१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रसुवागढी नाकाबाट सामान आयात सुरु

आयात बढाउन नेपालको अनुरोध, तातोपानी नाका अझै अनिश्चित

रसुवा, काठमाडौं — झन्डै एक महिनादेखि बन्द उत्तरको केरुङ नाका नेपाली पक्षको लगातारको पहलपछि बुधबारदेखि सञ्चालनमा आएको छ । चिनियाँ अधिकारीले नाका सञ्चालनको अनुमति दिएपछि स्थानीय ट्रान्सपोर्टले नेपालीको स्वामित्वमा रहेका एक कन्टेनर स्वास्थ्य सामग्री बुधबार रसुवागढी नाकाको मितेरी पुलमा ल्याइदिएका छन् ।

रसुवागढी नाकाबाट सामान आयात सुरु

नाका सञ्चालन भएपछि नेपाली व्यवसायीले नौ महिनाअघि खरिद गरेर चिनियाँ सीमामा थन्किएका करोडौं मूल्यका व्यापारिक सामान भित्रिने भएका छन् । रसुवागढीमा एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि बन्द गरिएको नाका खुलाउन परराष्ट्र मन्त्रालयले चीनस्थित नेपाली राजदूतमार्फत पहल गरेको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार तिब्बतस्थित नेलाम काउन्टी (स्थानीय प्रशासन) का अधिकारीले केरुङका गोदाममा राखिएका सामान हाललाई विगतकै अनुपातमा पठाउने जानकारी दिएका छन् । उनीहरूले बिहीबारदेखि केरुङका गोदाममा राखिएका सामान दैनिक पाँच कन्टेनर रसुवागढी पठाउने जानकारी दिएको पन्तले बताए । ल्हासाबाट आएका चिनियाँ प्रतिनिधिले रसुवागढी नाकाको यार्ड पनि अवलोकन गरेका छन् । प्रजिअ पन्तका अनुसार नेपाली पक्षले केरुङका गोदाममा भएका सामानको आयात परिमाण बढाउन अनुरोध गर्दै आएको छ । नेपालको प्रस्तावअनुसार सामान पठाएर गोदाम राख्ने ठाउँ हेर्न उनीहरू नेपालको भन्सार यार्ड आएको पन्तले बताए ।

अहिलेकै परिमाणमा आयात हुने हो भने केरुङको सामान नेपाल भित्रिन ६ महिना लाग्ने व्यवसायीको भनाइ छ ।

उनीहरूले जतिसक्दो धेरै सामान भित्र्याउन माग गर्दै आएका छन् । केरुङस्थित ट्रान्सपोर्टमा कार्यरत विकास तिमिल्सिनाका अनुसार नेपालीले खरिद गरेको करिब १२ कन्टेनर सामान गत पुसदेखि केरुङको गोदाममा थन्केका छन् । ल्हासाबाट प्राप्त सूचनाका आधारमा केरुङ नगरपालिकाको प्रशासनले मंगलबारै ट्रान्सपोर्टहरूलाई सामान ढुवानीको तयारी गर्न निर्देशन दिएको थियो । ‘ट्रान्सपोर्टहरूलाई नगरपालिकाले बैठक बोलाएर सामान लोड गर्न भनेको तिमिल्सिनाले जानकारी दिए । ‘सूचनाअनुसार अब नियमित ढुवानी हुन्छ होला,’ उनले भने ।

चीनका विभिन्न सहरबाट ट्रान्सपोर्टहरूले ढुवानी गरेको सामान रसुवा भन्सारबाट करिब २४ किमि टाढा केरुङ ल्याउने गरेका छन् । केरुङमा लोड गरेका सामान उनीहरूकै कन्टेनरमा ल्याउन नेपाली दूतावासले अनुरोध गरेपछि चीनले ल्हासा प्रशासनमार्फत नाका खुलाउने सूचना केरुङ पठाएको थियो । रसुवागढी सीमामा चिनियाँ अधिकारीहरूसँग गरिएको पटक–पटकको बैठकबाट समस्या समाधान नभएपछि परराष्ट्र मन्त्रालयमार्फत नाका खुलाउन पहल गरिएको थियो । कोरोना संक्रमण देखिएपछि बन्द रहेर गत जेठमा खुलेको रसुवागढी नाका लगातार एक महिना पनि सञ्चालन भएको छैन ।

