३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साल्टले ल्यायो साढे १७ हजार मेट्रिक टन युरिया

वीरगन्ज शाखामा आइसकेको युरिया मल झन्डै ६० जिल्लामा परिचालन

पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट करिब साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको छ ।

साल्टले ल्यायो साढे १७ हजार मेट्रिक टन युरिया

कर्पोरेसनले आयात गर्न लागेको ३२ हजार मेट्रिक टन युरियामध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाहमा र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए ।

वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्‍याकमा लोड भइसकेको सूचना आएको लामिछाने बताउँछन् । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमश: आइरहेको छ ।

वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको लामिछानेले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्राय: जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए ।

कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।

उक्त बन्दरगाह नेपालका लागि खुला नरहेकाले त्यहाँ अड्किएको मल सोझै नेपाल ल्याउन सकिएको थिएन । पछि मल बोकेका जहाज कोलकाता बन्दरगाह फिर्ता लगेर वीरगन्ज ल्याउन थालिएको हो । तर कोलकातामा पानी परेकाले वीरगन्ज आएको पहिलो लटको मल भिजेको थियो ।

प्रकाशित : आश्विन ४, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?