कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनअघि पनि उद्योगको क्षमता ४० प्रतिशत मात्र उपयोग

मदिरा उद्योगले सबैभन्दा बढी ९२.१ र रबरजन्य उद्योगले सबैभन्दा कम ४.९७ प्रतिशत क्षमता उपयोग गरे
यज्ञ बञ्जाडे

काठमाडौँ — अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा नेपाली उद्योगको क्षमता उपयोग करिब २० प्रतिशत बिन्दुले घटेको छ । यो लकडाउन सुरु हुनुअघिकै अवस्था हो । लकडाउनले औद्योगिक क्षेत्र झन् थला पारेको छ । यसकारण बाँकी अवधिमा पनि उद्योगको क्षमता उपयोग झनै घट्ने विज्ञहरूको अनुमान छ ।

लकडाउनअघि पनि उद्योगको क्षमता ४० प्रतिशत मात्र उपयोग

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो । सो अवधिमा मदिरा उद्योगले सबैभन्दा बढी ९२.१ प्रतिशत र रबरजन्य उद्योगले सबैभन्दा कम ४.९७ प्रतिशत क्षमता उपयोग गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो । अध्ययनमा समेटिएका १ सय ५४ उद्योगको क्षमता उपयोग विश्लेषणका आधारमा यो तथ्य निकालिएको हो ।

विगतको अध्ययनका तुलनामा गत आर्थिक वर्षको अध्ययनमा उद्योगको संख्या थपिएकाले औसतमा उद्योगहरूको क्षमता उपयोग कम देखिएको राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट बताउँछन् । ‘विगतमा ५७ वटा जिल्लाअन्तर्गतका उद्योग मात्र समेटिएका हुन्थे । गत वर्षदेखि ७७ वटै जिल्लाका उद्योग समेट्न थालेका छौं,’ उनले भने, ‘धेरै उद्योग समेटिएपछि औसतमा क्षमता उपयोग कम आएको हो ।’ गत आर्थिक वर्षको पुससम्म अर्थतन्त्रको अवस्था राम्रो रहेकाले उद्योगहरूको क्षमता उपयोगमा कमी आउनु नपर्ने उनले बताए ।

अध्ययनले समेटेका उद्योगमध्ये तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, चकलेट, चाउचाउ, मदिरा, सिन्थेटिक कपडा, जुटका सामान, रङ, औषधि, सिमेन्ट, घरेलु धातुका सामान, संरचनागत धातुका सामान र बिजुलीका तारको उत्पादन बढेको छ । वनस्पति घिउ, प्रशोधित दूध, पशुदाना, बिस्कुट, प्रशोधित चिया, बियर, हल्का पेयपदार्थ, चुरोट, धागो, गार्मेन्ट, प्रशोधित छाला, कागज, साबुन, प्लास्टिकका सामान, इँटा, कंक्रिट, फलामका छड तथा पाता, जीआई तार, जीआई पाइप, आल्मुनियम, टायर तथा ट्युबको उत्पादन घटेको प्रतिवेदनले देखाएको छ । ‘विद्युत् आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकाले औद्योगिक क्षेत्रको उत्पादन बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ । गत फागुनसम्मको तथ्यांकका आधारमा राष्ट्र बैंकले अध्ययन गरेको हो । सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेको हो । असारसम्मको लकडाउनको अवधिमा ६० प्रतिशतभन्दा बढी उद्योग बन्द भएको राष्ट्र बैंककै अध्ययन प्रतिवेदनले देखाएको छ । सोही कारण गत आर्थिक वर्षको बाँकी ६ महिनामा उद्योगको क्षमता उपयोग तथा उत्पादनमा उल्लेख्य कमी आउने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘अर्थतन्त्रको अवस्था हेर्दा धेरै नै कम आउने देखिन्छ,’ ती अधिकारीले भने, ‘कोभिड–१९ को असर अझै कति लम्बिने हो, त्यसका आधारमा अर्थतन्त्रको अवस्था थाहा हुन्छ ।’ केन्द्रीय तथ्यांक विभाग (सीबीएस) ले पनि गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.७७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सीबीएसले हालै जारी गरेको तेस्रो त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा अघिल्लो आवको तुलनामा गत आवमा ०.८ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ । यो त्रैमासिक रूपमा मौसम प्रभाव असमायोजित हो । यसले पनि गत आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा धेरै कमी आउने जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकले गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ ले लकडाउनमा ६१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द रहेको देखाएको छ । बाँकी ३९ प्रतिशत उद्योगमध्ये ४ प्रतिशत पूर्ण र ३५ प्रतिशत आंशिक रूपमा चलेको अध्ययनको निष्कर्ष छ । सो अवधिमा पूर्ण रूपमा बन्द हुने उद्योगमा शिक्षा, होटल तथा रेस्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रका प्रायः उद्योग व्यवसाय छन् । लकडाउन अवधिमा कृषि, वन तथा मत्स्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग व्यवसाय भने पूर्ण रूपमा सञ्चालन भएको देखिएको छ । स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत् ग्यास तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधाभन्दा बढी उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालन भएको अध्ययनले देखाएको छ ।

बन्दाबन्दी अवधिमा ठूला र मझौला उद्योग व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग व्यवसाय बढी प्रभावित भएको देखिएको छ । लकडाउनले उद्योग सञ्चालन हुन नपाएपछि करिब ७४ प्रतिशतले उत्पादन घटेको देखिन्छ । सर्वेक्षणमा सहभागी उद्योग व्यवसायमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा लकडाउनमा उत्पादन घटेको बताएका छन् । ‘तर औसतमा ७३.८ प्रतिशतले उत्पादन/कारोबार घटेको जनाएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘लकडाउन अवधिमा ९७.३ प्रतिशत घरेलु उद्योगको उत्पादन/कारोबार औसतमा ७३ प्रतिशतले, ९७.२ प्रतिशत लघु उद्यम/साना खुद्रा व्यापार ७५.३ प्रतिशतले, ९५.५ प्रतिशत साना उद्योग/व्यवसाय ७६.६ प्रतिशतले, ९२.६ प्रतिशत मझौला उद्योग/व्यवसाय ६९.१ प्रतिशतले र ८६.२ प्रतिशत ठूला उद्योग/व्यवसायको औसतमा ६८.५ प्रतिशतले उत्पादन/कारोबार घटेको पाइएको छ । उक्त अवधिमा उत्पादन/कारोबार बढ्ने र यथास्थितिमा रहने दुवैमा मझौला र ठूला उद्योग व्यवसायको हिस्सा राष्ट्रिय औसतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि राष्ट्र बैंककै एक अध्ययनले कोभिड–१९ का कारण प्रचलित मूल्यमा मुलुकको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ खर्ब ६८ अर्ब रुपैयाँ नोक्सानी भएको देखाएको थियो । कोभिड–१९ कै कारण गत वर्षको जीडीपी वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणका आधारमा उक्त विश्लेषण गरिएको थियो ।

प्रकाशित : आश्विन ७, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?