कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमबार ५४ वटा आन्तरिक उडान हुँदै

सुरज कुँवर

काठमाडौँ — लकडाउनले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि सोमबार (असोज ५ गते ) देखि हुँदैछ । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ ।

सोमबार ५४ वटा आन्तरिक उडान हुँदै

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार, सोमबार पहिलो दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको छ । उनका अनुसार, प्राधिकरणले सोमबार बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम (आन्तरिक) लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई ५, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५४ वटा उडानलाई अनुमति दिइएको छ । प्राधिकरणले सौर्य एयरलायन्सलाई भने हाललाई उडान अनुमति दिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी वायुसेवालाई माघ–चैतमा पाएको उडान अनुमतिको हिस्साका आधारमा २५ प्रतिशतमात्रै उडान तालिका स्वीकृत गरेको हो । उपमहानिर्देशक क्षत्रीले सोमबारदेखि काठमाडौंसहित देशभरका दुई दर्जन हाराहारी विमानस्थल खुला हुने बताए । जसमा भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, साफेबगर, बाजुरा, हुम्ला, जुम्ला, रारा, डोल्पा, जोमसोम, सुर्खेत, रुकुम, लुक्ला, फाप्लु, खानिडाडा, भोजपुर, लामिडाडा, ताप्लेजुङ लगायत छन् ।

आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन् । तर, पीसीआर लगायतका जाँच अनिवार्य गरिएको छैन । विमानस्थलमा यात्रुहरुले अब आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ । त्यस्तै पहिलेको दाँजोमा उडान सयम भन्दा कम्तीमा दुईदेखि डेढ घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ । हाते झोलबाहेक पहिले जस्तो लगेज साथै लैजान रोक लगाइएको छ । घरपालुवा जनावर पनि हाललाई ओसारपोसारमा रोक लगाइएको छ । वायुसेवाहरुले ७० वर्षभन्दा माथि उमेर भएका, दीर्घरोगी, गर्भवती महिलालाई सकभर यात्रा नगर्न सुझाएको छ । त्यसैगरी यसअघि विमानभित्र प्राप्त हुने पत्रपत्रिका, खाजा, पानी लगायतका सुविधा हाललाई रोक लगाइएको छ । विमानस्थलमा यात्रुको तापक्रम अनिवार्य जाँच हुनेछ भने यात्रुले मास्क लगाउनु पर्ने नियम पनि अनिवार्य बनाइएको छ ।

प्राधिकरणले वायुसेवा र यात्रुहरुले संक्रमण रोकथामका उपाय अबलम्बन गरे नगरेको अनुगमन गर्न सबै विमानस्थलमा प्रमुखसहित शुरक्षा निकायसहितको सहभागितामा निरीक्षण गर्न कमिटी बनाएको छ । यो कमिटीले विमानस्थल खुला भएपछि निगरानी गर्ने छ । प्राधिकरणले एक सातापछि अहिलेको जारी १० दिनको उडान तालिकालाई वायुसेवा कम्पनीको मागको आधारमा थपघट गर्दैअर्को तालिका सार्वजनिक गर्नुपर्ने छ ।

प्रकाशित : आश्विन ४, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?