तातोपानी नाकाबाट हुने व्यापारिक कारोबार भने एक महिनादेखि नै बन्द छ । तिब्बतको कुती क्षेत्रको ताल फुट्ने सम्भावना रहेको भन्दै नेलाम प्रशासनले नाका बन्द गरेको छ । तातोपानी नाका खुल्ने/नखुल्ने अनिश्चित छ । दुवै नाकामा १५ सय कन्टेनरभन्दा बढी सामान गोदाममा छन् ।

रसुवा भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार चीनबाट मुख्यतः तयारी पोसाक, जुत्ता, चप्पल, ब्याग, खेलौना, फर्निचर, मेसिनरी सामान, कम्प्युटर पार्ट्स, गार्मेन्टको कच्चा पदार्थ, स्टेसनरी सामान, स्याउ, लसुन, बीउबिजन आयात हुने गरेको छ । पछिल्लो समय कोरोना संक्रमण रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री धेरैजसो चीनबाटै आयात हुने गरेको छ । नाका बन्द भएपछि स्वास्थ्य सेवा विभागले आयात गरेको ११ लाख बीसीजी खोपमा प्रयोग हुने सिरिन्ज केरुङमा अलपत्र परेको छ । तातोपानीबाट हुने निर्यात व्यापार भने भूकम्पपछि नै पूर्णरूपमा बन्द छ । व्यवसायी मुकुन्द पौडेलले निर्यात व्यापार खुलाउन पहल गर्नुपर्ने बताए । ‘उताबाट मात्र सामान आउँछ, यताबाट पठाउन पाइएको छैन,’ उनले भने । भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको छ । २०७१ मंसिरदेखि विधिवत् सञ्चालनमा आएको रसुवागढीलाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो ।

चीनले नेपालीको पीसीआर परीक्षण गर्ने

चीनले तातोपानी नाकामा ढुवानी कार्यमा संलग्न नेपाली कन्टेनर चालक तथा भन्सार मजदुरहरूको बिहीबार पीसीआर परीक्षण गर्ने भएको छ । भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार व्यापारिक सामान ढुवानीमा संलग्न हुने मजदुरमा कोभिड संक्रमण भए/नभएको पत्ता लगाउन चीनले निःशुल्क परीक्षण गर्न लागेको हो ।

सीमामा २९ जना चालक तथा मजदुरलाई क्वारेन्टाइनमा राखेर सामान लोड, अनलोड र ढुवानीमा संलग्न गराइँदै आएको छ । उनीहरूलाई मितेरी पुलमा राखेर चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वाब संकलन गर्नेछन् । सीमामा कार्यरत नेपालीमा कोभिड–१९ संक्रमण भए सर्न सक्ने भन्दै चीनले परीक्षण गर्न लागेको हो ।

मितेरी पुलबाट ९ किमि टाढा खासा गोदामबाट ल्याउने सामान चिनियाँ अधिकारीहरूले मितेरी पुलमा खसाल्ने गरेका छन् । त्यहाँबाट नेपाली चालक र मजदुरले वारि ल्याउँछन् । त्यसमा खटिने चालक तथा ढुवानी मजदुरलाई लार्चास्थित सुक्खा बन्दरगाहको क्वारेन्टाइनमा राखिएको छ । भूकम्पपछि नेपालीलाई खासा जाने अनुमति छैन । भूकम्पले क्षति पुर्‍याएको भन्दै खासा क्षेत्रमा पनि सर्वसाधारणको बसोबास हटाइएको छ । उनीहरू सबैलाई तिब्बतको सिगात्सेमा स्थानान्तरण गरिएको छ । सीमा क्षेत्र र खासामा चिनियाँ सुरक्षा, अध्यागमन र विदेश विभागलगायत सीमित संख्यामा सरकारी अधिकारी बस्दै आएका छन् ।

प्रकाशित : आश्विन ७, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?