२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विद्युत् प्रणालीको समस्या तत्काल समाधान गर्न उर्जामन्त्री पुनको निर्देशन

काठमाडौँ — ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

विद्युत् प्रणालीको समस्या तत्काल समाधान गर्न उर्जामन्त्री पुनको निर्देशन

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिए ।

‘तपाईंहरु संवेदनशील निकायको जिम्मेवारीमा रहेको व्यक्ति हो, त्यस्तो कार्यालयमा काम गर्नेका लागि एक मिनेट पनि ढिला गर्ने छुट छैन’, मन्त्री पुनले भने । उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने/जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे । आफूले कुलमान घिसिङलाई पुन: कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मुल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने बताए । बैठकमा प्राधिकारणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षात्, बाढी पहिरो, चट्याङ, रुख ढल्नेजस्ता कारणले पछिल्लो केही दिनयता प्रणालीमा समस्या आएको जानकारी गराए ।

प्रकाशित : आश्विन ८, २०७७ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?