कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेलमार्गको महोत्तरी खण्ड अझै अपूरो

भंगाहा–बर्दिबास १८ किमि खण्डमा मुआब्जा विवाद टुंगिन नसक्दा काम अघि बढ्न सकेन
सुनीता बराल

महोत्तरी — जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग सन् २०२० सम्म महोत्तरीको बर्दिबास पुर्‍याउने सम्झौता भए पनि महोत्तरी खण्डको काम अझै अपूरो नै छ । जयनगर–बर्दिबास ६९ किलोमिटर दूरीमध्ये ३४ किलोमिटर कुर्थासम्म रेलमार्ग तयार छ भने कुर्थाबाट दोस्रो खण्ड १७ किलोमिटर महोत्तरीको भंगाहा–५ को बिजलपुरा स्टेसनसम्म काम अधुरै छ ।

रेलमार्गको महोत्तरी खण्ड अझै अपूरो

तेस्रो खण्ड भंगाहा–बर्दिबास १८ किमि खण्डमा मुआब्जा विवाद अझै टुंगिन नसक्दा काम अघि बढ्न नसकेको रेल विभागले जनाएको छ । रेलको लिक ओछ्याउने र नटबोल्ट कस्ने काम बाँकी नै रहेको बिजलपुरा खण्डमा रेलवे लिकका सामग्री रेलमार्गमा छरिएकै अवस्थामा छन् । रेल आउने सपना देखेका बिजलपुरावासी भने रेलमार्ग निर्माणमा भएको ढिलासुस्ती देखेर निराश छन् ।

रेलको काममा कछुवाको गति देखिएको भंगाहा–४ का मुकुन्द पौडेलले बताए । रेल हेर्न र चढ्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयलाई रेलवे निर्माणको ढिलासुस्तीले निराश बनाएको उनको भनाइ छ । यता रेलवे विभागले बडहरी नदीसम्मको प्रस्तावित बिजलपुरा स्टेसनसम्मको अधुरो काम २०२० भित्र पूरा गर्ने जनाएको छ । बिजलपुरा स्टेसनसम्म आफ्नो कम्पनीले लिएको जिम्माको काम सकिन लागेको बिजलपुरा स्टेसनसम्म माटो, ग्राभेल ओछ्याउने र पुल बनाउने जिम्मेवारी लिएको कालिका रमण जेभी (ज्वाइन्ट भेञ्चर) कम्पनीका परियोजना प्रबन्धक रामविनोद मण्डलले जानकारी दिए ।

स्टेसनबाट बडहरी नदीसम्मको करिब एक किलोमिटर दूरीसम्मको माटो ओछ्याउने र सम्याउने काम सकेर कामको अर्को चरणमा प्रवेश गरेको उनले बताए । दोस्रो चरणमा कुर्थादेखि बिजलपुरासम्ममा बलवा नगरपालिकाको लेउरीमा दुईवटा पुल र (कल्भर्ट) बनाउने काम अघि बढेको उनको भनाइ छ । भारत सरकारको ७ अर्ब २० करोडको आर्थिक सहयोगमा जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलवे विस्तारको काम सन् २०१४ मा सुरु गरेको हो ।

सुरुमा सन् २०१७ भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढे पनि बीचबीचमा भएका मधेस आन्दोलन, भूकम्प र पछिल्लो चरणमा कोरोना संक्रमणले तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको विभागले जनाउँदै आएको छ । तेस्रो खण्ड भंगाहा–५ को बडहरी नदीदेखि बर्दिबाससम्मको कामको भने अझै सञ्चालनको संकेत देखिँदैन । भंगाहा–५ को बडहरी नदीबाट बर्दिबाससम्मको खण्डमा अझै जग्गा मुआब्जा प्रकरण टुंगो नपुग्दा यस खण्डमा निर्माण काम अघि बढ्न नसकेको विभागको दाबी छ । यो खण्डमा भंगाहा नगरपालिका–४ र बर्दिबास नगरपालिका–६ र ७ (साविक किसाननगर गाविस) को मुआब्जा निर्धारण भइसकेको छ । तर पनि जग्गाधनीले रकमको दाबी गरेका छैनन् । यस खण्डको बर्दिबास–१ र धनुषाको मिथिला नगरपालिका–९ र १० को मुआब्जा निर्धारण हुन नसक्दा काम अघि नबढेको हो । मुआब्जा निर्धारणका लागि सरकारलाई सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय मुआब्जा निर्धारण समिति रहने व्यवस्था छ ।

बर्दिबासको मुआब्जा टुंग्याउन विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर मुआब्जा निर्धारण गरेर सिफारिस गर्ने तयारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । ‘बर्दिबासको मुआब्जा निर्धारणका लागि निर्णायक छलफलमा छौं,’ प्रमुख जिल्ला अधिकारी कटुवालले भने, ‘धनुषासँग पनि समन्वय गरिँदै छ, यो काम चाँडै टुंगिने क्रममा छ ।’ मुआब्जा निर्धारणको काम सकिनेबित्तिकै यो खण्डमा निर्माण प्रक्रिया सुरु हुने रेल विभागले बताएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?