कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जहाज चढी आयो बाजुराको स्याउ

यसअघि बिक्री नभएर गाईबस्तुलाई समेत खुवाउनुपर्ने बाध्यता थियो, अहिले स्याउले बजार पाउन थालेको छ
अर्जुन शाह

धनगढी — ‘हामीले आजसम्म जहाज चड्न पाएको छैनौं । तर हाम्रा बगैंचामा फलेको स्याउ जहाज चढेर धनगढी पुगेको सुन्दा खुबै खुसी लागेको छ,’ बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका किसान नरबहादुर रोकायाले भने, ‘पोहोर–परारसम्म बिक्री हुन नसकेर त्यसै कुहिएर खेर जान्थ्यो । यो वर्ष त बारीमै बिक्री भयो ।’

जहाज चढी आयो बाजुराको स्याउ

रोकाया मात्र होइन, बाजुराका अन्य किसानले पनि आफूले उत्पादन गरेको स्याउ धनगढी बजारमा पुर्‍याएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा फलेका स्याउ किसानले गाउँदेखि कोल्टी विमानस्थलसम्म भरियामा बोकाए । कोल्टीदेखि नेपालगन्जसम्म जहाजमा ढुवानी गराएर धनगढीको बजारमा पुर्‍याएर उनीहरूले बिक्री गरिरहेका हुन् । ‘आफ्नै गाउँठाउँमा फलेको र त्यसैमा अर्ग्यानिक तथा सस्तो भएकाले धेरैको आकर्षण छ,’ धनगढीमा बिक्री गरिरहेका सुरेन्द्र थापाले भने ।

कृषि ज्ञान केन्द्र बाजुराले ढुवानीको व्यवस्था गरिदिएपछि किसानलाई सहज भएको हो । किसान पनि बारीमै स्याउ बिक्री भएकोमा दंग छन् । विगतमा बजार नपाएर बारीमै कुहिने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था अब टरेको उनीहरू बताउँछन् । ‘यो वर्ष पनि पहिला जस्तै नबिकेर खेर जाला भन्ने चिन्ता थियो,’ जुकोटका स्याउ किसान डबल रोकायाले भने, ‘यो वर्ष त बगैंचाबाटै पाँच क्विन्टल स्याउ बिक्यो ।’ त्यसबाट २० हजार रुपैयाँ आम्दानी भएको उनको भनाइ छ । पोहोर, परारसम्म प्रतिदाना एक रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था रहेकोमा यो वर्ष किलोको ४० रुपैयाँ पाएपछि किसान उत्साहित छन् । बिक्री हुने समस्या हटेपछि स्याउको व्यावसायिक खेती गरेर पनि जीवनयापन हुने किसानको विश्वास छ ।

धनगढी भारतीय स्याउको एकलौटी बजार क्षेत्र हो । बाजुराको स्याउ आएपछि थोरै मात्रामा भए पनि आफ्नै गाउँठाउँको स्याउले स्थान पाएको छ । उपभोक्ताले पनि सस्तोमा स्याउ किन्न पाएको बताएका छन् । भारतीय स्याउको मूल्य प्रतिकिलो दुई सयभन्दा माथि रहेका बेला बाजुराबाट आएको अर्ग्यानिक स्याउ प्रतिकिलो एक सय २० रुपैयाँमै किन्न पाएको धनगढीका प्रेमराज भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि विकास कार्यक्रमअन्तर्गत स्वामिकार्तिक खापर गाउँपालिकामा गठित नमुना कृषि गाउॅ स्याउ कृषक समन्वय समितिले किसानको बारीबाटै स्याउ किन्ने व्यवस्था मिलाएको हो । पालिकाले निर्धारण गरेको मूल्यअनुसार किसानले बारीमै प्रतिकिलो ४० रुपैयाँ पाएको समितिका अध्यक्ष मनबहादुर रोकायाले जानकारी दिए ।

समितिले स्वामिकार्तिकका विभिन्न गाउँबाट संकलित स्याउ कोल्टी विमानस्थालसम्म भरियाबाट ढुवानी गराएको हो । कोल्टीबाट जहाजमा नेपालगन्ज पुर्‍याइएको र त्यहाँबाट धनगढी ल्याइएको उनको भनाइ छ । ‘ज्ञान केन्द्रले ढुवानी खर्चमा ५० प्रतिशत बेहोरिदिएको हो,’ रोकायाले भने, ‘धनगढीसम्म पुर्‍याउँदा ६० रुपैयाँ ढुवानी खर्च भयो ।’ एक सय रुपैयाँमा धनगढीमा पुगेको स्याउ समितिले १ सय १० रुपैयाँमा बिक्री गरेको बताएको छ ।

बाजुरामा जुकोट, वाई, साप्पटा, जगन्नाथ, धिम, पाणी र पाण्डुसेनलगायतका ठाउँमा स्याउ खेती हुन्छ । बाजुराको २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको ज्ञान केन्द्रको तथ्यांक छ । स्याउ धेरै फल्ने क्षेत्रमा सडक पहुँच छैन । त्यसैले बारीमा टिपेर कार्टोनमा प्याक गरिएको स्याउ कोल्टीको विमानस्थलसम्म ल्याउन खच्चडको प्रयोग गरिन्छ, कतिपय अवस्थामा मानिसले नै बोकेर पुर्‍याउँछन् ।

प्रकाशित : आश्विन ८, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?