तरिकाबाट कम्पनीले अफर ल्याउन सुरु गरेका छन् ।’ सबैले अफर ल्याइनसकेको र असोज १० पछि कम्पनीहरूले अफर ल्याउंदै जाने उनको भनाइ छ ।

नाडाका अध्यक्ष कृष्ण दुलालले पनि सबैले आआफ्नै तरिकाले स्किम ल्याइरहेको बताए । केही कम्पनीले जुम अनलाइनबाट गाडी लन्च पनि गरिरहेका छन् । ‘आयातका हिसाबले हेर्ने हो भने दुईपांग्रेको बाहेक बजार सकारात्मक छैन,’ उनले भने, ‘तर आशाचाहिँ छ ।’ स्पेयर्स पार्ट्सदेखि हरेक सामानको माग पनि बिस्तारै बढ्दै गएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ९, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?